२०८३ वैशाख १८ , शुक्रबार

सुरक्षित रुपमा पुगे निर्वाचन टोली, चुनाव गराउन तयारी अवस्थामा



सुर्खेत । यही फागुन २१ गते बिहीबार अर्थात भोली देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुदैछ । निर्वाचनका लागि सबै प्रकारका अन्तिम तयारी सम्पन्न भएको निर्वाचन आयोगले जनाएकोा छ । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका १० जिल्लामा ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र निर्धारण छन् । ती मतदान स्थल र केन्द्रमा निर्वाचनका लागि सुरक्षित रुपमा निर्वाचन सामग्री सहित कर्मचारी तथा सुरक्षार्मीको टोली पुगेको छ । सबै मतदान स्थल र मतदान केन्द्रमा पुगेको निर्वाचन टोली आवश्यक सम्पूर्ण तयारीका साथ चुनाव गराउन तयारी अवस्थामा बसेका छन् ।

कर्णालीका हुम्ला जिल्लाका चार र डोल्पा जिल्लाका २३ वटा मतदान स्थल तथा मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मीको टोली हेलिकप्टरमार्फत पठाइएको हो । भने अन्य सबै मतदान केन्द्र तथा मतदान स्थलमा निर्वाचन टोलीले स्थल मार्ग हुदै सवारी साधानमार्फत निर्वाचन सामाग्री ढुवानी गरेको हो । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार प्रदेशका सबै जिल्लामा निर्वाचनका आवश्यक मतपत्र, मतपेटिका, मतदान अधिकृतका सामग्री तथा अन्य प्राविधिक सामग्रीहरु सुरक्षित रूपमा पुगेका हुन् ।

प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले निर्वाचन सामाग्रीको गुणस्तर सुनिश्चित गरी मतदान प्रक्रिया सहज तथा व्यवस्थित बनाउन आवश्यक प्रबन्ध मिलाईएको जानकारी दिए । सुरक्षासहित निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने निर्वाचन अधिकारी गुरुङले विश्वास व्यक्त गरे ।

सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखिएको भन्दै संयुक्त सुरक्षा गस्ती, मतदान केन्द्रको स्थलगत निरीक्षण तथा संवेदनशील क्षेत्रको पहिचान सम्पन्न गरी आवश्यक रणनीति बनाएर कार्यान्वयन भइरहेको उनले बताए । मतदानमा खटिने कर्मचारीलाई अभिमुखीकरण तथा सुरक्षा व्यवस्थापनका काम पनि सम्पन्न भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिदै अब शानतीपूर्ण रुपमा निर्वाचन गराइने जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नौ लाख आठ हजार ४ सय ३३ मतदाता रहेका थिए । यस पटक एक लाख २८ हजार ८ सय १७ मतदाता थपिएसँगै कुल मतदाता संख्या १० लाख ३७ हजार २ सय ५० पुगेको हो । फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई आधार मानेर अन्तिम मतदाता नामावली तयार पारिएको थियो । कर्णालीका १२ निर्वाचन क्षेत्रबाट १ सय ३२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

हेलिमार्फत कर्मचारी र सामग्री पु¥र्याइयो

हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नं–६ लिमीका तीन मदतान केन्द्रमा हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पु¥र्याइएको छ । सुरक्षाकर्मी सहित कर्मचारी र निर्वाचन सामग्री नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको हो । चार मतदान केन्द्रमा खटिएका १ सय २ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकप्टरमा त्यहाँ पु¥र्याइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । उनका अनुसार कर्मचारी र सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले ती मतदान केन्द्रमा हेलिकप्टरको व्यवस्था गरेको हो । निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत लिमिका तीन मतदान केन्द्र लगिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार निर्वाचन आयोगको अनुमतिपछि नाम्खा गाउँपालिका चार वटा मतदान केन्द्रमा खटिने कर्मचारी, मतपत्र लगाएतका सामाग्रीहरु हेलिकोप्टरले ढुवानी गर्ने काम सम्पन्न भएको छ । यसरी हेलिकोप्टरले मतदान केन्द्रमा सेवा दिने स्थानहरुमा नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका तीन वटा भृकुटी आ.वि जाङ, सुनखानी आ.वि हल्जी, हिमशिखर आ.वि तील र गाउँपालिका–४ को हिमालय आ.वि चाला मतदान केन्द्र रहेका छन् ।

तर त्यस क्षेत्रका अधिकांश मतदाता भने अँझै गाउँ पुगेका छैनन् । भौगालिक कारणले लिमी क्षेत्रका मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अतिसम्वेदनशील स्थलका रुपमा राखेको छ । लिमीको हल्जीमा २ सय ९३, जाङमा २ सय ४७, तीलमा १ सय ३२ र चाला मतदान केन्द्रमा १ सय ५९ मतदाता रहेका छन् । यसैबिच डोल्पाका २३ वटा मतदान केन्द्रमा हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पु¥र्याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन् । उपल्लो डोल्पाका सबै पालिका हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री ढुवानी गरिएको उनको भनाइ छ ।

जिल्लाभर स्थायी र अस्थायी गरी कुल ७० मतदान केन्द्र रहेका छन्, भने ३ सय ८३ कर्मचारी खटाइएका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष ११ हजार ९ सय २८ छन् ।

अतिसंवेदनशील स्थलमा सुरक्षा कडाई

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३ सय ५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार प्रदेशका १० जिल्लामा ३ सय ५९ वटा मतदानस्थल अति संमवेदनशील रहेको पाइएको हो । यस्तै ४ सय २२ वटा संवेदनशील र १ सय ६० वटा सामान्य रहेको उनले जानकारी दिए ।

प्रदेशमा रहेका ९ सय ४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९ सय ५९ वटा मतदानस्थल रहेका छन् । यहाँ एक हजार ४ सय ५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४ सय ४६ वटा मतदान केन्द्र अति संवेदशील रहेका छन् । संवेदशीलमा ६ सय ९७ र सामान्य अवस्थाका २ सय ८४ वटा मतदान केन्द्र रहेका छन् । एउटा मात्र केन्द्र भएको स्थलको संख्या कर्णालीमा ५ सय २५, दुई केन्द्र भए ३ सय ५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको संख्या १२, पाँच केन्द्र भएको स्थलको संख्या एक, ६ केन्द्र भएको स्थल एक रहेको छ । एक केन्द्र भएको अस्थायी स्थलको संख्या १८, थप मतदान केन्द्रको संख्या ४ सय ९६ रहेका छन् ।

कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई÷दुई वटा र अन्य आठ जिल्लामा एक÷एक वटा निर्वाचन क्षेत्र छन् । प्रदेशमा कुल मनदाता संख्या १० लाख ३७ हजार २ सय ५० जना रहेको छ । कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका छन् ।

यस्तो छ, मतदाताको अवस्था

जिल्लागत तथ्यांक अनुसार सुर्खेतमा सबैभन्दा धेरै मतदाता छन् । भने डोल्पामा सबैभन्दा कम मतदाता संख्या रहेको छ । प्रदेश राजधानी सुर्खेत जिल्लामा सबैभन्दा बढी दुई लाख ४८ हजार ९ सय ४३ मतदाता रहेका छन् । यहाँ १ सय ४० मतदान स्थल र ३ सय २ मतदान केन्द्र कायम गरिएको छ । भने डोल्पा जिल्लामा सबैभन्दा कम २४ हजार १ सय १५ मतदाता रहेका छन् । त्यहाँ ६८ मतदान स्थल र ६८ मतदान केन्द्र तोकिएका छन् । दैलेखमा एक लाख ६१ हजार २ सय ४ मतदाता रहेका छन्, भने १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र छन् ।

जाजरकोटमा एक लाख ७० हजार ९१ मतदाता र ८८ मतदान स्थल र १४६ मतदान केन्द्र छन् । यस्तै सल्यानमा एक लाख ६२ हजार ४ सय ४९ मतदाता, १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र छन् । रुकुम (पश्चिम भाग) मा एक लाख ६ हजार ६ सय ६० मतदाता, ७६ मतदान स्थल र १ सय ४० मतदान केन्द्र निर्धारण गरिएको छ । कालिकोटमा ८४ हजार ६ सय ४६ मतदाता, १ सय ३ मतदान स्थल र १ सय २७ मतदान केन्द्र छन् । त्यस्तै जुम्लामा ७१ हजार ७ सय ३९ मतदाता, ८३ मतदान स्थल र १ सय ८ मतदान केन्द्र छन् । मुगुमा ३६ हजा६मतदाता, ६७ मतदान स्थल र ६९ मतदान केन्द्र छन् । भने हुम्लामा ३४ हजार ३ सय २७ मतदाता, ६० मतदान स्थल र ६४ मतदान केन्द्र छन् । प्रदेशभर पुरुष मतदाता पाँच लाख २७ हजार ६ सय ८६ र महिला मतदाता पाँच लाख ९ हजार ३ सय ६१ र अन्य तीन जना रहेका छन् ।

प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार