जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले वर्षौंदेखि अलपत्र अवस्थामा रहेका सडक आयोजनामा संलग्न निर्माण व्यवसायीमाथि कडा कदम चाल्दै चार वटा ठेक्का रद्द गरेको छ । सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नगरेको र पटक–पटक म्याद थप्दा पनि निर्माण कार्यमा प्रगति नदेखिएपछि ठेक्का तोड्न बाध्य भएको कार्यालय प्रमुख श्रवणकुमार महताराले जानकारी दिए ।

उनका अनुसार निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा बारम्बार काम सम्पन्न गर्न आग्रह गरिए पनि बेवास्ता गरिँदै आएको थियो । रद्द गरिएका ठेक्काहरू कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक तथा जुम्ला–डोल्पा–मनाङ–मुस्ताङ सडकअन्तर्गतका विभिन्न खण्डसँग सम्बन्धित छन् । यी सडक आयोजना कर्णाली क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्, तर ठेकेदारको ढिलासुस्तीका कारण लामो समयदेखि प्रभावित हुँदै आएका थिए ।
सार्वजनिक खरिद ऐन, २०६३ को व्यवस्था अनुसार ठेक्का अन्त्य गर्दै सम्बन्धित निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया समेत अघि बढाइएको कार्यालयले जनाएको छ ।
साथै, उनीहरूलाई तत्काल कार्यस्थल छोड्न निर्देशन दिइएको छ । सडक डिभिजनले अन्य निर्माण व्यवसायीलाई भने समयमै काम सम्पन्न गर्न आग्रह गर्दै यस्ता लापरबाही दोहोरिएमा कडा कारबाही गरिने चेतावनी दिएको छ ।








