सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्र मध्ये सात क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा सार्वजनिक मतपरिणाम अनुसार कर्णालीमा कांग्रेसले तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक, नेकपा एमालेले एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक उम्मेदवारले जित निकालेका छन् ।

यस पटकको निर्वाचन रोचकसँगै इतिहाँसिक बनेको छ । अन्तिम मतपरिणाम आएका जिल्लाहरुमा सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोट छन् । जसअनुसार सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विष्णुबहादुर खड्का विजयी भएका छन् । खड्काले २६ हजार आठ सय ९७ मत प्राप्त गरी विजयी हुँदा एमालेका ध्रुवकुमार शाहीले १८ हजार आठ सय ९० मत प्राप्त गरेका छन् । यस्तै, रास्वपाका टेकबहादुर सिंहले १४ हजार सात सय २९ पाएका छन् । नेकपाका जीतबहादुर रानाले २ हजार ८२८ र राप्रपाका रविकिरण हमालले एक हजार ४९ मत पाएका छन् ।
यस्तै, सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित निकालेको छ । रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटा ३० हजार आठ सय ४२ मत प्राप्त गरी नतिजा आफ्नो पक्षमा पार्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार तीन सय ७८ मत प्राप्त गरे । उनीहरु बीचको मतान्तर १४ हजार चार सय ५४ छ । सापकोटाको जितसँगै रास्वपाले कांग्रेस र एमालेको गढ प्रदेश राजधानीमा सानदार झण्डा गाडेको छ ।
यस क्षेत्रमा २०४८ यताका निर्वाचनमा अधिकांश निर्वाचनमा प्रतिपस्र्धी रहने कांग्रेस एमालेको बर्चश्व रास्वपाले तोडेको छ । यस्तै, जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही विजयी भएका छन् । उनले निकट्तम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । शाहीले १४ हजार आठ सय १६ प्राप्त गरि विजयी हुँदा भण्डारीले ११ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् । यो उनको दोस्रो जित हो । उनी गएको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए ।
दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा १२ वर्षपछि नेपाली कांग्रेस–कम्युनिस्टको गढमा प्रवेश गरेको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचन यता कांग्रेसको चुनाव चिह्न रुखमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले यसपटको विषमपरिस्थतिमा बासना थापालाई विजयी बनाएका छन् । कुनै समय कांग्रेसको गढ मानिएको यो क्षेत्रमा गठबन्धन संस्कृतिका कारण हलो र हसियाँ हथौडामा भोट हालेका कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले यसपटक राजनीतिक रूपमा अनुभवी र पाका नेतालाई पाखा लगाउँदै थापालाई सांसद चुनेका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा थापाले १२ हजार तीन सय ७२ मत प्राप्त जित निकालेकी छन् । थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर पाँच सय ७६ छ । थापालाई चुनौती दिएका रास्वपाका नन्दकिशोर बस्नेतले आठ हजार एक सय ५१ मत प्राप्त गर्दा २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले चार हजार दुई सय ५६ मतका साथ लज्जास्पद हार व्यहोरेका छन् ।
दैलेख–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । पोखरेलले १३ हजार आठ सय ८९ मत प्राप्त गर्दै संसद यात्रा तय गरेका हुन् । पोखरेलका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार पाँच सय ५२ मत ल्याएका छन् । पोखरेलले जित निकालेसँगै गएको निर्वाचनमा गठवन्धनका कारण झिनो मतान्तरले हार्न पुगेका पोखरेलले शाहीसँग बदला लिएका छन् ।
तत्कालिन वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार बनेका शाहीले उक्त निर्वाचनमा २० हजार एक सय ८३ मत ल्याएका थिए भने पोखरेलले २० हजार ३० मत पाएका थिए । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् । बुढाले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शक्तिबहादुर बस्नेतलाई हराएका छन् । बुढाले २० हजार एक सय ४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार चार सय सात मत प्राप्त गरी उपविजेता बने । नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार आठ सय ८३ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाए ।
उनी कांग्रेस जाजरकोटका कार्यवाहक सभापति हुन् । कांग्रेसनिकट विद्यार्थी संगठनबाट सक्रिय राजनीतिमा आएका बुढा २०७४ सालमा शिवालय गाउँपालिकाको अध्यक्षमा पराजित बनेका थिए । प्रतिनिधिसभाको निर्वाचनमा कालीकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन् । शाही ११ हजार तीन सय ३० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नागेन्द्र शाहीले १० हजार दुई सय २२ मत ल्याएका छन् ।
जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही विजयी भएका छन् । उनले निकट्तम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । शाहीले १४ हजार आठ सय १६ प्राप्त गरि विजयी हुँदा भण्डारीले ११ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् । यो उनको दोस्रो जित हो । उनी गएको निर्वाचनमा पनि भारी मतान्तरले विजयी भएका थिए ।
ज्ञानबहादुरको इतिहाँसिक जित
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयीले प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक जित हाँसिल गरेका छन् । २०७९ सालमा निर्वाचित भएका शाही पुनः दोस्रो पटक पनि निर्वाचित भएका हुन् । शाही १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका छन् । शाहीका प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका हुन् । २०७९ मा २२ हजार ८१९ मत पाएका शाहीले दोस्रो पटक १४ हजार ८१६ मत प्राप्त गर्न सफ भएका हुन् ।
विगतमा प्रतिनिधिसभा सदस्य नदोहो¥याउने जुम्लाले यस पटक भने सांसदमा शाहीलाई दोहो¥याएको छ । जुम्लामा शाहीले इतिहास रचेका छन् । दुई पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजय प्राप्त गर्दै शाहीले इतिहास रचेका हुन् । जुम्लामा २०५६ देखि २०७९ सम्मको निर्वाचनमा एक पटक भन्दा कोहि पनि सांसद दोहोरिएका छैनन् ।
नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ७ हजार १४३ मत ल्याउदाँ नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले ४२१ म्त ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीले ४००, प्रगतिशिल लोकतान्त्रिक पार्टीले ११३, नेपाल जनता पार्टीले ४३, नेकपा माओवादीले ७० र स्वतन्त्र उम्मेदवार भक्त रावलले १४ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।
जुम्लाका ७१ हजार ७३९ मतदातामध्ये ४० हजार ८९७ मत खसेको थियो । जसमा महिला तर्फ २१ हजार १८५ र पुरूष तर्फ १९ हजार ७१२ मत खसेको छ । समानुपातिक ४१ हजार ६३१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लामा ५७ प्रतिशत मत खसेको हो । जुम्लामा एक हजार ७०५ मत बदर भएको छ ।
पहिलो प्रयासमै बासनाको संसद यात्रा
४५ वर्षीया कांग्रेस नेतृ बासना थापा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । दैलेख निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी बासनाले पहिलो पटक प्रतिनिधिसभाको यात्रा तय गरेकी हुन् । शुक्रबार राति सम्पन्न मतगणनाअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पराजित गर्दै बासना विजयी भएकी हुन् । बासनाले १२ हजार ३७२ मत प्राप्त गर्दा शर्माले ११ हजार ७९६ मत पाए । यस्तै, तेस्रो स्थानमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ७ हजार ८९४ मत ल्याएका थिए । भने नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले जम्मा ४ हजार १०९ मत मात्रै पाए ।
पुराना र अनुभवी नेताहरू रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापासँग प्रतिस्पर्धा गर्न बासनाका लागि यो चुनाव निकै चुनौतीपूर्ण थियो । त्यस्तै रास्वपाबाट उम्मेदवार बनेका बस्नेतसहित यी तीनै जना नेता कुनै बेला एमालेभित्रका सहकर्मी थिए । अहिले फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिँदा एमालेको मत विभाजित भएको हो, जसको प्रत्यक्ष फाइदा उठाउन कांग्रेस नेतृ बासना सफल भइन् ।
दैलेख सदरमुकाम स्थित होटेल पार्किङकी सञ्चालक समेत रहेकी बासना २०७४ सालमा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन् । तर त्यो बेला झिनो मतले उनी पराजित भइन् । नेविसंघको राजनीतिबाट उदाएकी उनी काठमाडौँमै जन्मेर हुर्केकी हुन् । नेपाली सिने जगत्की लोकप्रिय नायिका विपना थापाकी बहिनी उनी विवाहपश्चात् दैलेखमा सक्रिय राजनीतिमा क्रियाशिल थिइन् ।
उनी दैलेख कांग्रेसभित्र चिनिएकी महिला नेतृ हुन् । विगतमा कांग्रेसले दैलेखमा गरेको विकासलाई नै आफ्नो चुनावी एजेन्डा बनाएकी उनले कांग्रेसको पुरानो विरासत फर्काउने दावी गर्दै आएकी थिइन् । यो क्षेत्रको हालसम्मको विकासमा कांग्रेसको अग्रणी भूमिका पनि छ ।
अर्कोतर्फ, चुनावी मैदानमा एक मात्र महिला उम्मेदवार भएकाले पनि उनीप्रति सबैको सहानुभूति रहेको थियो । त्यसैमा पार्टीको बलियो संगठन नै उनको जितको मुख्य आधार बन्यो ।
यस्तै दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । उनी यसअघि पनि प्रतिनिधिसभामा निर्वाचित उम्मेदवार हुन् । पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाही ६ हजार ७९७ मतमा सीमित भएका छन् । रास्वपाका बखतबहादुर शाहीले भने ६ हजार ७९७ मत मात्रै ल्याएका छन् ।
महेन्द्रबहादुरको ह्याट्रिक यात्रा
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा नेता महेन्द्रबहादुर शाही कालिकोटमा आफ्नो विरासत जोगाउन सफल भएका छन् । यस पटकको निर्वाचनमा विजयी भएसँगै उनी प्रतिनिधिसभा सदस्यका लागि ह्याट्रिक जित निकाल्न सफल भएका छन् । तर उनको संसदीय यात्रा भने यो चौथो पटक हो । यसअघि २०७४ मा उनी कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका शाहीले कुल ११ हजार ३३८ मतसहित चुनाव जितेका हुन् ।
उनीसँग प्रतिस्पर्धामा आएका एमालेका नगीन्द्रबहादुर शाही ‘नेशनल’ ले १० हजार ३५२ मत प्राप्त गरेका थिए । नगीन्द्रले ०७९ को चुनावमा पनि महेन्द्रसँग हारेका थिए । यस्तै कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाउँदा विप्लव नेतृत्वको माओवादीबाट उम्मेदवार बनेका महेन्द्रका पूर्व सहकर्मी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चौथोमा सीमित बनेका छन् । उनले ४ हजार ५९९ मत मात्रै पाए । आफूभन्दा जुनिएर नेतासँग प्रतिस्पर्धा मै आउन नसकेर ‘प्रकाण्ड’ को लज्जास्पद हार भएको हो । सधैँ जोखिमलाई जीतमा परिणत गर्ने नेताका रुपमा चिनिएका महेन्द्रबहादुर ०७९ को प्रतिनिधि सभा निर्वाचनमा २३ हजार ७२७ मत ल्याएर विजयी भएका थिए । त्यो बेला नगीन्द्र शाही (एमाले) १६ हजार ७१८ मत मा सिमित रहे ।
यस्तै ०७० को प्रतिनिधिसभा निर्वाचनमा महेन्द्रबहादुरले (माओवादीबाट) १० हजार ९८४ ल्याएर विजयी हुदाँ उनका प्रतिद्धोन्दी भूपेन्द्रबहादुर शाहीले (कांग्रेस) ७ हजार ७५९ मत ल्याएका थिए । त्यो बेला पनि महेन्द्रबहादुरलाई चुनाव जित्न निकै जोखिम थियो । कालिकोटको शीर्षस्थ नेता मानिएका ‘प्रकाण्ड’ सांसद कार्यकाल नसकिँदै (०६९) तिर प्रचण्डसँग असन्तुष्टि जनाएर विप्लवसँगै मूल पार्टी छाडेका थिए ।
०६४ मा झन्डै २७ हजार मतसहित चुनाव जितेका ‘प्रकाण्ड’ जिल्लामा मात्र होइन समग्र कर्णालीमै ठुला नेता कहिलिएका थिए । माओवादी युद्धको एक आधारभूमि मानिने कालिकोटमा शीर्ष नेताले नै मूल पार्टी छाडेपछि कार्यकर्तामा अन्योल थियो, महेन्द्र त्यो बेलासम्म तत्कालीन जनमुक्ति सेना समायोजनमा चित्त नबुझाएर बसेका थिए ।
प्रचण्डले कालिकोटमा आधार क्षेत्र बचाउन भन्दै महेन्द्रलाई मूलधारको राजनीतिमा अघि बढाए । जनमुक्ति सेनामा हुँदा देशका ठुला मोर्चाहरू सफलता पूर्वक लडेका महेन्द्रको त्यसपछि मात्रै पार्टी राजनीतिमा यात्रा तय भयो ।
माओवादी फुटकै बिचबाट ०७० को दोस्रो संविधान सभा चुनाव जितेका महेन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्री बने । त्यही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्दै चर्चामा आए, त्यो पनि उनको निकै जोखिमपूर्ण काम थियो । ०७४ मा प्रदेश सभा झरेका उनी कर्णालीको मुख्यमन्त्री बनेका थिए । नेकपाभित्र कर्णालीका प्रभावशाली नेताका रूपमा उनी चिनिन्छन् ।
शक्तिलाई हराउने खडकबहादुर
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा निर्वाचित भएका छन् । अघिल्ला दुई निर्वाचनमा संघीय संसद्मा प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्न नपाएको कांग्रेसले यसपटक जिल्लाबाट युवा नेता पाएको हो ।
चौथो पटक प्रतिनिधिसभा सदस्य जितको खोजीमा रहेका शक्तिको विजयी यात्रामा खडकले ब्रेक लगाएका छन् । बस्नते यसअघि चारपटक मन्त्री समेत भइसकेका नेता हुन् । २०६४ सालमा समानुपातिक सांसद बनेका शक्ति बस्नेत त्यसयताका निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका थिए ।
यस पटक जाजरकोटबाट प्रमुख तीन दलको खास शक्ति परीक्षणको निर्वाचनका रूपमा थियो । किनभने २०७४ यता सबै दल एक्लाएक्लै चुनावमा होमिएका थिए । नेपाली कम्युनिस्ट पार्टीबाट बस्नेत उम्मेदवार बन्दा कांग्रेसबाट बुढा र एमालेबाट डम्बरबहादुर सिंह उम्मेदवार थिए । सिंह २०७० मा भएको संविधानसभा निर्वाचनमा बस्नेतसँग ५२० मतान्तरले पराजित भएका थिए ।
यसपटकको निर्वाचनमा देशभर रास्वपाको लहर हुँदा पनि जाजरकोटमा भने रास्वपा उम्मेदवारले जमानत जोगाउन सकेनन् । कांग्रेसका बुढाले २० हजार १८२ मत प्राप्त गर्दा दोस्रोमा रहेका नेकपामा बस्नेतले २० हजार १८२ मत ल्याए । तेस्रोमा रहेका एमालेका सिंहले १६ हजार ८८३ र रास्वपाका राघव कार्कीले २ हजार ४७१ मत मात्रै ल्याए ।
लगातार चौथो जितको खोजीमा रहेका नेकपा उम्मेदवार शक्ति बस्नेतको संसदीय यात्रामा ब्रेक लगाउने खडकबहादुर बुढा नेपाली कांग्रेस जाजरकोटका उपसभापति हुन् । सभापति बेदराज सिंह २०७९ को प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएपछि बुढाले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
१३ औं महाधिवेशनबाट नेपाली कांग्रेस जाजरकोटको जिल्ला सचिव भएका उनी २०७८ मा भएको १४ औं महाधिवेशनबाट उपसभापति निर्वाचित भएका थिए । २०४२ साल मंसिर २० गते जाजरकोटको शिवालय गाउँपालिका–९, नाहाडामा जन्मिएका बुढाले संसदीय चुनावमा पहिलो प्रयासमै जित निकालेका हुन् ।








