सुर्खेत । यही फागुन २१ गते अर्थात बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन हुदैछ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गए राति १२ः०० बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि प्रारम्भ भएसँगै सबै प्रकारका चुनावी प्रचारप्रसारका गतिविधि निषेध गरिएको छ । निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

साथै जिल्ला आचारसंहिता अनुगमन समितिलाई आवश्यक जनशक्ति तथा संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिन र उल्लंघन भएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ । निर्वाचन आचारसंहिताले मौन अवधिभर कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । यही सन्दर्भमा निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिता अक्षरशः पालना गर्न पुनः स्मरण गराएको छ ।
दल र उम्मेदवारका लागि यो अवधि आफ्नो राजनीतिक संस्कार देखाउने अवसर भएको भन्दै चुनावी प्रतिस्पर्धा अब मतदाताको विवेकमा सुम्पिनुपर्ने आयोगले जनाएको छ । यसैगरी मतदानको मितिभन्दा सात दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
प्रशासनका अनुसार मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन, कूटनीतिक नियोगका सवारी तथा पास प्राप्त सवारीसाधन मात्र सञ्चालनमा रहनेछन् । उक्त व्यवस्था फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नभएसम्म लागू हुनेछ । तर अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने नियमित रूपमा सञ्चालन हुनेछन् । टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर वा होटलसम्म तथा फर्किँदा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको वा निजी सवारीसाधन प्रयोग गर्न दिइने व्यवस्था मिलाइने जनाइएको छ ।
त्यसैगरी निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ बमोजिम निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै व्यवस्था मिलाइनेछ । सोही निर्देशिकाको व्यवस्था अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएका छन् । यसबारे नेपाल सरकार, गृह मन्त्रालयलाई जानकारीका लागि सिफारिस गरिएको छ । यसैबीच प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ को दफा ४३ र ८४ अनुसार मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक सक्कल कागजात साथमा लैजानुपर्ने व्यवस्था छ ।
मतदाता नामावलीमा नाम भएका मतदाताले उल्लेखित कागजातमध्ये कुनै एक लिएर मतदान गर्न पाउने विषयमा सुरक्षाकर्मी, कर्मचारी तथा सरोकारवालालाई सूचना प्रवाह गरी निर्देशन दिइएको छ । यस्तै सवारी साधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा सवारी पास वितरण प्रक्रिया सुरु गरिएको छ ।
स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने
निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सोही अनुसार अब निर्वाचनका दिन स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने भएका छन् । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेको जनाएको छ । मतदाताको सार्थक सहभागिता सुनिश्चित गर्न मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक विदा दिन आयोगले गरेको सिफारिस नेपाल सरकारबाट स्विकृती गरेको छ ।
मतदान प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गर्न आयोगले मतदान केन्द्र कायम गरिएका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत सरकारी संरचना र तिनमा रहेका भौतिक सम्पत्ति फागुन १९ देखि २१ गतेसम्म उपयोग गर्नेछ । यसबारे सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । यस सम्बन्धमा गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पत्राचार भइसकेको उनले बताए ।
‘सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा उपलब्ध गराइनेछ’ उनले भने, ‘यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिइएको छ ।’ साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा सुचारु राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लागिपरेका छन् । दुबै मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक तयारी मिलाउन पत्राचार समेत गरेका छन् ।
आयोगले आवश्यक सहयोग र समन्वयका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । मतदानको प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न-गराउनका लागि तहगत सरकार र सरोकारवालासँगको सहकार्यको अवधारण अनुरुप आयोग अघि बढेको हो ।
कूटनीतिक निकायलाई जानकारी
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र पर्यवेक्षणको व्यवस्थाका सम्बन्धमा काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचन आयोगले जानकारी गराएको छ ।
सो क्रममा छोटो समयमा निर्वाचन तयारी अन्तिम चरणमा पुरÞ्याएकोमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले खुसी व्यक्त गरेका छन् । निर्वाचन तयारीका विविध पक्ष तथा पर्यवेक्षण अनुमतिलगायत बिषयमा उनीहरुबाट जिज्ञासा प्राप्त भएको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले राष्ट्रियतर्फका ३९ वटा र अन्तर्राष्ट्रियतर्फ ४ वटा गरी ४३ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको छ । अनुमति पाएका संस्थाका प्रतिनिधिहरूलाई अभिमुखीकरण सम्पन्न गरी करिब चार हजार पाँच सय जना पर्यवेक्षकका लागि परिचयपत्र जारी भइसकेको छ । यस्तै आम मतदाता तथा सरोकारवालाको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा टेलिफोन र भ्वाइस मेलसमेत गरी चार हजार ३८ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएका छन् । प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ९५८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३८६, मतदाता शिक्षा सम्बन्धित १५७ र अन्य एक हजार १११ रहेका छन् । कूल जिज्ञासामा ४२६ भ्वाइस मेल रहेका छन् ।
आयोगका सचिवको नेतृत्वमा निर्वाचनसम्बन्धी समग्र समन्वय एवम् व्यवस्थापनका लागि केन्द्र स्थापना गरी कार्यान्वयनमा रहेको छ । केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र आयोगका प्रथम श्रेणीका अधिकृतहरुको प्रतिनिधित्व रहेको छ । यस केन्द्रमा नेपाल प्रहरीको सञ्चार उपकरणसहितको टोलीसमेत क्रियाशील छ । केन्द्रले मतपत्र र निर्वाचन सामग्रीको ढुवानीमा सुरक्षा समन्वय, निर्वाचन सुरक्षासम्बन्धी गतिविधि संकलन तथा विश्लेषण, हेलिकप्टर आवश्यक पर्ने मतदान केन्द्रहरुको जिल्लाबाट विवरण लिई एकीकृत गरी सोको परिचालनलगायतका कार्यहरु गरिरहेको छ ।








