सुर्खेत । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गरिएको छ । फागुन १८ गते राति १२ बजेदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयन गर्न दलका उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित निकायलाई अनुरोध गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित, मितव्ययी र पारदर्शी बनाउन आचारसंहिताविपरीत गतिविधि नगर्न आग्रह गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार, सभा, सम्मेलन, गोष्ठी, अन्तक्र्रिया र कार्यशाला जस्ता कार्यक्रम गर्न पाइँदैन। साथै मतदान हुने दिनको ४८ घण्टा अगावै मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ। कुनै पनि माध्यमबाट मत माग्ने वा प्रचारप्रसार गर्ने कार्यसमेत निषेध गरिएको उनले बताए । कार्कीका अनुसार हालसम्म जिल्लामा आचारसंहिताविपरीत कुनै अवाञ्छित गतिविधि देखिएको छैन ।








