जेनजीको मागप्रति समर्थन छ, संविधान बाहिरका कुरालाई मान्दैनौं : नेपाली कांग्रेस

जेनजीको मागप्रति समर्थन छ, संविधान बाहिरका कुरालाई मान्दैनौं : नेपाली कांग्रेस
​नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार अन्त्य र सुशासनको लागि जेनजीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै संविधान नै मास्न खोज्ने अभ्यासप्रति सजग भएर लाग्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि शुक्रबार उपसभापति पूर्णबहादुर खड्काले अध्यक्षता गरेको बैठकले संविधान बाहिर गएर उठाइने कुनै पनि विषयलाई अस्वीकार हुने निर्णय गरेको हो ।

बैठकपछि नेता श्याम घिमिरेले जेनजीको प्रदर्शनपछि बाध्यात्मक रूपमा एउटा चरण आए पनि संविधानलाई मास्न खोज्नेप्रति कांग्रेस सचेत रहेको जानकारी दिए । ‘आन्दोलनको माग भनेको भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र सामाजिक सञ्जाल नियमित गर्ने भन्ने थियो । यस्ता मागप्रति कांग्रेसको पहिलेदेखि नै सकारात्मक धारणा र समर्थन छ । त्योभन्दा बाहिर गएर उठाइएका कुरा कहाँबाट कसरी आए ? त्यो विषयमा एकपछि अर्को गर्दै प्रवेश गराउँदा संविधानभन्दा बाहिर जान्छ भन्ने हाम्रो मत हो,’ घिमिरेले भने, ‘यसैले संविधानको रक्षार्थ कांग्रेस सजग छ । उनीहरूको मागमा सहमत छौं । भिन्न ढंगले आएका कुराप्रति कांग्रेसको समर्थन छैन ।’

कांग्रेसले संविधान बाहिर गएर सरकार निर्माण र संसद् विघटनलाई असंवैधानिक भनेको छ ।भदौ २३ र २४ भएको जनधनको क्षतिको अध्ययन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्न कांग्रेसले सुझाव दिएको छ । पार्टी कार्यालय, नेताका निवास, डेरामा क्षति पुगे पनि उच्च मनोबलमा साथ पार्टीका काममा फर्किन पनि कांग्रेसले अपिल गरेको छ । ‘यस्तो परिस्थितिमा सबै पार्टीका नेता कार्यकर्तालाई धैर्य धारण गर्दै पार्टीका गतिविधिलाई अगाडि बढाउन उच्च मनोबलका काम गर्न भनिएको छ,’ घिमिरे भने ।भदौ २४ गते भएको आन्दोलनमा सभापति शेरबहादुर देउवा घाइते भएपछि पार्टी बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका हुन् । शुक्रबारको बैठकमा एक दर्जन बढी कार्यसम्पादन समितिका सदस्यले धारणा राखेका थिए । बैठकमा सभापति देउवाको स्वास्थ्यमा सुधार हुँदै आएको जानकारी गराइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *