नेपालमा प्रतिनिधिसभा निर्वाचन स्वच्छ, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । प्रत्यक्षतर्फका अधिकांश निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै देशभर राजनीतिक समीकरण र आगामी सरकार गठनबारे व्यापक चासो देखिएको छ । लोकतान्त्रिक प्रणालीमा जनमतको सम्मान सर्वोपरि हुन्छ । त्यसैले निर्वाचनमार्फत जनताले दिएको मतलाई स्वीकार गर्दै विजयी सबै उम्मेदवारहरूलाई बधाई दिनु लोकतान्त्रिक संस्कृतिको महत्वपूर्ण पक्ष हो। । यस पटकको निर्वाचनले नेपाली राजनीतिमा केही नयाँ संकेतहरू पनि दिएको छ । केही क्षेत्रमा नयाँ शक्ति उदाएका छन् भने कतिपय पुराना दलले अपेक्षाभन्दा कम सफलता पाएका छन् । जनताको मतले राजनीतिक दल र नेताहरूलाई आफ्नो कार्यशैली र नीतिमा पुनर्विचार गर्न प्रेरित गरेको स्पष्ट देखिन्छ । चुनावी परिणाम केवल जित–हारको विषय मात्र होइन, यो जनताको विश्वास र अपेक्षाको प्रतिबिम्ब पनि हो ।

कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र रहेका छन् । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस ५ र नेपाली कम्युनिष्ट पार्टीले समान ४ सिट जितेका छन् । भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान १–१ सिट जितेका छन् । कांग्रेसले मुगु, हुम्ला, दैलेख–१, जाजरकोट र सुर्खेत–१ मा विजय हासिल गरेको छ । यी क्षेत्रमा विजयी उम्मेदवारहरूले स्थानीय जनताको विश्वास जित्दै संघीय संसद्मा कर्णालीको आवाज उठाउने अवसर प्राप्त गरेका छन् । विशेष गरी दैलेख–१ बाट कांग्रेस नेतृ बासना थापाको जितलाई नयाँ पुस्ताको नेतृत्व उदाएको संकेतका रूपमा हेरिएको छ ।
त्यस्तै नेकपाले रुकुम पश्चिम, सल्यान, कालिकोट र डोल्पामा विजय हासिल गर्दै आफ्नो प्रभाव कायम राखेको छ । कालिकोटबाट महेन्द्रबहादुर शाहीको जितले उहाँको राजनीतिक प्रभाव अझै बलियो रहेको संकेत दिएको छ । रुकुम पश्चिममा गोपाल शर्माले बलिया प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजय हासिल गर्नु पनि उल्लेखनीय घटना बनेको छ । सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाको फराकिलो मतान्तरसहितको जितले कर्णालीमा नयाँ राजनीतिक शक्ति प्रवेश गरेको संकेत दिएको छ । कर्णालीबाट रास्वपाका तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा प्रवेश गर्ने उनी पहिलो नेता बनेका छन् । यसले आगामी दिनमा नयाँ राजनीतिक शक्ति विस्तारको सम्भावनालाई पनि उजागर गरेको छ । त्यसैगरी दैलेख–२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी हुँदै पार्टीले कर्णालीमा आफ्नो खाता खोलेको छ । जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले लगातार दोस्रो पटक जित हासिल गर्दै स्थानीय राजनीतिक इतिहासमा नयाँ अध्याय थपेका छन् ।
निर्वाचन परिणामले देखाएको अर्को महत्वपूर्ण पक्ष भनेको जनताले विकास, सुशासन र उत्तरदायित्वप्रति बढी सचेत हुँदै मतदान गरेको तथ्य हो । कर्णाली जस्तो भौगोलिक रूपमा विकट र विकासका दृष्टिले पछाडि परेको प्रदेशका नागरिकहरूले आफ्नो प्रतिनिधिबाट ठोस कामको अपेक्षा गरेका छन् । त्यसैले अब निर्वाचित प्रतिनिधिहरूले चुनावी प्रतिस्पर्धालाई पछाडि राख्दै जनताको भरोसा पूरा गर्ने जिम्मेवारी बहन गर्नुपर्छ । लोकतन्त्रमा निर्वाचन केवल सरकार गठनको माध्यम मात्र होइन, यो जनताको आवाज सुन्ने र त्यसअनुसार नीति निर्माण गर्ने प्रक्रिया पनि हो । त्यसैले विजयी उम्मेदवारहरूले दलगत स्वार्थभन्दा माथि उठेर समग्र कर्णाली र देशको हितलाई प्राथमिकता दिन आवश्यक छ । विकास, सुशासन, पारदर्शिता र जनसेवामुखी कार्यमार्फत जनताको विश्वास कायम राख्नु नै अबको मुख्य चुनौती हो । त्यसैले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै मतदान गर्ने मतदाता, चुनावलाई शान्तिपूर्ण बनाउन सहयोग गर्ने सबै पक्ष तथा विजयी उम्मेदवारहरूलाई हार्दिक बधाई छ । जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारी अब निर्वाचित प्रतिनिधिहरूको काँधमा आएको छ । यही विश्वासका साथ कर्णालीको समृद्धि र देशको लोकतान्त्रिक भविष्य अझ सुदृढ होस् भन्ने हाम्रो सम्पादकीय टिम कामना गर्दछ ।






