२०८३ भदौ ४ , बिहीबार

हुम्लामा तीन दिन विद्युत् आपूर्ति बन्द



हुम्ला । हिल्दुम विद्युत् वितरण केन्द्रले ११ केभी प्रसारण लाइन मर्मत गर्न तीन दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । हिल्दुम पावर हाउसदेखि खार्पुनाथ गाउँपालिकाको लालीसम्म रहेको प्रसारण लाइन अन्तर्गत खार्पुनाथ पाँच चौगानचौरमा मर्मत गर्नुपर्ने भएपछि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

केन्द्रका प्रमुख जितेन्द्र शाहका अनुसार खार्पुनाथ गाउँपालिका पाँचका सबै बस्तीमा भदौ चार देखि छ गतेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । उक्त अवधिमा बिहान आठ बजेदेखि बेलुका सात बजेसम्म विद्युत् सेवा अवरुद्ध रहनेछ । चौगानचौर क्षेत्रमा ११ केभी प्रसारण लाइनमा समस्या देखिएपछि नियमित विद्युत् आपूर्ति सहज बनाउन मर्मत गर्न लागिएको केन्द्रले जनाएको छ ।

मर्मत कार्यका क्रममा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले सेवाग्राहीलाई आवश्यक तयारी गर्न केन्द्रले आग्रह गरेको छ । विद्युत् सेवा बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति वितरण केन्द्रले क्षमासमेत मागेको छ। मर्मत कार्य सम्पन्न भएपछि नियमित रूपमा विद्युत् आपूर्ति सञ्चालन गरिने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार