दैलेख । कर्णाली राजमार्ग अन्तर्गत आठबिस नगरपालिका पाँच स्थित मालाचौरमा निर्माणाधीन खुर्राखोला पुल चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । निर्धारित समयमै पुल निर्माण नहुँदा स्थानीयवासी तथा यात्रुहरू बर्सेनि सास्ती खेप्न बाध्य भएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले २०७९ जेठ २८ गते टिडिआर कन्स्ट्रक्सन प्रालि सँग २० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि छ करोड ३७ लाख ५१ हजार रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौताअनुसार एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि चार वर्षसम्म कामले गति लिन सकेको छैन ।
निर्माण कम्पनीलाई थपिएको म्याद २०८१ मङ्सिर २८ गते सकिँदासमेत पुलको भौतिक प्रगति करिब १२ प्रतिशत मात्र पुगेको छ । निर्माण कार्य प्रभावकारी रूपमा अघि नबढे पनि कम्पनीले ८१ लाख ४२ हजार तिन सय ३९ रुपैयाँ भुक्तानी लिइसकेको बताइएको छ । स्थानीयवासीले काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाएका छन् । पुल निर्माणका लागि सुरुआतमै स्थानीय बस्ती हटाइए पनि लामो समयसम्म काम अलपत्र पर्दा स्थानीयमा असन्तोष बढ्दै गएको छ । स्थानीय मयराम जैसीका अनुसार पुल निर्माण सुरु भएपछि विकासको आशा गरिएको थियो, तर वर्षौँसम्म काम नहुँदा स्थानीय निराश बनेका छन् ।
उनले समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले कडाइ गर्नुपर्ने माग गरे । त्यस्तै आठबिस नगरपालिका पाँचका स्थानीय रवि विष्टले पुल नबन्दा विशेषगरी बर्खायाममा आवतजावत निकै जोखिमपूर्ण हुने गरेको बताए । पुल अभावका कारण स्वास्थ्य सेवा, शिक्षा, कृषि उत्पादन ढुवानी तथा दैनिक जनजीवनसमेत प्रभावित भएको उहाँको भनाइ छ । कर्णाली राजमार्ग जस्तो महत्त्वपूर्ण सडकखण्डमा पर्ने पुल लामो समयसम्म अधुरो रहँदा यात्रु तथा स्थानीयले ठूलो सास्ती भोग्नुपरेको छ । स्थानीयले अब तत्काल निर्माण कार्य तीव्र पारेर पुल सम्पन्न गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् ।









