सुर्खेत । सुर्खेतको चर्चित पर्यटकीयस्थल काँक्रेविहारमा केहि दिन अगाडी दिउँसो अनौठो दृश्य देखियो । प्रतिव्यक्ति २० रुपैयाँको टिकट काटेर भित्रिएका केही युवायुवती फोटो खिच्न र टिकटक बनाउन व्यस्त थिए । त्यही भिडबाट एक्कासि नारा घन्कियो,भोट के मा ? घण्टीमा ” चुनावी माहोलको झल्को दिने त्यो आवाजसँगै वातावरण केहीबेर राजनीतिक रंगमा रंगियो ।

निर्वाचन नजिकिँदै गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दलहरूको गतिविधि तीव्र बनेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अब केही दिन मात्रै बाँकी रहँदा बजारदेखि गाउँसम्म मतदाताको मनोविज्ञान बुझ्ने होड चलिरहेको छ ।
वीरेन्द्रनगर–११ का ४१ वर्षीय गगन वली यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ खुलेका छन् । घरको बाह्रै भोट घण्टीमा जान्छ, उनले दाबी गरे । विगतमा राप्रपालाई मतदान गर्दै आएका ६८ वर्षीय एक मतदाताले पनि यसपटक नयाँ शक्तिलाई अवसर दिन सकिने संकेत गरे ।
वीरेन्द्रनगर–९ का ५० वर्षीय गणेश पोखरेल भन्छन्, पहिला रास्वपा थिएन, अहिले विस्तारै माहोल बन्दैछ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सभा गरेपछि रास्वपाप्रति आकर्षण बढेको धेरै मतदाताको धारणा छ ।
रास्वपाबाट उम्मेदवार बनेका रमेश कुमार सापकोटा यसअघि कांग्रेससँग आबद्ध थिए । स्थानीय राजनीतिमा परिचित अनुहार भएका कारण उनको उम्मेदवारीले कांग्रेस र एमालेको पनि परम्परागत मतमा असर पार्ने विश्लेषण भइरहेको छ ।
एमालेको ‘वडाकेन्द्रित’ रणनीति
वीरेन्द्रनगर–४ लाई परम्परागत रूपमा एमालेको बलियो आधार क्षेत्र मानिन्छ । ४२ वर्षीया नन्दकला गिरी यसपटक पनि एमालेमै मतदान गर्ने बताउँछिन् । तर केही मतदाता भने प्रतिनिधिसभातर्फ मत परिवर्तनको संकेत गरिरहेका छन् ।
स्थानीय नेताहरूका अनुसार एमालेले वडास्तरबाट संगठित मत जोगाउने रणनीति अपनाएको छ । मत चोर्नेभन्दा आफ्नो आधार क्षेत्र जोगाउन केन्द्रित छौं, एक नेताले बताए ।
कांग्रेसको आधार कायम ?
२०७९ को निर्वाचनमा कांग्रेसका हृदयराम थानीले ३४ हजार ६२५ मतसहित जित हासिल गरेका थिए । यद्यपि यसपटक उनी उम्मेदवार छैनन् । कांग्रेसका केही मतदाता परिवर्तनको पक्षमा देखिए पनि कटिबद्ध कार्यकर्ताहरू भने रुखमै अडिग छन् ।
६६ वर्षीय हेमराज रेग्मी र ६४ वर्षीय दण्डपानी जैसीले घरभित्रकै सबै मत कांग्रेसलाई जाने दाबी गरे । ६७ वर्षीया नन्दकुमारी तिमल्सिनाको भनाइ छ, बाघले घाँस खाँदैन, रूखबाहेक अन्त भोट जाँदैन ।
त्रिकोणीय भिडन्तको संकेत
सुर्खेत–२ मा कुल १७ जना उम्मेदवार मैदानमा छन् । प्रमुख प्रतिस्पर्धा भने नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाबीच देखिएको छ । अन्य दलहरू उपस्थिति जनाए पनि मत परिणाममा ती तीन दलकै निर्णायक प्रभाव रहने अनुमान स्थानीय मतदाताको छ ।
अघिल्लो निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रो र रास्वपा तेस्रो बनेको थियो । तर यसपटक मतदाताको मनस्थिति बदलिँदो देखिएकाले प्रतिस्पर्धा झन् रोचक हुने संकेत मिलेको छ । काँक्रेविहारको भीडबाट उठेको ‘घण्टी’को आवाज केवल नारा मात्र हो कि मतपरिणामको पूर्वसंकेत, यसको जवाफ अब केही दिनपछि मतपेटिकाले दिनेछ ।








