दैलेख । जिल्लाका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि जिल्लाका ११ स्थानीय तहमध्ये सात पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । पूर्ण खोप सुनिश्चित घोषणा हुने पालिकामा नारायण नगरपालिका, नौमुले गाउँपालिका, दुल्लु नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र गुराँस गाउँपालिका रहेका छन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीका अनुसार नियमित खोप कार्यक्रम अन्तर्गत बालबालिकाले उमेर अनुसार लगाउनुपर्ने सबै खोप प्राप्त गरेपछि मात्र पूर्ण खोप सुनिश्चित घोषणा गर्ने मापदण्ड पूरा हुने गर्दछ । उनले अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुनेमा जोड दिए । स्वास्थ्य कार्यालयका अनुसार १६ देखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाएपछि मात्रै पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ ।
यसका लागि स्थानीय तहहरूले नियमित रूपमा घरधुरी विवरण सङ्कलन, छुटेका बालबालिकाको खोजी तथा अनुगमन गर्दै आएका छन् । जिल्लामा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएकाले बालबालिकामा देखिने विभिन्न रोगको जोखिम घट्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ । ग्रामीण तथा दुर्गम क्षेत्रसम्म खोप सेवा विस्तार गरिएकाले अधिकांश बालबालिका खोपको पहुँचमा पुगेका छन् । दैलेख जिल्लालाई यसअघि २०७४ असार ४ गते तत्कालीन मध्यपश्चिम विकास क्षेत्रकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसयता जिल्लामा पूर्ण खोप सुनिश्चितताको अवस्था दिगो बनाउन स्थानीय तह र स्वास्थ्य संस्थाले निरन्तर अभियान सञ्चालन गर्दै आएका छन् ।









