२०८३ वैशाख १८ , शुक्रबार

कर्णालीका नौ जिल्ला नतिजा नजिक, मुगुमा आजदेखि मतगणना हुँदै



सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका १० वटै जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्नपछि धमाधम मतगणना कार्य जारी छ । सुर्खेत सहित कर्णालीका नौ जिल्लामा जारी मतगणनाको अन्तिम नतिजा आउने तरखरमा छ । तर मुगुमा भने आज शनिबारदेखि मतगणना हुने सुरु हुदैछ । मुगुमा हवाई सेवा माफृत मत पेटिका ढुवानीमा ढिलाई हुदाँ आजदेखि मतगणना सुरु गर्ने तयारी छ । भने डोल्पा र हुम्लामा शुक्रबारभित्रै हवाई सेवा मार्फत मत पेटिका ढुवानी कार्य सम्पन्न गरी मतगणना कार्य सुरु भएको छ ।

कर्णालीका बाँकी सुर्खेत, जुम्ला, दैलेख, कालिकोट, सल्यान, जाजरकोट र रुकुमपश्चिममा शुक्रबार बिहानैदेखि मतगणना कार्य जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका सहायक मतदान अधिकृत प्रेमराज खनियाँका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाका दोल्फु र मुगु मतदान केन्द्रबाहेक सोरू गाउँपालिका र खतेड क्षेत्रका अन्य सबै मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम आइपुगेका छन् ।

निर्वाचन सम्पन्न भएसँगै सुरक्षाकर्मी र कर्मचारीको टोलीले मतपेटिका सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य तीव्र बनाएका छन् । दुर्गम तथा भौगोलिक कठिनाइका कारण मुगुम कार्मारोङका दोल्फु र मुगु केन्द्रका मतपेटिका भने केही ढिला पुग्ने जनाइएको छ । शनिबार दिउसोसम्म सबै मतपेटिका सदरमुकाम पुगेपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने सहायक मतदान अधिकृत खनियाँले जानकारी दिए ।

मुगु जिल्लामा यसपटकको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ । भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा समय लागेको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए । उनका अनुसार ७० मतदानस्थल मध्ये शुक्रबारसम्म ४३ स्थानका मात्र मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्, भने शनिबार दुई स्थानका मतपेटिका सदरमुकाम आइपुग्ने छन् । सडक सञ्जालसँग नजोडिएका केही मतदानस्थलबाट जिल्ला सदरमुकाम हिँडेर आइपुग्न दुई दिन लाग्ने भएकाले मतगणनामा ढिलाइ हुने उनले बताए ।

मतपेटिका संकलनपछि गणना सुरु

उपल्लो डोल्पाका २३ वटैं मतदान केन्द्रबाट हेलिकोप्टरमार्फत मतपेटीका ढुवानी कार्य सम्पन्न भएको छ । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकामा पर्ने ६ वटा मतदान केन्द्रको मतपेटिका शुक्रबार बिहानै गाडीबाट दुनै ल्याइएको थियो । भने त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका, काइके र मुड्केचुला गाउँपालिमा पर्ने ४१ ठाउँको मतपेटिका दुनैस्थित मुख्य निर्वाचन अधिकृको कार्यालयमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरले जानकारी दिए । डोल्पामा स्थायी र अस्थायी गरेर ७० वटा मतदान केन्द्र तोकिएको थियो । भौगोलिक कठिनाइका कारण मतपेटिका ढुवानी गर्न ढिलाइ भएका कारण शुक्रबार रातीदेखि मतगणना सुरु गरिएको उनले बताए ।

उनका अनुसार डोल्पामा ६६.५२ प्रतिशत मत खसेको छ । प्रतिनिधी सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा जिल्लामा कुल २४ हजार ११५ मतदाता रहेका थिए । ती मध्य १६ हजार ४१ मत खसेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार सबै भन्दा बढी मतदाता संख्या रहेको त्रिपुरासुन्दरी नगरपालिकामा चार हजार ८३८ मत खसेको छ । यहाँ ६ हजार ८०५ मतदाता संख्या छ ।

त्यस्तै ठुली भेरीमा तीन हजार ६९३ मत खसेको छ । यहाँ पाँच हजार ४७५ मतदाता रहेका छन् । मुड्केचुला गाउँपालिकामा तीन हजार २८५ मध्ये दुई हजार ३२८ मत खसेको छ । डोल्पोबुद्धमा एक हजार २५३ मध्ये ७६१ मत खसेको छ । शे फोक्सुण्डोमा दुई हजार १३० मा एक हजार ६८ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
जगदुल्लामा एक हजार ७८४ मतदातामध्ये एक हजार १८२, काइकेमा दुई हजार ४०० मतदातामध्ये एक हजार ५८९ मत र छार्का ताङसोङमा ९८३ मतदातामध्ये ५८१ मत खसेको छ ।

यस्तो छ, खसेको मत संख्या

लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्व मानिने निर्वाचनमा कर्णालीका मतदाताले सहभागिता जनाउँदै आफ्नो मताधिकार प्रयोग गरेका छन् । प्रारम्भिक विवरणअनुसार यस पटक प्रदेशभर कुल ५५.१ प्रतिशत मत खसेको छ ।

जसमा कर्णाली प्रदेशका १० जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी ६५.७३ प्रतिशत मत खसेको थियो । भने हुम्लामा ६४.५५ प्रतिशत, मुगुमा ६०.५, रुकुम पश्चिममा ५८.४४, जाजरकोटमा ५६.८४ र, जुम्लामा ५६.८८ प्रतिशत मत खसेको हो । सुर्खेत १ बाट ५७.०९ र निर्वाचन क्षेत्र २ बाट ५७.४६ प्रतिशत, दैलेख १ बाट ५०.५२ प्रतिशत र निर्वाचन क्षेत्र २ बाट ४८.२४, कालिकोटमा ५० प्रतिशत र सल्यानमा ४४.४० प्रतिशत मत खसेको तथ्यांकमा उल्लेख छ ।

बिहीबार भएको मतदानमा मुगुका कुल ६०.५६ प्रतिशत नागरिकले मतदाधिकार प्रयोग गरेका थिए । मुगुमा ३६ हजार ६०५ मतादाता संख्या रहेकोमा कुल खसेको मत २२ हजार १६८ रहेको छ । कर्णालीका ९४१ मतदान स्थल र १ हजार ४३७ मतदान केन्द्रमार्फत मतदान सम्पन्न भएको हो । कर्णालीका कुल १० लाख ४८ हजार १३८ मतदातामध्ये ५ लाख ७७ हजार ५४२ जनाले मतदान गरेका थिए । यस निर्वाचनमा कर्णालीका १२ निर्वाचन क्षेत्रमा कुल १३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । लोकतन्त्रको प्रतिस्पर्धात्मक अभ्यासका रुपमा हेरिने निर्वाचन प्रक्रियामा मतदाताले आफ्नो विवेक प्रयोग गरेर प्रतिनिधि चयन गरीसकेका छन् । तर त्यसैको चुनावीे अन्तिम परिणाम आउन बाँकी छ । मतदान सम्पन्न भइसकेपछि अब सबैको ध्यान मतगणना र अन्तिम परिणामतर्फ केन्द्रित छ ।

 

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार