२०८२ चैत १९ , बिहीबार

चुनावी नतिजाको पर्खाइमा मतदाता



प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै देशभरका मतदाताको ध्यान अहिले मतगणनातर्फ केन्द्रित भएको छ । कर्णाली प्रदेशमा पनि मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि अब मत परिणामको पर्खाइ सुरु भएको छ । लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनमा मतदाताले आफ्नो मतमार्फत व्यक्त गरेको जनमतको अन्तिम निर्णय मतगणनाबाट मात्रै स्पष्ट हुन्छ । यस पटक कर्णाली प्रदेशमा कुल ५५.१ प्रतिशत मतदान भएको तथ्यांक सार्वजनिक भएको छ । प्रदेशका १० जिल्लामा रहेका कुल ९४१ मतदान स्थल र एक हजार ४३७ मतदान केन्द्रमार्फत पाँच लाख ७७ हजारभन्दा बढी मत खसेको थियो । कुल १० लाख ४८ हजारभन्दा बढी मतदातामध्ये आधाभन्दा बढीले मताधिकार प्रयोग गर्नु लोकतान्त्रिक सहभागिताको सकारात्मक संकेत हो । तर अघिल्लो निर्वाचनको तुलनामा मत प्रतिशत केही घट्नु भने चिन्ताको विषय पनि हो । यसबारे राजनैतिक दल तथा उम्मेदवारहरु पनि चिन्तित बनेका छन् ।

कर्णाली प्रदेशमा जिल्लागत रूपमा हेर्दा डोल्पा, हुम्ला र मुगुजस्ता हिमाली जिल्लामा अपेक्षाकृत बढी मतदान भएको देखिन्छ । दुर्गम भौगोलिक अवस्था र कठिन पहुँचका बाबजुद ती जिल्लाका मतदाताले देखाएको उत्साह प्रशंसनीय छ । यसको विपरीत केही जिल्लामा भने मतदान प्रतिशत अपेक्षाकृत कम देखिनु मतदाता सहभागिताबारे थप सोच्नुपर्ने संकेत हो । जसमा डोल्पामा सबैभन्दा बढी ६५.७३ प्रतिशत मत खसेको थियो । भने हुम्लामा ६४.५५ प्रतिशत, मुगुमा ६०.५, रुकुम पश्चिममा ५८.४४, जाजरकोटमा ५६.८४ र, जुम्लामा ५६.८८ प्रतिशत मत खसेको हो । सुर्खेत १ बाट ५७.०९ र निर्वाचन क्षेत्र २ बाट ५७.४६ प्रतिशत, दैलेख १ बाट ५०.५२ प्रतिशत र निर्वाचन क्षेत्र २ बाट ४८.२४, कालिकोटमा ५० प्रतिशत र सल्यानमा ४४.४० प्रतिशत मत खसेको तथ्यांकमा उल्लेख छ ।

निर्वाचन कार्यालयका अनुसार सबै स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । दुर्गम जिल्लाहरूमा समेत सुरक्षा व्यवस्था मिलाइएपछि मतदाताले उत्साहका साथ मतदानमा सहभागिता जनाएका थिए । लोकतन्त्रको सुदृढीकरणका लागि मतदाता सहभागिता बढाउनु राज्य, राजनीतिक दल र नागरिक समाज सबैको साझा दायित्व हो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न हुनु अर्को महत्वपूर्ण पक्ष हो । सुरक्षा निकायको सक्रियता, निर्वाचन प्रशासनको तयारी र मतदाताको संयमका कारण कर्णालीका सबै जिल्लामा मतदान प्रक्रिया व्यवस्थित ढंगले सम्पन्न भएको छ ।

विशेषगरी दुर्गम क्षेत्रमा समेत मतपेटिका सुरक्षित रूपमा संकलन र ढुवानी गर्ने व्यवस्था मिलाइनु निर्वाचन व्यवस्थापनको सकारात्मक पक्ष हो । अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित छ । कर्णालीका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कडा प्रतिस्पर्धाका कारण नतिजा कसको पक्षमा जाने हो भन्ने चासो मतदाता, राजनीतिक दल र आम नागरिक सबैमा छ । तर लोकतान्त्रिक अभ्यासमा सबैभन्दा महत्वपूर्ण कुरा परिणामभन्दा पनि प्रक्रियाको निष्पक्षता र पारदर्शिता हो । त्यसैले मतगणना प्रक्रिया पनि पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगले सम्पन्न हुनु आवश्यक छ । निर्वाचन परिणाम जे आए पनि त्यसलाई लोकतान्त्रिक संस्कारअनुसार स्वीकार गर्ने राजनीतिक परिपक्वता दल र उम्मेदवारहरूमा देखिनु जरुरी छ । मतदाताको निर्णय नै अन्तिम निर्णय हो भन्ने मान्यतालाई सबैले सम्मान गर्नुपर्छ । लोकतन्त्रमा निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, नागरिकको विश्वास र सहभागिताको आधार पनि हो । त्यसैले मत परिणामको प्रतीक्षामा रहेका मतदाताको अपेक्षा पनि एउटै छ । जो निर्वाचन निष्पक्ष होस्, मतको सही मूल्यांकन होस् र जनमतको सम्मान होस् भन्ने । कर्णालीको यो निर्वाचनले लोकतान्त्रिक संस्कारलाई अझ बलियो बनाउन मद्दत गरोस् ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार