२०८३ भदौ १० , बुधबार

बुकाखोलाले १२ बस्तीमा सास्ती



मुगु । मुगुको सदरमुकाम आसपासका बस्ती हुँदै छिमेकी जिल्ला जुम्ला जोड्ने बुकाखोलाको समस्या वर्षौँदेखि समाधान हुन नसक्दा स्थानीयवासीले वर्षायाममा सास्ती खेप्दै आएका छन् । छायानाथ रारा नगरपालिका चार स्थित बुकाखोलामा हरेक वर्ष पानीको बहाब बढ्दा सडक अवरुद्ध हुनुका साथै खेतीयोग्य जमिन कटान हुने गरेको स्थानीयले बताएका छन् । छायानाथ रारा नगरपालिका पाँचमा रहेको ताल्चा विमानस्थलबाट बग्ने पानीको उचित व्यवस्थापन नहुँदा बुकाखोलामा पानीको बहाब बढ्ने गरेको स्थानीयको भनाइ छ ।

वर्षायाममा पानीको बहाब बढेपछि सयौँ हेक्टर खेतीयोग्य जमिन कटान हुनुका साथै सडकसमेत क्षतिग्रस्त हुने गरेको छ । बुकाखोलाको बहाब बढ्दा आसपासका करिब १२ वटा बस्तीका नागरिक प्रभावित हुने गरेका छन् । विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई आवतजावतमा विशेष समस्या हुने गरेको छायानाथ रारा नगरपालिका छ का ज्येष्ठ नागरिक लोग्या ऐडीले बताए ।

कक्षा नाै मा अध्ययनरत छायानाथ रारा नगरपालिका चारका लालकेस भामका अनुसार बुकाखोला हुँदै आसपासका गाउँका विद्यार्थी विद्यालय जाने गरेका छन् । वर्षा सुरु भएपछि ताल्चा विमानस्थलबाट आउने पानीको बहाब बढ्दा सडक ठाउँठाउँमा बगाउने र बाटो अवरुद्ध हुने भएकाले नियमित विद्यालय जानसमेत समस्या हुने गरेको उनले बताए । स्थानीयका अनुसार भरपर्दो सडक र पुलको अभावमा बिरामीलाई उपचारका लागि लैजान, विद्यार्थीलाई विद्यालय पुग्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न कठिनाइ हुने गरेको छ ।

वर्षाको समयमा खोला बढेपछि कतिपय स्थानमा घण्टौँसम्म आवतजावत बन्द हुने गरेको छ । छायानाथ रारा नगरपालिका सातका हर्कबहादुर शाहीले निर्वाचनका बेला सडक, पुल र यातायातलाई प्राथमिकता दिने प्रतिबद्धता गरिए पनि बुकाखोलाको समस्या समाधान हुन नसकेको गुनासो गरे । स्थानीयले ताल्चा विमानस्थलबाट बग्ने पानीको उचित व्यवस्थापन, बुकाखोलामा स्थायी पुल निर्माण तथा सडक स्तरोन्नतिको माग गरेका छन् । बुकाखोलाको समस्या समाधान भए मुगुका १२ वटा बस्तीका नागरिकसँगै जुम्लातर्फको आवतजावतसमेत सहज हुने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार