२०८३ जेठ १२ , मंगलबार

कर्णालीमा निर्वाचन लक्षित सुरक्षा व्यवस्थामा कडाई प्रहरी ‘हाइ अलर्ट’ देखि ‘साइबर सेल’ सक्रिय



सुर्खेत । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रबाट १३२ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । उक्त निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल प्रहरीले सुरक्षा रणनीति तयार गरी आवश्यक जनशक्ति परिचालन गरिसकेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रको संवेदनशीलता मूल्यांकन गरी सोही अनुसार सुरक्षाकर्मी खटाउने योजना छ । सीमावर्ती क्षेत्र तथा विगतमा विवाद देखिएका स्थानमा विशेष निगरानी बढाइएको प्रदेश प्रहरीले जनाएको छ । सुरक्षा निकायले मतदातालाई निर्भीक भई मतदान गर्न आग्रह पनि गरेका छन् ।

कर्णालीमा करिब १४ हजार ७१९ जना बढी प्रहरी जनशक्ति निर्वाचनमा खटिने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कर्णालीको भूगोललगायत अन्य कारणले केही चुनौती भए पनि प्रहरीले मतदाता, उम्मेदवार, मतदान केन्द्र र मतदानस्थलको पूर्ण रूपमा सुरक्षा दिने प्रहरीले दाबी गरेको छ ।

निर्वाचनलाई ‘भयरहित र शान्तिपूर्ण’ बनाउन कर्णाली प्रदेश प्रहरीले आफ्नो कसरत तीव्र पारेको हो । निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा तयारी र अनुगमनको नेतृत्व गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटा आफैँ मैदानमा उत्रिएका छन् । डीआईजी सापकोटाले सुर्खेतका विभिन्न प्रहरी इकाईहरू र निर्वाचन सुरक्षाका लागि तयार पारिएका रणनीतिक स्थानहरूको स्थलगत निरीक्षण गरेका हुन् ।

प्रहरी कार्यालयहरूको भौतिक अवस्था, जनशक्ति परिचालन र प्राविधिक तयारीको मसिनो गरी अनुगमन गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अनुगमनका क्रममा डीआईजी सापकोटाले निर्वाचनमा खटिने प्रहरी र निर्वाचन प्रहरी (म्यादी) लाई अनुशासन, निष्पक्षता र सजगता अपनाउन कडा निर्देशन दिएका छन् ।
निर्वाचनको माहौल उत्कर्षमा पुगेका बेला सुरक्षामा कुनै सम्झौता नगर्न डीआईजी सापकोटाले मातहतका कर्मचारीलाई सचेत समेत गराएका छन् । नागरिकको शान्ति सुरक्षा र अमनचयन कायम गर्नु प्रहरीको पहिलो दायित्व रहेको भन्दै निर्वाचन बिथोल्ने वा शान्ति सुरक्षामा खलल पु¥याउने कुनै पनि गतिविधिमाथि कडा निगरानी राख्न उनको निर्देशन छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहका अनुसार मतदाताले पूर्ण रूपमा सुरक्षित महसुस गर्ने गरी नयाँ सुरक्षा रणनीति तय गरिएको छ । टोलीले विशेषगरी निर्वाचन स्थलको भौतिक सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षा र मतदानका दिन अपनाइने विशेष सतर्कताका विषयमा फिल्डमै पुगेर आवश्यक निर्देशन दिएको छ ।

सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय मिलाउन र सुरक्षा फौजलाई २४ सै घण्टा ‘अलर्ट’ रहन भनिएको छ । कर्णालीका दुर्गम र संवेदनशील मतदान केन्द्रहरूमा पनि विशेष टोली खटाइसकिएको प्रहरीले जनाएको छ । निर्वाचनका लागि सुर्खेतसँगै कर्णालीकीका १० वटै जिल्लामा सुरक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण वातावरणमा मतदान गराउन सुरक्षा फौज र कर्मचारीहरूलाई मैदानमा उतारिसकिएको छ । प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आ–आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।

साइबर सेल सक्रिय

यस पटकको चुनावमा एउटा नयाँ प्रयोग गरिएको छ । जो सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन गर्ने, भ्रम फैलाउने वा चरित्र हत्या गर्ने गतिविधि रोक्न प्रहरीको साइबर टिम र नेपाल टेलिकमका कर्मचारीले चौबीसै घण्टा निगरानी गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार हालसम्म जिल्लामा लिखित रूपमा आचारसंहिता उल्लंघनको उजुरी परेको छैन । मौखिक रूपमा आएका सामान्य गुनासाहरूलाई तत्कालै सम्बोधन गरिएको छ । सबै राजनीतिक दल र उम्मेदवारहरूले अहिले सौहार्दपूर्ण वातावरणमा आफ्ना कार्यक्रमहरू गरिरहेका छन् । तर सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन गर्नेलाई नियमनमा ल्याउन हाल साइबर सेल सक्रिय रहेको छ ।

कर्णालीमा ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन्, भने प्रदेशभर मतदाता १० लाख ३७ हजार २५० जना छन् । प्रहरीले प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले जोखिम मूल्यांकन गरेपछि ती मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयले प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा राखेको छ । सोही अनुसार जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगाएत सरोकारवाला निकायले मतदानस्थल अनुगमनलाई पनि तीब्र बनाएका छन् ।

कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउनेबेला हुनसक्ने समस्यालाई मध्यनजर गरी सोहीअनुसार तयारी पनि गरिएको छ । अतिसंवेदनशील केन्द्रहरूमा सुरक्षाको विशेष व्यवस्था गरिने प्रहरीले जनाएको छ । प्रदेशका हिमाली तथा दुर्गम जिल्लामा भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका विवाद, राजनीतिक प्रतिस्पर्धा र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदान केन्द्रको वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कर्णालीका विभिन्न जिल्लामा रहेका अन्य मतदान केन्द्रहरूलाई संवेदनशील र सामान्य श्रेणीमा पनि राखिएको छ । अतिसंवेदनशील केन्द्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा आवश्यक परे नेपाली सेनाको समेत परिचालन गरिएको छ ।

भौगोलिक चुनौतिको सामना

प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार कर्णालीमा भौगोलिक विकटताको चुनौतिक सामना गर्दै निर्वाचन लक्षित सबै कार्यक्रम अन्तिम चरण पुगेका छन् । मुगु, हुम्ला र डोल्पामा हेलिकप्टर मार्फत निर्वाचन सामाग्री ढुवानी गरिएका छन् । यी जिल्लाका अधिकांश मतदान केन्द्रसम्म निर्वाचन सामाग्री ढुवानी गर्न र मतपेटिका ल्याउन समेत हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता छ । अन्य जिल्लाको तुलनामा विशेष गरी हुम्लाको लिमी क्षेत्र र उपल्लो डोल्पाका अधिकांश स्थानमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ । भौगोलिक विकटताका कारण अधिकांश मतदान केन्द्रका लागि हेलिकप्टरकै सहायता लिनुपर्ने बाध्यता रहेको हो ।

निर्वाचनलाई लक्षित गर्दै मतदान सामग्री, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी ओसारपोसार गर्न हेलिकप्टरकै भर पर्नुपर्ने स्थिती रहेको डोल्पाका जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले बताए । उनका अनुसार भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नैपर्ने बाध्यता छ । उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्धका बस्तीहरूमा सडक पहुँच नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । पैदल हिँड्दा धेरै दिन लाग्ने भएकाले हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था आएको हो । मतदान सामग्री समयमै सुरक्षित रूपमा मतदान केन्द्रमा पु¥याउन र कर्मचारीको आवतजावत सहज बनाउन हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ । केहि दिन लगाएर मान्छे विस्तारै पैदल आउजाउ गरे पनि मतपेटिका ओसारपोसार गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने भएको हो ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार