२०८३ असार २३ , मंगलबार

वीरेन्द्रनगर साकोसको रजत जयन्ती भव्य रूपमा सम्पन्न

२५ वर्षे ‘स्मृति सङ्गालो’ विमोचन, २८ व्यक्तित्व सम्मानित, सदस्यकेन्द्रित सहकारी सेवामा थप प्रतिबद्धता


सुर्खेत। वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती) विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । समारोहका अवसरमा संस्थाले ‘२५ वर्षे स्मृति सङ्गालो’ नामक स्मारिकाको विमोचन गर्नुका साथै संस्थाको विकास यात्रालाई समेटिएको भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ  ।

संस्थाका अध्यक्ष बमबहादुर बि.सी. को अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न संघ, संस्था, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, जिल्ला सहकारी संघका प्रतिनिधि, विभिन्न सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, कर्मचारी तथा ठूलो संख्यामा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

समारोहमा संस्थाको २५ वर्षको इतिहास, उपलब्धि, सेवा विस्तार तथा संस्थागत विकासलाई समेटिएको ‘२५ वर्षे स्मृति सङ्गालो’ प्रमुख अतिथिबाट औपचारिक रूपमा विमोचन गरिएको थियो । साथै संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रालाई चित्रण गर्ने भिडियो डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले वीरेन्द्रनगर साकोसले सुशासन, पारदर्शिता र सदस्यकेन्द्रित सेवामार्फत सुर्खेतकै उत्कृष्ट सहकारी संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताएका थिए । पछिल्लो समय केही सहकारी संस्थामा देखिएका समस्याका कारण सहकारीप्रति जनविश्वास कमजोर बनेको अवस्थामा वीरेन्द्रनगर साकोसले सञ्चालन गर्दै आएका प्रभावकारी वित्तीय तथा गैरवित्तीय सेवाले सहकारी अभियानप्रतिको विश्वास पुनःस्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याएको धारणा वक्ताहरूले व्यक्त गरे ।

प्रमुख अतिथि मन्त्री विनोदकुमार शाह ले सहकारी क्षेत्रप्रति आमनागरिकको विश्वास कायम राख्न संस्थाहरूले सुशासन, पारदर्शिता, उत्तरदायित्व र सदस्यमैत्री सेवामा विशेष जोड दिनुपर्ने बताए । उनले सदस्यको हकहित संरक्षण गर्दै सहकारी संस्थाहरूले वित्तीय अनुशासन र संस्थागत साखलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

रजत जयन्तीको अवसरमा संस्थाको स्थापना, विकास तथा संस्थागत सुदृढीकरणमा योगदान पु¥याउने संस्थापक अध्यक्ष, पूर्व पदाधिकारी, पूर्व सञ्चालक, सल्लाहकार, कर्मचारी तथा एकीकरणमा सहभागी संस्थाका पूर्व अध्यक्षसहित २८ जना व्यक्तित्वलाई रजत सेवा पदक तथा कर्मचारी दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो । साथै विभिन्न विधामा छनोट भएका ४३० जना सदस्यलाई आगामी २५औँ वार्षिक साधारणसभामा सम्मान गरिने जानकारी पनि दिइयो ।

समापन समारोहमा अध्यक्ष बमबहादुर बि.सी. ले संस्थाले स्थापना कालदेखि नै सदस्यको हितलाई केन्द्रमा राखेर सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा आधुनिक प्रविधि, सुशासन र पारदर्शितालाई थप सुदृढ बनाउँदै गुणस्तरीय सेवा प्रवाहमा संस्था अझ प्रतिबद्ध रहने विश्वास व्यक्त गरे । उनले संस्थाको २५ वर्षे सफल यात्रामा साथ र विश्वास दिने सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाप्रति आभारसमेत व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार