२०८३ भदौ ४ , बिहीबार

सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार



कालीकोट । जिल्लाकाे सान्नीत्रिवेणी गाउँपालिका सात कीर्तिपुरकी बिनिता प्याकुरेललाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ । प्रसवका क्रममा स्वास्थ्य समस्या देखिएपछि रास्कोट अस्पतालबाट थप उपचारका लागि उनलाई सुर्खेत पठाइएको हो । नहकुल सिंखडाकी श्रीमती प्याकुरेललाई बच्चा जन्माउन समस्या भएपछि चिकित्सकको सिफारिसमा हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ । कालीकोट पनि उक्त कार्यक्रम लागू भएका जिल्लामध्ये एक हो । हवाई उद्धारका लागि स्थानीय स्वास्थ्य संस्था वा अस्पतालको सिफारिस, स्थानीय तहको सिफारिस तथा प्रमुख जिल्ला अधिकारीको सिफारिस आवश्यक पर्ने व्यवस्था छ ।

सम्बन्धित निकायबाट सिफारिस प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पत्राचार गर्ने र त्यसपछि हेलिकप्टरको व्यवस्था हुने गरेको जिल्ला प्रशासन कार्यालयका कर्मचारी उज्ज्वलबहादुर शाहीले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रम इकाइले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएको छ । उद्धारका लागि सहयोग र समन्वय गर्ने व्यक्ति तथा निकायप्रति प्याकुरेलका परिवारले धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार