२०८३ वैशाख १८ , शुक्रबार

कर्णालीमा शान्तीपूर्ण निर्वाचन, ५५ प्रतिशत मत खस्यो



सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका १० वटै जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सकिएको छ । यस पटकको निर्वाचनमा कर्णाली प्रदेशमा कुल ५५.१ प्रतिशत मत खसेको छ । प्रदेशका १० जिल्लामा रहेका ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्र केन्द्रहरूबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कुल १० लाख ४८ हजार १३८ मतदातामध्ये ५ लाख ७७ हजार ५४२ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार शुक्रबार बिहानसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा मत पेटीका ढुवानी कार्य सम्पन्न हुने जनाईएको छ । भने शुक्रबार बिहानैदेखि अधिकांश निर्वाचन क्षेत्रमा मतगणना सुरु गर्ने तयारी छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमा कुल १३२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

प्रदेश निर्वाचन अधिकारी लाल बहादुर गुरुङका अनुसार कुल खसेको मतमध्ये ३ लाख १२ हजार ८४५ महिला, २ लाख ६४ हजार ६९५ पुरुष र २ जना अन्य मतदाता रहेका छन् । प्रदेशभर ९४१ मतदान स्थल र १ हजार ४३७ मतदान केन्द्र गरी कुल २ हजार ३७८ निर्वाचन बुथ केन्द्रमार्फत मतदान भएको थियो । जिल्लागत रूपमा हेर्दा डोल्पामा सबैभन्दा बढी ६५.७३ प्रतिशत मत खसेको छ । त्यस्तै हुम्लामा ६४.५५ प्रतिशत, मुगुमा ६०.५६ प्रतिशत र रुकुम पश्चिममा ५८.४४ प्रतिशत मत खसेको छ । भने जाजरकोटमा ५६.८४ प्रतिशत, जुम्लामा ५६.८८ प्रतिशत मत खसेको छ ।

यस्तै सुर्खेतमा निर्वाचन क्षेत्र १ बाट ५७.०९ र निर्वाचन क्षेत्र २ बाट ५७.४६ प्रतिशत मतदान भएको छ । अन्य जिल्लामा भने तुलनात्मक रूपमा कम मतदान भएको देखिएको छ । दैलेख निर्वाचन क्षेत्र १ बाट ५०.५२ प्रतिशत र निर्वाचन क्षेत्र २ बाट ४८.२४ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै कालिकोटमा ५० प्रतिशत र सल्यानमा ४४.४० प्रतिशत मत खसेको तथ्यांकमा उल्लेख छ । निर्वाचन कार्यालयका अनुसार सबै स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । दुर्गम जिल्लाहरूमा समेत सुरक्षा व्यवस्था मिलाइएपछि मतदाताले उत्साहका साथ मतदानमा सहभागिता जनाएका थिए । मतदान सम्पन्न भएसँगै अब मतपेटिका संकलन तथा मतगणनाको तयारी सुरु गरिएको प्रदेश निर्वाचन अधिकारी गुरुङले बताए ।

जिल्लागत मतादातामध्ये सखेको मत

कर्णाली प्रदेशका कुल मतदातामध्ये पाँच लाख २७ हजार ६८६ पुरुष, पाँच लाख ९ हजार ३६१ महिला र अन्य तीन जना थिए । गत २०७९ को निर्वाचनको तुलनामा एक लाख २८ हजार ८१७ मतदाता थपिएका हुन् । तर कुल खसेको मत प्रतिशत भने अघिल्लो निर्वाचन भन्दा कम छ । जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार ९४३ रहेका थिए । जसमा सुर्खेत निर्वाचन क्षेत्र १ का कुल मतादाता संख्या १ लाख २२ हजार ९०२ रहेकोमा कुल खसेको मत ७० हजार १६७ रहेको छ । यस्तै सुर्खेत निर्वाचन क्षेत्र २ का कुल मतादाता १ लाख २७ हजार ६६८ मा कुल खसेको मत ७३ हजार ३५६ रहेको छ ।

यस्तै दैलेख निर्वाचन क्षेत्र १ का कुल मतादाता ८१ हजार २८७ रहेकोमा कुल खसेको मत ४१ हजार ६९ रहेको छ । भने दैलेख निर्वाचन क्षेत्र २ का कुल मतादाता संख्या ८१ हजार ५०३ रहेकोमा कुल खसेको मत ३९ हजार २३१ रहेको छ । त्यस्तै डोल्पामा २५ हजार ५ मतादाता संख्या रहेकोमा कुल खसेको मत १६ हजार ४३७ रहेको छ । रुकुम पश्चिममा एक लाख ७ हजार ७४८ मतादाता संख्या रहेकोमा कुल खसेको मत ६२ हजार ९६८ रहेको छ । कालिकोटमा ८५ हजार ४४ मतादाता संख्या रहेकोमा कुल खसेको मत ४२ हजार ५२३ रहेको छ ।

यता जुम्लामा ७२ हजार ४४४ मतादाता संख्या रहेकोमा कुल खसेको मत ४१ हजार २०८ रहेको छ । भने मुगुमा ३६ हजार ६०५ मतादाता संख्या रहेकोमा कुल खसेको मत २२ हजार १६८ रहेको छ । सबैभन्दा धेरै प्रतिशत मत खसेको हुम्लामा ३४ हजार ८०५ मतादाता संख्या रहेकोमा कुल खसेको मत २२ हजार ४६७ रहेको छ ।

मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य चयनका लागि बिहिबार बिहान ७ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण तबरबाट सम्पन्न भएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक गतिरोधका बीच २०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्ष अगावै सम्पन्न भएको छ । सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरोधमा उठेको जेन–जी समूहको आवाजलाई सरकारले दवाउन खोजेपछि देश मध्यावधिक निर्वाचनमा धकेलिएको थियो । उक्त आन्दोलनपछि जेन–जीको भावना अनुरुप प्रतिनिधिसभा विघटन गरेर पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वमा अन्तिरिम सरकार गठन भएको थियो ।
कार्की नेतृत्वको सरकारलाई ताजा जनादेशसहित प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने म्याण्डेट थियो । आन्दोलनपछि उत्पन्न परिस्थितीमा निर्वाचन हुने वा नहुने अन्यौलताका बीच एकाध ठाउँ बाहेक सम्पूर्ण क्षेत्रमा शान्तिपूर्ण रुपमा चुनाव गराउन सरकार सफल भएको छ । निर्वाचन सम्पन्न भएसँगै मतगणनाको कार्य सम्पन्न भएको छ ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार प्रदेशभर ५५ दशमलव एक प्रतिशत अर्थात कुल १० लाख ४८ हजार एक ३८ मतदाता मध्ये पाँच लाख ७७ हजार पाँच सय ४२ जनाले भोट हालेका छन् । जसमा महिला तीन लाख १२ हजार आठ सय ४५ र पुरुष दुई लाख ६४ हजार ६ सय ९५ छन् । यसपटकको निर्वाचनमा मतदाताहरु कम उत्साह र बढी उत्सुकताका साथ मतदानमा सहभागी भएका छन् ।
मतदान अवधिभर सुर्खेत–२ का दर्जन बढी मतदान स्थलमा गरिएको स्थलगत रिपोटिङ्गका क्रममा मतपेटिकामा भोट खसालेर फर्किएकाहरु उत्साहितभन्दा पनि भोलि के हुन्छ भन्ने उत्सुकतामा बढी देखिन्थेँ । उनीहरुले विगतमा पनि भोट हालेको सुनाए । तर देशमा विकास भएको तर सुशासन कायम नभएकाले यसपटक पनि ठुलै परिवर्तन हुनेमा मतदाता आश्वस्त देखिएनन् ।

मतगणनाको प्रतिक्षा

मतदान सम्पन्न भएसँगै कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका मतपेटिका संकलन कार्य सुरु भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएसँगै एकिकृत निर्वाचन सुरक्षा योजना अनुरुप मतपेटिका ढुवानीको कार्य सुरु भएको बताए ।

कर्णालीका सुगम जिल्लाका मतदानस्थलबाट गएराति नै मतपेटिका जिल्ला सदरमुकाम ढुवानी भइसकेका छन् । हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पाका उत्तरी क्षेत्रका मतदान स्थलबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर तयारीमा अवस्थामा राखिएको उनले बताए । आज ति क्षेत्रका मतपेटिका एकिकृत गरिने र शुक्रबार हेलिकप्टरबाट जिल्ला सदरमुकाम ल्याइने उनले बताए । प्रहरीका अनुसार मतपेटिका संकलन भएपश्चात सर्वदलिय बैठक पश्चात शुक्रबार बिहानबाट मतगणना सुरु हुनेछ । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले चार मतदान स्थलबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेका बताए । उनले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपश्चात मतगणना सुरु हुने जानकारी दिए ।
यस्तै, हिमाली जिल्ला डोल्पा र मुगुका मतदान स्थलबाट पनि मतपेटिका ढुवानी गर्न हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार