२०८२ चैत १९ , बिहीबार

एसईई परीक्षालाई मर्यादित बनाउन जोड



जुम्ला । जुम्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा कुल २ हजार २ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन् । चैत १९ गतेदेखि सुरु हुने परीक्षाका लागि जिल्लाभर १४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाका ५२ माध्यमिक विद्यालयका विद्यार्थीहरू ती केन्द्रहरूबाट परीक्षामा सहभागी हुनेछन् । परीक्षा सञ्चालनलाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्षहरूलाई सोमबार अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा परीक्षा सञ्चालनसम्बन्धी आवश्यक निर्देशन दिइएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रछाने लोहारले जानकारी दिए । उनका अनुसार सहभागीमध्ये २१ सय ३३ जना नियमिततर्फका विद्यार्थी रहेका छन् । तीमध्ये २ हजार १४ जना साधारण धारका र १ सय १९ जना प्राविधिक तर्फका रहेका छन् ।

१ सय २२ जना ग्रेडवृद्धिका लागि सहभागी हुनेछन् । परीक्षा चैत १९ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा मर्यादित र निष्पक्ष बनाउन केन्द्राध्यक्षहरूलाई विशेष निर्देशन दिइएको बताइएको छ । लोहारले विगतका अनुभवबाट सिक्दै यसपटक परीक्षा अझ व्यवस्थित र अनुशासित बनाउन जोड दिइएको उल्लेख गरे ।

शिक्षामा सुधार ल्याएर गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आवश्यक छ, उनले भने । नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले पनि परीक्षा निष्पक्ष बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

उनले अनियमितता रोक्न कडाइका साथ अनुगमन गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी पौडेलले परीक्षा अवधिमा कुनै प्रकारको अमर्यादित गतिविधि वा चिट चोरीजस्ता कार्य भए कडा कारबाही गरिने चेतावनी दिएका छन् । साथै, सम्बन्धित निकायहरू परीक्षा व्यवस्थित बनाउन प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार