सुर्खेत । बेलायत सरकारको सहयोगमा ‘युएनउप्स’द्वारा सञ्चालन गरिएको सुरक्षा तथा न्याय कार्यक्रम अन्तर्गत समुदाय–प्रहरी साझेदारी कार्यक्रमको समीक्षा गरिएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएको यस कार्यक्रमले सुरक्षा र सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ ।

सुर्खेत, सल्यान र जाजरकोटका विभिन्न स्थानीय तहमा पछिल्लो १८ महिनादेखि सञ्चालनमा रहेको कार्यक्रममा प्रहरी संरचना निर्माणदेखि लागुऔषध नियन्त्रणसम्म उल्लेखनीय उपलब्धि हासिल भएको बताइएको छ ।
सुर्खेतमा आयोजित समीक्षा कार्यक्रममा नेपाल प्रहरीका डिएसपी विकास थापाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रहरीको क्षमता अभिवृद्धि गर्नुका साथै भौतिक पूर्वाधार निर्माणमा टेवा पु¥याएको जानकारी दिए । उनका अनुसार लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि वडा तहसम्म समिति गठन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।
साथै, देशभरका ४८३ स्थानीय तहमा यस विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने तयारी भइरहेको छ । कार्यक्रममार्फत समुदायको सहभागिता उल्लेख्य रूपमा बढेको, टोलस्तरसम्म समिति गठन गरिएको, लागुऔषधविरुद्ध जनचेतना फैलिएको र विभिन्न पालिकामा लैङ्गिक हिंसा निवारण कोष स्थापना भएको जानकारी दिए ।
यसैगरी, प्रहरीलाई तालिम प्रदान गरिएको र आवश्यक भौतिक संरचनासमेत निर्माण गरिएको छ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक गोपाल चन्दले कार्यक्रम आगामी वर्ष थप स्थानीय तहमा विस्तार गरिने जानकारी दिए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सडक विस्तारसँगै लागुऔषध ओसारपसार बढेको उल्लेख गर्दै आगामी नीति तथा कार्यक्रममा समुदाय–प्रहरी सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले प्रभावकारी देखिएको यस कार्यक्रमलाई थप विस्तार गर्न सुझाव दिए । ‘युएनउप्स’का नेपाल प्रमुख कोमल कार्कीले कार्यक्रमअन्तर्गत करिब ८० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।
कार्यक्रमका सहभागीहरूले कर्णाली प्रदेश लागुऔषध दुव्र्यसनको ‘ट्रान्जिट’ बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस समस्याको समाधानका लागि निरन्तर जनचेतना र समुदाय–प्रहरी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । साथै, लैङ्गिक हिंसा, बालविवाह र जातीय विभेदजस्ता सामाजिक समस्यामा पनि संयुक्त प्रयास आवश्यक रहेको सहभागिहरुको भनाइ छ ।








