सुर्खेत । नेपाल बैंक लिमिटेड, सुर्खेत शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर–१०, दीपनगरस्थित श्री मंगलगढी प्राथमिक विद्यालयका ११६ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

दलित सशक्तीकरण केन्द्र नेपालको आयोजना तथा नेपाल बैंक लिमिटेडको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा बैंकका सुर्खेत शाखा प्रमुख गायत्री भट्टाराईले बैंकले नाफामुखी सेवा मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिँदै आएको बताइन् ।
उनले नेपालकै पहिलो बैंकका रूपमा नेपाल बैंकले शिक्षा, सामाजिक विकास तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तर प्राथमिकता दिएको उल्लेख गर्दै अहिलेको समयमा बढ्दो डिजिटल ह्याकिङ र वित्तीय ठगीप्रति सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याइन् । कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी जानकारीसमेत प्रदान गरिएको थियो ।
विद्यालयकी प्रधानाध्यापक हितकुमारी खड्काले विद्यालयमा दलित, जनजाति तथा विपन्न समुदायका विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै आधारभूत शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आवश्यक शैक्षिक सामग्री जुटाउँदै आएको बताइन् । नेपाल बैंकबाट प्राप्त सहयोगले विद्यार्थी र अभिभावक दुवै उत्साहित भएको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष दिलबहादुर रखालले शिक्षा क्षेत्रमा गरिएको लगानी समाजका लागि दीर्घकालीन लगानी भएको उल्लेख गर्दै अन्य बैंक तथा संघसंस्थाले पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नहुने धारणा व्यक्त गरे ।
बाल विकासदेखि कक्षा ५ सम्म अध्ययन हुने विद्यालयमा आयोजित कार्यक्रममा नेपाल बैंक लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका उपप्रबन्धक बालाराज बुढा, विद्यालय व्यवस्थापन तथा अभिभावक संघका अध्यक्ष पदमबहादुर चलाउने तथा दलित सशक्तीकरण केन्द्र नेपालका प्रतिनिधि लक्ष्मी विकलगायतको उपस्थिति रहेको थियो ।








