सुर्खेत । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीमा एक सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई निर्वाचन क्षेत्रमा पहिलो दल बनेको छ । सुर्खेत क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार रमेशकुमार सापकोटाले अप्रत्याशित र ऐतिहासिक जित हासिल पारेका थिए । भने सुर्खेत–२ र सल्यान निर्वाचन क्षेत्रमा रास्वपा पहिलो दल बनेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अनुसार कर्णालीका यी दुई क्षेत्रमा रास्वपा पहिलो दल बनेको हो ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार समानुपातिकतर्फ पहिलो दल बनेको रास्वपाले सुर्खेत–२ मा ३३ हजार ६९९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १४ हजार ३२० मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ । भने नेकपा (एमाले) ले १२ हजार ६२, नेपाली कम्युनिष्ट पार्टीले चार हजार २८९ र श्रम संस्कृति पार्टीले दुई हजार २७१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १२५ मत प्राप्त गरी क्रमश तेस्रो, चौथो र पाँचौँ बनेका छन् ।
सूचना अधिकारी चौलागाईंले दिएको जानकारी अनुसार सुर्खेत–२ मा एक लाख २८ हजार ४६७ कूल मतदाता रहेका थिए । जसमा यो क्षेत्रमा ७३ हजार ११३ मत खसेको थियो । ७० हजार ४४२ मत सदर हुँदा दुई हजार ६७१ मत बदर भएको थियो । भने समानुपातिकतर्फ सो क्षेत्रमा ५७ दलहरूले भाग लिएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तै, सल्यानमा प्रत्यक्षतर्फको निर्वाचनमा दोस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक तर्फ भने पहिलो दल बनेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्वपाले २५ हदार ६६५ मत प्राप्त गरेको हो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रतयक्षतर्फ निर्वाचन जितेपनि समानुपातिकतर्फ भने २० हजार ३२९ मतसहित दोस्रो भएको छ ।
यस्तै, तेस्रोमा नेपाली कांग्रेसले १६ हजार ०६१ मत ल्याएको छ । भने नेकपा एमाले १४ हजार ९२ मतसहित चौथो स्थानमा सिमित भएको छ । २०७९ को निर्वाचनमा जिल्लामै पहिलो भएको एमाले यस पटक चौैथोमा सिमित भएको हो । जिल्लामा समानुपातिक एक लाख ६२ हजार ५४५ मतदाता रहेका थिए । जसमा ८३ हजार ८२५ मत खसेको थियो । कुल तीन हजार ३५ मत बदर हुँदा ८० हजार ७९० मत मात्र सदर भएको थियो । प्रत्यक्षतर्फ नेकपाका रमेश कुमार मल्ल २३ हजार १८९ मत ल्याएर निर्वाचित भएका छन् ।
मल्लका निकटतम प्रतिद्धन्दि राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरे । यस्तै, नेपाली कांग्रेसका केश बहादुर विष्ट १७ हजार ५५८ र नेकपा एमालेका गुलाब जंग शाह १५ हजार ३७३ मतमै सिमिति रहे । राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गरिन् । एक लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा ८३ हजार १६७ मत खसेको थियो ।
प्रत्यक्षतर्फ निवाचित ४७ वर्षीय रमेश कुमार मल्ल विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका नेता हुन् । २८ माघ २०३५ मा सल्यानको कुमाख गाउँपालिका ५, बाल्लेमा जन्मिएका मल्ल पछिल्लो तीन दशकदेखि राजनीतिमा क्रियाशील छन् । २०५० सालमा उनले तत्कालीन माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका थिए ।
यता सुर्खेत–२ मा नेपाली कांग्रेस र नेकपा एमालेका बलिया उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै राजनीतिक वृत्तमा नयाँ सन्देश दिएका रमेशकुमार सापकोटा ३० हजार ८२६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नारायणकुमार कोइराला (नेपाली कांग्रेस)ले १६ हजार ३९२ मत ल्याए, भने कुलमणि देवकोटा (नेकपा एमाले) ले १३ हजार १५५ मतमा सीमित भए ।
कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये रास्वपाबाट निर्वाचित हुने सापकोटा एकमात्र उम्मेदवार बनेका छन् । सल्यानबाहेक अन्य क्षेत्रमा रास्वपा दोस्रो स्थानमा समेत आउन सकेन । प्रत्यक्षतर्फ चुनाव जितेर कर्णालीबाट प्रतिनिधिसभा प्रवेश गर्ने रास्वपाका उनी पहिलो व्यक्ति हुन् । सापकोटा रास्वपा सुर्खेत जिल्ला सभापति समेत हुन् ।
सुर्खेतलाई लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमालेको बलियो किल्ला मानिँदै आएको छ । सुर्खेतका दुई प्रतिनिधिसभा क्षेत्रमा २०४८ सालदेखि कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको थियो । तर यसपटकको प्रतिनिधिसभा निर्वाचनमा यी स्थापित दलहरूलाई चकित पार्दै रास्वपाको उदय भएको छ । सुर्खेत क्षेत्र नम्बर २ बाट सापकोटाले अत्यधिक मतान्तरका साथ जित निकाल्दा पुराना दलहरूको प्रभावलाई चुनौती दिएको विश्लेषण गरिएको छ ।
जुम्लामा नेकपा पहिलो दल
जुम्लामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो दल बन्दा नेपाली कांग्रेस दोस्रो दल बनेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक मत परिणाम अनुसार जुम्लामा नेकपा पहिलो दल बन्दा नेकपा एमाले भने चौथो दलमा सिमिति भएको छ ।
तर २०७९ को निर्वाचनमा १० हजार ४७६ मतसहित कांग्रेस पहिलो दल बनेको थियो । भने १० हजार ४४८ मत ल्याएर एमाले दोस्रो बनेको थियो । यस पटक नेकपाले सबैभन्दा धेरै १० हजार २०२ मत प्राप्त गर्दै पहिलो दल बनेको छ । भने नेपाली कांग्रेसले नौ हजार ३६० मत प्राप्त गर्दै दोस्रो स्थानमा सिमित छ । यस्तै ६ हजार ५५२ मत सहित राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो भन्दा नेकपा एमाले ६ हजार २९ मतमा सिमित भएर चौथो स्थान झरेको हो ।
२०७९ मा पाँच हजार ७९६ मत प्राप्त गरेको राप्रपाले यस पटक थप मत बढाउँदै तेस्रो दल बनेको हो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ११८ मत प्राप्त गरेको छ । जहाँ २०७९ को निर्वाचनमा रास्वपाले ८९९ मत मात्रै ल्याएको थियो । २०७९ मा हाल नेकपा तथा तत्कालिन माओवादी केन्द्रले ८ हजार ९६० र समाजवादीले दुई हजार ६४८ प्राप्त गरेका थिए ।
यस पटकको निर्वाचनमा जुम्लाबाट समानुपातिकतर्क जनता समाजवादी पार्टी, नेपालले १५९ मत, नेपाल मजदुर किसान पार्टीले एक हजार ४९१ मत, जनमत पार्टीले ४७, राष्ट्रिय जनमोर्चाले ३६ र प्रगतिशील लोकतान्त्रिक पार्टीले २५६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाल लोकतान्त्रिक पार्टीले २०, मंगोल नेशनल अर्गनाइजेशन ६, बहुजन शक्ति पार्टीले चार र नेपाल सद्भावना पार्टीले नौ मत प्राप्त गरेका छन् ।
हुम्लामा बन्यो काँग्रेस पहिलो
हिमाली जिल्ला हुम्लाका समानुपातिक मतगणना हुँदा नेपाली काँग्रेस पहिलो दल बनेको छ । जिल्लाका सात वटा गाउँपालिका र एउटा अस्थायी मतदान केन्द्रमा खसेको समानुपातिक मतको गणना गर्दा काँग्रेस पहिलो दल भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त मतगणनाको विवरण अनुसार नेपाली काँग्रेसले ७ हजार ९१५ मत ल्याएर पहिलो दल भएको छ । त्यसैगरि ६ हजार २३१ मत ल्याएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोस्रो र ५ हजार २८० मत ल्याएर नेकपा एमाले तेस्रो दलका रुपमा रहेको छ ।
विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ३५ मत प्राप्त गरेको छ, भने राप्रपाले २०६ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीले २१४ मत, नेपाल कम्युनिष्ट पार्टी माओवादीले १०५ मत र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरि अन्य ३५ दलले पनि मत प्राप्त गरेका छन् । यी दलहरुले एक देखि ३० वटासम्म मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार समानुपातिकतर्फ २२ हजार ८२५ खसेकोमा २२ हजार ४३२ मत सदर भएको थियो । भने ३८३ मत बदर भएको छ ।








