मुगु । स्थानीय कपासको प्रशोधन गरी विभिन्न सामग्री उत्पादन गर्न थालिएपछि मुगुको सोरु गाउँपालिकामा रोजगारीका अवसर सिर्जना भएका छन् । सोरु गाउँपालिका आठ तारापानीमा सञ्चालित परिवर्तन साना किसान सहकारी संस्थाले स्थानीय कपासबाट तयारी सामग्री उत्पादन गर्दै १३ जनालाई रोजगारी दिएको हो । रोजगारी पाउनेमा एकल महिला तथा विपन्न परिवारका सदस्यसमेत रहेका छन् ।
सहकारीले स्थानीय किसानबाट कपास खरिद गरी प्रशोधन गरेर टोपी, दौरा–सुरुवाल, तयारी पोसाक, सिरक, डसना लगायतका सामग्री उत्पादन गर्दै आएको छ । सहकारीका अध्यक्ष पदमबहादुर मल्लका अनुसार जिल्लामै पहिलोपटक स्थानीय कपास प्रशोधन गरी व्यावसायिक रूपमा सामग्री उत्पादन सुरु गरिएको हो । सहकारीलाई वार्षिक आठदेखि १० टनसम्म कपास आवश्यक पर्ने गरेको छ ।
स्थानीय किसानबाट कपास खरिद गरी प्रशोधन तथा सामग्री उत्पादन गर्दा किसानसँगै स्थानीय कामदारले पनि रोजगारी पाएका छन् । यसले स्थानीय उत्पादनको उपयोगसँगै गाउँमै आयआर्जनको अवसर बढाएको छ । अध्यक्ष मल्लका अनुसार स्थानीय कपासबाट तयार सामग्रीको मूल्य बजारमा पाइने अन्य सामग्रीभन्दा केही बढी पर्ने भएकाले बिक्रीमा समस्या हुने गरेको छ । सहकारीले वार्षिक करिब सातदेखि आठ लाख रुपैयाँ बराबरका सामग्री बिक्री गर्दै आएको छ ।
स्थानीय उत्पादनको प्रयोग र बजारीकरण बढाउन सके कपास खेती गर्ने किसानको आम्दानी वृद्धि हुनुका साथै थप रोजगारी सिर्जना गर्न सकिने उनले बताए । सोरु गाउँपालिका एकका समाजसेवी सुरेश शाहीले जिल्लाका चारवटै स्थानीय तहले स्थानीय कपासबाट उत्पादित सामग्रीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । सरकारी कर्मचारी तथा स्थानीय संस्थाले यस्ता सामग्री प्रयोग गरे बजार विस्तारमा सहयोग पुग्ने उनकाे भनाइ छ । स्थानीय कपासको उत्पादन, प्रशोधन र बजारीकरण व्यवस्थित गर्न सके किसानको आम्दानी बढ्नुका साथै गाउँमै थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।









