२०८३ जेठ १६ , शनिबार

छोरी सशक्तीकरणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भण्डारी



सुर्खेत — कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले छोरीहरूको शिक्षा, सशक्तीकरण, नेतृत्व विकास र आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । वीरेन्द्रनगरमा शनिबारदेखि सुरु भएको दोस्रो कर्णाली छोरी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कर्णाली प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि बालविवाह, छाउपडी, लैङ्गिक विभेद, सामाजिक असमानता तथा हिंसाजस्ता समस्याले विकास यात्रामा चुनौती थपिरहेको बताए । उनले कर्णालीका छोरीहरूमा साहस, सिर्जनशीलता, परिश्रम र नेतृत्व क्षमता प्रचुर रहेको उल्लेख गर्दै उचित अवसर र वातावरण पाए उनीहरूले समाज रूपान्तरणको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरे। सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई छोरीहरूको संघर्ष, अनुभव, आत्मविश्वास र सम्भावनालाई उजागर गर्ने साझा मञ्चका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

मन्त्री भण्डारीका अनुसार सम्मेलनले लैङ्गिक समानता, बालविवाह न्यूनीकरण, महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्य, गुणस्तरीय शिक्षामा पहुँच, स्वास्थ्य, नेतृत्व विकास तथा अधिकार सुनिश्चितताजस्ता महत्वपूर्ण विषयलाई केन्द्रमा राखेको छ । यी विषय सामाजिक रूपान्तरण र दिगो विकाससँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको उनले बताए । ‘हरेक छोरी सुरक्षित, शिक्षित र आत्मनिर्भर बन्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो,’ मन्त्री भण्डारीले भने, ‘छोरीको प्रगति परिवारको मात्र होइन, समाज र राष्ट्रकै प्रगतिको आधार हो ।’

बालविवाह न्यूनीकरणका लागि मन्त्रालयले विशेष रणनीति बनाएर कार्यान्वयन गरिरहेको जानकारी दिँदै उनले कानुनी व्यवस्था हुँदाहुँदै पनि सामाजिक चेतनाको कमीका कारण यस्ता घटना अझै भइरहेकाले स्थानीय तह, समुदाय र सरोकारवालासँग सहकार्य गरेर समस्या समाधानको प्रयास भइरहेको बताए । मन्त्री भण्डारीले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बालबालिकाको अवस्थासम्बन्धी प्रतिवेदन प्रकाशन, युवा प्रतिभा पहिचान पुरस्कार, युवा उद्यमशीलता प्रवर्द्धन, महिला उद्यमी सहयोग कार्यक्रम तथा युवा वैज्ञानिक सम्मेलनजस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

त्यसैगरी उच्च शिक्षा अध्ययनरत छात्रा, अपाङ्गता भएका विद्यार्थी तथा दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर शिक्षामा पहुँच विस्तार गर्न प्रदेश सरकारले विभिन्न योजना अघि बढाएको उनले बताए । विकासलाई केवल भौतिक पूर्वाधार निर्माणसँग जोडेर हेर्न नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र स्थानीय आर्थिक विकासलाई समान प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । उनले सबै नागरिकलाई समान अवसर प्रदान गर्दै समृद्ध, समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि प्रदेश सरकार निरन्तर क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : २०८३ जेठ १६ गते शनिबार