२०८३ भदौ ९ , मंगलबार

ब्रह्माकुमारीजको रक्तदान अभियान : बाँके र बर्दियामा ६६ पिन्ट रगत संकलन



कोहलपुर । ब्रह्माकुमारीज ईश्वरीय विश्वविद्यालयले आयोजना गरेको राष्ट्रियस्तरीय ‘विश्व बन्धुत्व रक्तदान अभियान’ अन्तर्गत बाँके र बर्दियामा ६६ पिन्ट रगत संकलन गरिएको छ । अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको अवसरमा भाद्र ९ गते कोहलपुर नगरपालिका–२ प्रेमनगरमा आयोजित रक्तदान कार्यक्रममा ४३ जना र बढैयाताल गाउँपालिका–६ मैनापोखर, बर्दियामा २३ जनाले रक्तदान गरेका हुन् ।

कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यता तथा ब्रह्माकुमारीज कोहलपुर शाखा प्रमुख ब्रह्माकुमारी इन्दिराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदी, वडा नं. १२ का अध्यक्ष वीरेन्द्र शाह, नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक कोहलपुरका प्रमुख राजेन्द्रकुमार महतारा, स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रलगायतको सहभागिता थियो ।

कार्यक्रममा दादी प्रकाशमणिको जीवन, समाजसेवाप्रतिको योगदान तथा रक्तदानको महत्वबारे चर्चा गरिएको थियो । उपप्रमुख सुवेदीले रक्तदानले स्वास्थ्य सुरक्षाका साथै मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै अभियानको सफलताको शुभकामना दिइन् ।

त्यस्तै बढैयाताल गाउँपालिका–६ मैनापोखरमा उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल कण्ठीपुर, लायन्स क्लब बढैयाताल, बजार व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, बढैयाताल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दीपक खनाल, संस्थापक अध्यक्ष बालकृष्ण लामिछाने, ब्रह्माकुमारीजका केन्द्रीय सदस्य ब्रह्माकुमार कृष्णबहादुर रानाभाट, लायन्स क्लबका अध्यक्ष गणेश शर्मालगायतको सहभागिता थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षाकर्मी तथा आयोजक संस्थाका प्रतिनिधिले समेत रक्तदान गरेका थिए ।

ब्रह्माकुमारीज बढैयाताल उपशाखा प्रमुख ब्रह्माकुमारी गोमा सुवेदीले पनि रक्तदान गरेकी थिइन् । उनी कार्यक्रममा रक्तदान गर्ने एक्ली महिला रक्तदाता रहेको आयोजकले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक गुलरियाका इन्चार्ज राहुल केसीसहितको प्राविधिक टोलीले रक्त संकलनमा सहयोग गरेको थियो ।

आयोजकका अनुसार गत वर्ष ब्रह्माकुमारीजको पहलमा विभिन्न कार्यक्रममार्फत ११ हजार ९१६ पिन्ट रगत संकलन भएको थियो । यस वर्ष भाद्र ५ देखि ९ गतेसम्म सञ्चालन गरिएको अभियानमा भाद्र ५ गते १ हजार ९७, ६ गते ३ हजार १०६, ७ गते १ हजार ८६६ र ८ गते ८७१ पिन्ट रगत संकलन भएको जनाइएको छ । रक्तदान अभियानलाई मानवीय सेवासँगै आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको उपलब्धता सहज बनाउने उद्देश्यले निरन्तरता दिइएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार