
हुम्लामा ५७० मेगावाट विद्युत उत्पादनको प्रक्रिया अगाडि बढाईएको छ । हुम्ला जिल्लामा एकैपटक दुई वटा ठूला जलविद्युत आयोजना निर्माणको लागि प्रक्रिया अघि बढाएको हो । केही सयमअघि मात्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हुम्लामा ‘हुम्ला कर्णाली–१’ र ‘हुम्ला कर्णाली–२’ आयोजना निर्माणको प्रक्रिया सुरु गरेको हो । हुम्ला कर्णाली–१ आयोजना २३५ मेगावाट र हुम्ला कर्णाली–२ आयोजना ३३५ मेगावाट क्षमताको हुनेछ ।
आयोजना कार्यान्वयनपूर्वको वातावरणीय मूल्याङ्कन (इआईए) स्वीकृतिका लागि समेत प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन मन्त्रालयले इआईए प्रतिवेदनमाथि आवश्यक अध्ययन गरिरहेको छ । मन्त्रालयले यसअघि यी आयोजना कार्यान्वयनपूर्व पर्नसक्ने नकरात्मक असरका बारेमा प्रभावित क्षेत्रका नागरिक र सरोकारवालासँग राय तथा सुझाव दिन आग्रह गरिसकेको छ ।
हुम्लालाई सडक सञ्जालसँग जोडेको निर्माणाधिन कर्णाली कोरिडोर मुख्य पहुँचमार्ग रहने यी दुवै आयोजना निर्माणको प्रस्तावक रुरु जलविद्युत परियोजना लिमिटेड रहेको छ । हुम्ला कर्णाली–१ हुम्ला जिल्लाको सर्केगाड र चंखेली गाउँपालिका, मुगु जिल्लाको सोरु गाउँपालिकामा पर्नेछ । इआईए प्रतिवेदनअनुसार यस आयोजनाको बाँध लगायतका शीर्ष संरचना, जलमार्ग, विद्युतगृह र पानी निकास मार्ग हुम्ला कर्णाली नदीको दाँया किनारमा प्रस्ताव गरिएको छ । यो क्षेत्र सर्केगाड गाउँपालिकाको वडा नम्बर १ र ४ मा पर्नेछन् । यस्तै, नदीको बाँया किनारतर्फ सर्केगाड गउँपालिका–५, चंखेली गाउँपालिका–६, मुगु जिल्लाको सोरु गाउँपालिका–४ र ५ वडाको भाग पर्दछन् ।
हुम्ला कर्णाली–१ आयोजनाअन्तर्गत २२ मिटर अग्लो पानी फर्काउने बाँध, चार वटा बालुवा थिग्र्याउने पोखरी, ८.८६ किलोमिटर हेडरेस सुरुङ, एउटा भूमिगत विद्युतगृह, एक सर्जसाफ्ट र दुई सय ७५ मिटर जल निकास मार्ग निर्माण हुनेछन् । आयोजनाले नदीको अधिकतम १३० घनमिटर प्रतिसेकण्ड पानी प्रयोग गरेर वार्षिक भण्डै १ हजार ५३१ गिगावाट आवर विद्युतीय उर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा पु¥याउन मुगु कर्णाली सबस्टेसनसम्म १० किलोमिटर प्रसारण लाइन आवश्यक पर्नेछ । प्रस्तावित यो आयोजनाका लागि ३७.८५ हेक्टर जग्गा (प्रशारण लाइनबाहेक) आवश्यक पर्नेछ । यसको कुल लागत ५७ अर्ब २७ करोड ७० लाख अनुमान गरिएको छ ।
मन्त्रालयले हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा सर्केगाड गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६ मा निर्माण हुने प्रस्तावित हुम्ला कर्णाली–२ जलविद्युत आयोजना (३३५ मेगावाट) को इआईए प्रतिवेदनमाथि पनि आवश्यक अध्ययन गरिरहेको छ । प्रतिवेदन अनुसार यो आयोजनाको प्रस्तावित हेडवक्र्स र त्यससँग सम्बन्धित संरचनाहरु खार्पूनाथ गाउँपालिका वडा नम्बर १ र ३ तथा विद्युतगृहका संरचनाहरु सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ र ६ मा प्रस्ताव गरिएको छ । हुम्ला कर्णाली–२ आयोजनाअन्तर्गत ५४५ मिटर र ५४२ मिटर लम्बाईका दुई वटा नदीको डाइभर्सन सुरुङ, ६२.५० मिटर उचाइको हेडवक्र्स बाँध, १.३२ किलोमिटर लम्बाइको सेटलिङ बेसिन, चार वटा इन्टेक, १२.७० किलोमिटर लम्बाइको हेडरेस सुरुङ, एक सतही विद्युतगृह लगायत संरचना निर्माण हुनेछन् ।
आयोजनाले नदीको अधिकतम ११८.७० घनमटिर प्रतिसेकण्ड र न्युनतम ३०.८६ घनमिटर प्रतिसेकेण्ड पानी प्रयोग गरेर सुक्खा याममा ६०९.८९ गिगावाट आवर र वर्षा याममा १ हजार १८४.८३ गिगावाट आवर गरी वार्षिक झण्डै १ हजार ७९४.७२ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । यो आयोजनाका लागि कूल ६१ हेक्टर जग्गा आवश्यक पर्ने इआईए प्रतिवेदनमा उल्लेख छ । हुम्ला कर्णाली–२ को कुल लागत ७२ अर्ब ९० करोड ८० लाख लाग्ने अनुमान गरिएको छ ।
यस्तै उर्जा मन्त्रालय मातहतको विद्युत विकास विभागले भेरी करिडोर क्षेत्रमा उत्पादन हुने विद्युत राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको जाजरकोटको नलगाडदेखि सुर्खेतको मैनतडासम्म विस्तार हुने ४०० केभी प्रसारण लाइनलाई निर्माण अनुमति दिएको छ । विभागका अनुसार ७५ किलोमिटर लम्बाई रहेको उक्त प्रसारण लाइनले २ हजार ४ सय मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्नेछ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले यो आयोजना निर्माण
गर्दैछ ।

Leave a Reply