प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले कर्णालीको राजनीतिक परिदृश्यमा रोचक संकेत दिएको छ । प्रत्यक्षतर्फ केवल एक सिट जिते पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई निर्वाचन क्षेत्रमा पहिलो दल बन्ने परिणामले यहाँको मतदाताको सोचमा क्रमश परिवर्तनको सन्देश दिएको छ । सुर्खेत–२ मा ऐतिहासिक जित र सल्यान तथा सुर्खेत–२ क्षेत्रमा समानुपातिकतर्फ प्राप्त मतले नयाँ राजनीतिक शक्तिप्रति मतदाताको चासो बढ्दै गएको देखाएको छ । सुर्खेत क्षेत्र नम्बर २ मा रास्वपाका रमेशकुमार सापकोटाले हासिल गरेको जित केवल एक उम्मेदवारको सफलता मात्र होइन । यहाँ स्थापित राजनीतिक शक्तिहरूलाई चुनौती दिने संकेत पनि हो । लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमालेको प्रभाव क्षेत्र मानिएको यस ठाउँमा नयाँ दलका उम्मेदवारले भारी मतान्तरसहित जित निकाल्नु सामान्य राजनीतिक घटना भने होइन । यसले आम मतदाताले नयाँ र बैकल्पिक विकल्प खोज्न थालेको संकेत गर्दछ ।

कर्णालीको राजनीति विगत लामो समयदेखि नै कांग्रेस र एमाले केन्द्रित प्रतिस्पर्धामा घुमिरहेको थियो । बीच–बीचमा तत्कालिन नेकपा माओवादी केन्द्रले पनि प्रभाव देखाए पनि सुर्खेतजस्ता क्षेत्रमा परम्परागत दलहरूको प्रभाव कायम रहँदै आएको थियो । तर यसपटकको परिणामले मतदाताले स्थापित दलप्रति मात्र सीमित भरोसा नराखी नयाँ विकल्पलाई पनि अवसर दिन सक्ने संकेत दिएको छ । रास्वपाले प्रत्यक्षतर्फ एक सिट जिते पनि समानुपातिकतर्फ सुर्खेत–२ र सल्यानमा पहिलो दल बन्नु पनि अर्थपूर्ण उपलब्धि हो । यसको अर्थ, मतदाताको एक हिस्सा परम्परागत दलप्रति असन्तुष्ट हुँदै वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भइरहेको छ । विशेषगरी युवापुस्ता र परिवर्तन चाहने मतदाताको समर्थन यसमा देखिएको विश्लेषण गर्न सकिन्छ । यद्यपि, यसलाई स्थायी राजनीतिक परिवर्तनको संकेत मान्न भने अझै हतार हुने अनुमान छ । २०७९ को निर्वाचनमा कर्णालीमा परम्परागत दलहरू कांग्रेस, एमाले र नेकपा नै बलिया थिए । तर यस पटक पुराना दललाई चुनाव जित्न निकै कडा प्रतिस्पर्धा गर्नुपर्र्यौ । रुकुम नेकपा अहिले पनि निकै बलियो देखिन्छ । भने कांग्रेस, एमाले धेरै जिल्लामा दोस्रो वा तेस्रो शक्तिका रूपमा देखिन्छ । तर रास्वपाले उल्लेख्य मत प्राप्त गर्दै परम्परागत समीकरणलाई चुनौती दिएको छ । कर्णालीका मतदाताको प्राथमिकता सडक सञ्जाल विस्तार, गुणस्तरीय स्वास्थ्य सेवा, पहुँचयुक्त शिक्षा, खानेपानी र रोजगारी सृर्जना गर्नुपर्नेमा स्पष्ट छ ।
कर्णालीका अधिकांश निर्वाचन क्षेत्रमा पुराना दलहरू नै विजयी भएका छन् । यसले यहाँको राजनीतिक संरचना अझै पनि परम्परागत दलहरूकै वरिपरि केन्द्रित रहेको देखाउँछ । तर नयाँ शक्तिले सीमित भए पनि प्रभावकारी उपस्थिति जनाउन थालेको भने स्पष्ट छ । यस अवस्थामा रास्वपाका लागि चुनौती पनि उत्तिकै ठूलो छ । मतदाताले दिएको समर्थनलाई केवल असन्तुष्टिको मतको रूपमा मात्र नराखी व्यवहारिक काममार्फत विश्वासमा बदल्नुपर्ने आवश्यकता छ । संसद् पुगेका प्रतिनिधिले सुशासन, पारदर्शिता र जनताका मुद्दामा प्रभावकारी आवाज उठाउन सके मात्र यस्तो समर्थन दीर्घकालीन राजनीतिक आधारमा रूपान्तरण हुन सक्छ । अर्कोतर्फ, पुराना राजनीतिक दलहरूले पनि यो परिणामबाट पाठ सिक्नुपर्ने अवस्था छ । यदि उनीहरूले जनअपेक्षालाई समयमै सम्बोधन गर्न सकेनन् भने भविष्यमा यस्ता नयाँ शक्तिहरूका लागि अझ ठूलो राजनीतिक स्थान खुल्न सक्छ । यस अर्थमा कर्णालीमा रास्वपाले जितेको एक सिटभन्दा ठूलो कुरा मतदाताले दिएको सकरात्मक सन्देश हो । त्यो सन्देश स्पष्ट गरेको छ, जहाँ राजनीतिमा विकल्पको खोजी सुरु भइसकेको छ । अब त्यसलाई कसले कसरी सम्बोधन गर्छ ? त्यसले नै भविष्यको राजनीतिक दिशा तय गर्नेछ ।








