सुर्खेत । सुरक्षित कर्णाली अभियानअन्तर्गत सुर्खेतका महिला अटोचालकहरुलाई सेफ्टी ज्याकेट वितरण गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले चलाएको उक्त अभियानअन्तर्गत महिला अटोचालकलाई ज्याकेट वितरणसँगै स्वास्थ्यसम्बन्धी अभिमुखीकरण पनि गरिएको छ ।

सामाजिक विकास मन्त्रालयको समन्वय र ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशको आयोजनामा गरिएको उक्त कार्यक्रममा कर्णाली महिला स्वास्थ्य क्लिनिकले सेफ्टी ज्याकेट उपलब्ध गराएको हो । कार्यक्रममा निःशुल्क स्वास्थ्य सेवा र आकस्मिक उपचारको घोषणाले महिला अटोचालक उत्साहित बनेका थिए ।
४० भन्दा बढी महिला अटोचालकको सहभागिता रहेको कार्यक्रममा ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र ट्राफिक सचेतनाको सन्देशसहित सेफ्टी ज्याकेट वितरण गरेको हो । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले निरन्तर सीपमूलक तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
‘एक घर, एक महिला स्वरोजगार ः विकास र समृद्धिको मूल आधार’ भन्ने नारालाई व्यवहारमा उतार्ने काम नगरपालिकाले गरिरहेको छ,’ उनले भनिन्, ‘महिलालाई घरभित्र सीमित राख्ने सोच अब परिवर्तन हुनुपर्छ । कृषि, सिलाइकटाइ, साना व्यवसायदेखि अटो रिक्सा सञ्चालन तालिमसम्मका कार्यक्रम महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका हुन् । आज महिलाहरू सडकमा अटो चलाएर आफ्नो परिवार धान्न सफल भएका छन्, यो ठूलो उपलब्धि हो ।’
महिलामाथि हुने विभेद र हेपाहा व्यवहारविरुद्ध महिलाहरु स्वयं सचेत र सशक्त हुनुपर्नेमा जोड दिँदै प्रमुख ढकालले महिलारु अब आफ्नो अधिकारका लागि खुलेर बोल्न सक्ने अवस्थामा पुगेको बताइन् । ‘कसैले महिलाको आत्मसम्मानमा चोट पुग्ने व्यवहार गर्छ भने महिलाहरु अब चुप लागेर बस्ने अवस्था छैन,’ उनले भनिन्, ‘व्यक्तिगतदेखि कानुनी रुपमा आफ्नो अधिकारका लागि लड्न सक्ने क्षमता महिलाहरुमा विकास हुँदै गएको छ । तपाईं सबै महिला अटोचालकहरु अन्य महिलाका लागि पनि प्रेरणाको स्रोत बन्नुभएको छ ।’
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मानसिक रोग फोकल पर्सन खगेन्द्रप्रकाश गैरेले महिला चालकहरुले सडकमा काम गर्दा भोग्नुपर्ने मानसिक तनाव, सामाजिक दबाब र मनोसामाजिक समस्याबारे प्रस्तुति दिएका थिए ।
‘लामो समय सडकमा काम गर्दा मानसिक थकान, असुरक्षा, सामाजिक टिप्पणी र आर्थिक दबाबका कारण महिलाहरु तनावमा रहने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘धेरै महिलाहरू समस्या हुँदा पनि खुलेर भन्न सक्नुहुन्न । निन्द्रा नलाग्ने, अत्यधिक चिन्ता हुने, डर लाग्ने, रिस बढ्ने, एक्लोपन महसुस हुने जस्ता समस्या पनि मानसिक स्वास्थ्यसँग जोडिएका विषय हुन् ।’
उनले मानसिक स्वास्थ्य समस्या लुकाएर बस्न नहुने बताउँदै समयमै परामर्श र उपचार लिन आग्रह गरे । सरकारले मानसिक स्वास्थ्यसम्बन्धी निःशुल्क उपचार र परामर्श सेवा पनि सञ्चालन गरिरहेको गैरेले जानकारी दिए ।
महिला अटोचालककलाई उपचारमा सहजता
कर्णाली महिला स्वास्थ्य क्लिनिकका प्रमुख एवम् प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा ललितजंग शाहीले महिला अटो चालकलाई लामो समय सवारी चलाउ“दा हुने विभिन्न स्वास्थ्य समस्याबारे सचेत गराए । ‘धुलो, धुँवा, अनियमित खानपान, पर्याप्त आराम नपाउने अवस्था र लामो समयसम्म बसिरहनुपर्दा महिलामा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन्,’ उनले भने, ‘विशेषगरी महिलाको प्रजनन स्वास्थ्य, ढाड दुख्ने, थकान र रक्तचापसम्बन्धी समस्या बढ्न सक्छ ।
त्यसैले नियमित स्वास्थ्य परीक्षण आवश्यक छ ।’ डा. शाहीले कार्यक्रममा वितरण गरिएको सेफ्टी ज्याकेटलाई स्वास्थ्य सेवास“ग समेत जोड्दै विशेष घोषणा पनि गरे । ‘यो ज्याकेट लगाएर हाम्रो क्लिनिकमा आउने महिला अटो चालकको बिरामी पुर्जी निःशुल्क बनाइनेछ, उनले भने ।’
साथै उनले सुर्खेतमा अटो चलाउने क्रममा जोसुकै महिला पनि आकस्मिक गम्भीर स्वास्थ्य समस्यासँगै उपचार गर्न नसक्ने अवस्थामा भएको भेटाएमा आफुकहाँ ल्याएमा निःशुल्क उपचार गरिदिने वाचा गरे । ‘महिला अटोचालकले कोही महिलाहरु पैसा नभएर उपचार गराउन नसकेको हुन सक्छ,’ डा शाहीले भने, ‘त्यसरी वेवारिसे हुनुभएको र आकस्मिक स्वास्थ्य सेवाको आवश्यकता छ भने हामी निःशुल्क उपचार गरिदिनेछौँ ।’
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख मुकुन्दप्रसाद रिजालले ट्राफिक प्रहरी सडकमा यात्रा गर्ने नागरिकको ‘सारथी’ भएको उल्लेख गर्दै सुरक्षित यात्राका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
‘ट्राफिक प्रहरीको काम केवल कारबाही गर्नु मात्र होइन, सुरक्षित यात्रा सुनिश्चित गर्नु पनि हो,’ उनले भने, ‘सडकमा यात्रा गर्ने जो–कोहीलाई समस्या परेमा ट्राफिक प्रहरी पहिलो सहयोगी बन्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।
महिला चालकहरूले कुनै असहजता, दुव्र्यवहार वा समस्या भोग्नुपरे तत्काल जानकारी गराउनुस्, हामी तुरुन्त सुनुवाइ गर्छौं ।’
एसपी रिजालले केही ट्राफिक प्रहरीबाट हुने अनैतिक व्यवहारप्रति कार्यालय गम्भीर रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमाथि कडाइका साथ निगरानी भइरहेको बताए ।
उनले उनले सडक सुरक्षा केवल प्रहरीको जिम्मेवारी मात्र नभई सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै ट्राफिक नियम पालना गर्न पनि आग्रह गरे ।
कार्यक्रममा सहभागी महिला अटोचालकहरुले यस्तो कार्यक्रमले आफूहरूलाई थप सम्मानित र सुरक्षित महसुस गराएको बताएका थिए । अटोचालक सुशीला सापकोटाले आफूले वीरेन्द्रनगर नगरपालिकाबाट अटो चलाउने तालिम लिएर अहिले यो स्थानमा पुगेको भन्दै नगरपालिकालाई धन्यवाद पनि दिइन् ।
उनले आफूस“गै धेरै महिलाको प्रेरणा बनेर प्रमुख ढकालले गरेको कामको प्रशंसा पनि गरिन् । ‘विस्तारे हामीलाई हेर्ने नजर पनि बदलिँदैछ,’ उनले भनिन्, ‘सडकमा अनेक टिप्पणी सुन्नुपथ्र्यो । यस्तो कार्यक्रमले हामीलाई थप हौसला दिएको छ ।’ आफूहरुले काम गर्ने क्रममा स्वास्थ्य, सुरक्षा र आत्मविश्वास महत्वपुर्ण हुने भन्दै समस्या बुझेर सहयोग गरेकोमा खुसी लागेको बताइन् ।









