२०८३ वैशाख १८ , शुक्रबार
जसले गर्दैछन् संसदमा प्रतिनिधित्व

कर्णालीमा पुराना दललाई दबाउदै रास्वपाको ऐतिहासिक प्रवेश



सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णालीमा १२ निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक मतपरिणाम अनुसार १२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस ५ सिट जित्दै कर्णालीबाट प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने पहिलो दल बनेको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीले ४ सिट जितेको छ । भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान १-१ सिट जितेका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएका १२ निर्वाचन क्षेत्रमध्ये मुगु, हुम्ला, दैलेख–१, जाजरकोट र सुर्खेत–१ मा कांग्रेसले जित हात पारेको छ । भने नेकपाले रुकुमपश्चिम, सल्यान, कालिकोट र डोल्पामा जितेको छ । यस्तै रास्वपाले सुर्खेत–२, राप्रपाले जुम्ला र एमालेले दैलेख–२ बाट खाता खोलेका छन् ।

उम्मेदवारहरुले प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्दै आफ्नो राजनीतिक यात्रामा अर्को उपलब्धि थपेका हुन् । यसरी विजयी भएका उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक जीवनमा नयाँ अध्याय थप्दै प्रतिनिधिसभामा कर्णालीको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । विजयी भएका उम्मेदवारहरूले आ–आफ्नो राजनीतिक यात्रामा नयाँ इतिहाँस पनि लेखाएका छन् । पहिलो पटक संसद् यात्रा तय गर्नेदेखि ह्याट्रिक जित निकाल्ने सम्मका उपलब्धिसहित उनीहरूले आ–आफ्नो क्षेत्रमा इतिहास रचेका हुन् ।
सापकोटाको चमत्कारीक जित

सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेशकुमार सापकोटाले चमत्कारीक जित निकालेका छन् । पहिलो पटक निर्वाचन लडेका उनले कांग्रेस, एमाले जस्तो बलियो दलका उम्मेदवारलाई भारी मतले पराजित गरेका हु्न । सापकोटाले ३० हजार ८ सय २६ मत ल्याएर विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नारायणकुमार कोइरालाले १६ हजार ३ सय ९२ मत ल्याए । भने एमालेका कुलमणि देवकोटाले १३ हजार १ सय ५५ मत मात्रै प्राप्त गरे ।

रास्वपाबाट कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्येमा निर्वाचित हुने सापकोटा एकमात्र उम्मेदवार पनि हुन् । सल्यानबाहेक अन्य क्षेत्रमा रास्वपा दोस्रो स्थानमा समेत आएको छैन । संसदीय यात्रामा रास्वपाबाट प्रत्यक्षतर्फ चुनाव जितेर कर्णालीबाट प्रतिनिधिसभा प्रवेश गर्ने सापकोटा पहिलो व्यक्ति हुन् । उनी रास्वपा सुर्खेत जिल्ला सभापति समेत हुन् ।

सुर्खेत नेकपा एमाले र नेपाली कांग्रेसको बलियो किल्ला मानिन्छ । यहीँबाट कांग्रेसका नेताहरू पार्टीको शीर्ष स्थानमा मात्र नभई संसदीय राजनीतिमा पनि हाबी हुँदै आएका थिए । पूर्णबहादुर खड्काले कांग्रेसको कार्यवाहक सभापति हुँदै दर्जनौँ साना–ठुला मन्त्रालयको नेतृत्व गरिसकेका छन । हृदयराम थानी, शिवराज जोशी जस्ता प्रभावशाली नेताहरू पनि केन्द्रमै मन्त्री भइसकेका छन् । यता, एमालेभित्र यामलाल कँडेल हाल केन्द्रीय सचिव र कर्णाली प्रदेशका मुख्यमन्त्री छन् भने नवराज रावत स्वास्थ्य राज्यमन्त्रीसम्म बनेका थिए । सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा २०४८ सालदेखि यिनै दुई दलबिच कडा प्रतिस्पर्धा हुँदै आएको थियो। कहिले एमालेले त कहिले कांग्रेसले चुनाव जित्ने गरेका थिए । सशस्त्र युद्धबाट आएको नेकपा माओवादी केन्द्र यहाँ तुलनात्मक रूपमा कमजोर छ । २०६४ सालको संविधानसभा निर्वाचनमा तीन क्षेत्र हुँदा एउटा सिट जिते पनि त्यसपछि माओवादीले यहाँ सफलता हात पार्न सकेको छैन ।

तर, यसपटकको प्रतिनिधिसभा निर्वाचनमा यी पुराना र स्थापित दलहरूलाई चकित पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ । सुर्खेत क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटा अत्यधिक मतका साथ विजयी भएका हुन् । दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेत–२ राजनीतिको केन्द्रबिन्दु हो । प्रदेश राजधानी वीरेन्द्रनगरसहित पश्चिमका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिका यसै क्षेत्रमा पर्छन् । जहाँ राजधानी वीरेन्द्रनगर विकासको अग्रस्थानमा छ, त्यहीँ पश्चिम क्षेत्र भने अझै पनि दुर्गमता र विकासको पर्खाइमा छ ।

दुई फरक जीवनशैली र अवस्था रहेको यस क्षेत्रका नागरिकले नयाँ दललाई अनुमोदन गर्लान् भन्ने कांग्रेस–एमालेले कल्पनासम्म गरेका थिएनन ्। किनकि, वडादेखि केन्द्रसम्मै यहाँ यिनै दुई दलका प्रतिनिधिहरूको बाहुल्यता छ । र उनीहरूका आफ्नै बलिया कोर एरियाहरू छन् । तर, रास्वपाका सापकोटाले आश्चर्यजनक रूपमा जित निकालेपछि सबैतिर चर्चा भएको छ । यही क्षेत्रबाट एमालेले मुख्यमन्त्री पाएको छ, भने वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख पनि एमालेकै छन् । भने चुनाव जितेका रमेशलाई कांग्रेस र एमालले प्रतिस्पर्धी नै ठानेका थिएनन् ।

पोखरेलको दोस्रो पटक संसद यात्रा

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा शुन्य बनेको नेकपा एमालेले यस पटक कर्णालीबाट खाता खोलेको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका हुन् । उनी यसअघि पनि प्रतिनिधिसभामा निर्वाचित उम्मेदवार हुन् । पोखरेल १३ हजार ८ सय ८९ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिक्पालकुमार शाही ६ हजार ७ सय ९७ मतमा सीमित भए । शाही २०७९ को निर्वाचनमा विजयी भएका थिए । यस्तै रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७ सय ९७ मत मात्रै प्राप्त गरेका छन् ।

ज्ञानबहादुरको इतिहाँसिक जित

जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक जित हाँसिल गरेका छन् । २०७९ सालमा निर्वाचित शाही पुनः दोस्रो पटक चुनाव जित्नु सफल भएका हुन् । विगतमा प्रतिनिधिसभा सदस्य नदोहो¥याउने जुम्लाले यस पटक भने सांसदमा शाहीलाई दोहो¥याएको छ । जुम्लामा शाहीले इतिहास रचेका छन् । दुई पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजय प्राप्त गर्दै शाहीले इतिहास आफ्नो पोल्टामा पारेका हुन् । जुम्लामा २०५६ देखि २०७९ सम्मको निर्वाचनमा एक पटक भन्दा कोहि पनि सांसद दोहोरिएका छैनन् ।

शाहीले १४ हजार ८ सय १६ मत प्राप्त गर्दै विजयी हुदाँ निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरे । ०७९ मा २२ हजार ८ सय १९ मत पाएका शाहीले दोस्रो पटक १४ हजार ८ सय १६ मत प्राप्त गर्न सफल भए । कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १ सय ४३, एमालेका शान्तिलाल महतले ४ हजार ५ सय १८ र रास्वपाकी विनिता कठायतले ४ सय २१ मत प्राप्त गरेका छन् ।

निर्वाचित ५ कांग्रेस सांसद

कर्णालीमा कांग्रेसले जितेका ५ निर्वाचन क्षेत्रमध्ये सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भए । उनी नेकपा एमालेका उम्मेदवार ध्रुवबहादुर शाहीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । खड्का २६ हजार ८ सय ९७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार ८ सय ९० मत प्राप्त गरे । सुर्खेत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरीले १४ हजार ७ सय २९ मत प्राप्त गरे । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाले दुई हजार ८ सय २८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठुकरीले एक हजार ४९ मत प्राप्त गरेका छन् ।

यस्तै, ४५ वर्षीया कांग्रेस नेतृ बासना थापा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । दैलेख निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार बासनाले पहिलो पटक प्रतिनिधिसभाको यात्रा तय गरेकी हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीन्द्रराज शर्मालाई ५ सय ७६ मतान्तरले पराजित गर्दै बासना विजयी भएकी हुन् ।

बासनाले १२ हजार ३ सय ७२ मत प्राप्त गर्दा शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गरे । यस्तै रास्वपाका नन्दकिशोर बस्नेतले ७ हजार ८ सउय ९४ मत ल्याए । भने नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले जम्मा ४ हजार १ सय ९ प्राप्त गरे । पुराना र अनुभवी नेताहरू रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापासँग प्रतिस्पर्धा गर्न बासनाका लागि यो चुनाव निकै चुनौतीपूर्ण थियो । रास्वपाबाट उम्मेदवार बनेका बस्नेतसहित यी तीनै जना नेता कुनै बेला एमालेभित्रका सहकर्मी थिए । अहिले फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिँदा एमालेको मत विभाजित भएको हो, जसको प्रत्यक्ष फाइदा उठाउन कांग्रेस नेतृ बासना सफल भइन् ।

यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा निर्वाचित भए । अघिल्ला दुई निर्वाचनमा संघीय संसद्मा प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्न नपाएको कांग्रेसले यसपटक जिल्लाबाट युवा नेता पाएको हो ।

चौथो पटक प्रतिनिधिसभा सदस्य जितको खोजीमा रहेका शक्तिको विजयी यात्रामा खडकले ब्रेक लगाइदिएका छन् । बस्नेत यसअघि चारपटक संघीय सरकारमा मन्त्री समेत भइसकेका छन् । यस पटक जाजरकोटबाट प्रमुख तीन दलको खास शक्ति परीक्षणको निर्वाचनका रूपमा थियो । किनभने २०७४ यता सबै दल एक्लाएक्लै चुनावमा होमिएका थिए । नेपाली कम्युनिस्ट पार्टीबाट बस्नेत उम्मेदवार बन्दा कांग्रेसबाट बुढा र एमालेबाट डम्बरबहादुर सिंह उम्मेदवार थिए ।

यसपटकको निर्वाचनमा देशभर रास्वपाको लहर हुँदा पनि जाजरकोटमा भने रास्वपा उम्मेदवारको जमानत समेत जफत भएको छ । कांग्रेसका बुढाले २० हजार १ सय ८२ मत प्राप्त गर्दा दोस्रोमा रहेका नेकपामा बस्नेतले २० हजार १ सय ८२ मत ल्याए । एमालेका सिंहले १६ हजार ८ सय ८३ र रास्वपाका राघव कार्कीले २ हजार ४ सय ७१ मत मात्रै ल्याउन सफल भए ।

लगातार चौथो जितको खोजीमा रहेका नेकपा उम्मेदवार शक्ति बस्नेतको संसदीय यात्रामा ब्रेक लगाउने खडकबहादुर बुढा नेपाली कांग्रेस जाजरकोटका उपसभापति समेत हुन् । यस्तै, हुम्लाबाट कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन् । कांग्रेसका रोकाया ८ हजार ७ सय ९६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले ७ हजार २ सय ४३ मत प्राप्त गरे । एमालेका दल फडेराले ४ हजार ३ सय ३१ र रास्वपाका टासी ल्हाजोमले १ हजार मत प्राप्त गरे ।

त्यस्तै, मुगुमा कांग्रेस उम्मेदवार खड्ग शाहीले ७ हजार ९ सय १४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धोन्दी एमालेका पूर्ण बहादुर रोकायाले ६ हजार ७ सय १८ मत, नेकपाका चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ र रास्वपाका भुवन टमटाले ५ सय ३० मत ल्याउन सफल भए ।

नेकपाले जितेका ४ क्षेत्र

कर्णालीमा नेकपाले जितेका ४ निर्वाचन क्षेत्रमध्ये कालिकोटबाट कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका नेकपा नेता महेन्द्रबहादुर शाही विजयी भएका छन् । यस पटकको निर्वाचनमा विजयी भएसँगै उनी प्रतिनिधिसभा सदस्यका लागि ह्याट्रिक जित निकाल्न सफल भएका हुन् । तर उनले संसदीय यात्रा भने यो चौथो पटक हो ।

यसअघि २०७४ मा कर्णाली प्रदेश सभा सदस्यमा उनी निर्वाचित भएका थिए । शाहीले कुल ११ हजार ३ सय ३८ मतसहित चुनाव जित्दा उनका निकटतम प्रतिद्धोन्दी एमालेका नगीन्द्रबहादुर शाही ‘नेशनल’ ले १० हजार ३ सय ५२ मत प्राप्त गरे ।
कांग्रेसका हर्षबहादुर बमले ७ हजार १ सय ३३ मत पाउँदा विप्लव नेतृत्वको माओवादीबाट उम्मेदवार बनेका महेन्द्रका पूर्व सहकर्मी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चौथोमा सीमित बने । उनले ४ हजार ५ सय ९९ मत ल्याएर आफूभन्दा जुनिएर नेतासँग प्रतिस्पर्धा मै आउन नसकी लज्जास्पद हार व्यहोर्नुपरेको छ ।

यस्तै, रूकुम पश्चिममा जनार्दन शर्माको जीतको यात्रामा ब्रेक लगाउँदै गोपाल शर्मा विजयी भएका छन् । नेकपाका उम्मेदवार गोपालले २१ हजार ६ सय ९ मत ल्याउदाँ जनार्दनले भने नेकपा एमालेसँग गठबन्धन गर्दा पनि तोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । उनले १४ हजार ३ सय ४६ मत मात्रै प्राप्त गरे । उनी भन्दा अगाडि १६ हजार ६ सय ६१ मत ल्याउँदै नेपाली कांग्रेसका राजु केसी दोस्रो स्थान दर्ज भए ।

यता, हिमाली जिल्ला डोल्पामा नेकपा उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् । ६ हजार ८ सय २ मत ल्याएर उनी विजयी भएका हुन् । एमालेका उम्मेदवार लंकबहादुर रोकायले ५ हजार ३९६ मत ल्याउँदा कांग्रेस उम्मेदवार कर्णबहादुर बुढाले २ हजार ९ सय ४७ मत प्राप्त गरे । भने रास्वपा उम्मेदवार देवसिंह ऐडीले १ सय ८१ र राप्रपा उम्मेदवार हरि प्रसाद डाँगीले ९२ मत मात्रै प्राप्त गरे ।

त्यस्तै, सल्यानबाट नेकपा उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित भएका छन् । २३ हजार १ सय ८९ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धोन्दी रास्वपाका ललित कुमार चन्दले २० हजार ९ सय ४ मत प्राप्त गरे । कांग्रेसका केश बहादुर विष्ट १७ हजार ५ सय ५८ मत र एमालेका गुलाब जंग शाहले १५ हजार ३ सय ७३ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार अनिषा नेपालीले ९ सय २ मत मात्रै प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार