हुम्ला । जिल्लाभित्र भइरहेका आर्थिक गतिविधिहरूको तथ्यांक सङ्कलन गर्न सिमकोटमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । यो कार्यालय आगामी असार मसान्तसम्म सञ्चालनमा रहने बताइएको छ । कार्यालय प्रमुख सुरेन्द्र बहादुर पन्तका अनुसार जिल्लाका सबै स्थानीय तहहरूमा भएका आर्थिक गतिविधिहरूको विस्तृत विवरण सङ्कलन गर्नु नै मुख्य लक्ष्य हो ।

विवरण सङ्कलन कार्यलाई प्रभावकारी बनाउन चैत २१ देखि २४ गतेसम्म गणक तथा सुपरिवेक्षकको छनोट गरिनेछ । त्यसपछि चैत २६ देखि ३० गतेसम्म उनीहरूलाई आवश्यक तालिम प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।
नयाँ वर्षको वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभरका आर्थिक गतिविधिमा संलग्न विभिन्न प्रतिष्ठानहरूको गणना गरिनेछ । सर्वेक्षण कार्य सम्पन्न भएपछि सङ्कलित विवरणहरू सम्बन्धित विभागमा पठाइनेछन् र त्यससँगै कार्यालयको कार्यसम्पादन पूरा हुने जनाइएको छ ।








