२०८३ वैशाख ३ , बिहीबार

राष्ट्रिय पार्टी बने ६ राजनितिक दल ६१ दलले थ्रेसहोल्ड कटाएनन्



सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बनेका छन् । भने निर्वाचनमा सहभागि ६१ द्यलले थ्रेसहोल्ड नै कटाएनन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार समानुपातिकतर्फ रास्वपा सहित अन्य ६ दलले थ्रेसहोल्ड कटाएका हुन् । नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले उल्लेख्य मत प्राप्त गर्दै सजिलै थ्रेसहोल्ड पार गरेको हो । यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) र श्रम संस्कृति पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कुल एक करोढ पाँच लाख ४९ हजार ९८३ मतगण्ना गर्दा थ्रेसहोल्ड कटाउने दलहरुमध्ये रास्वपाले ४७.९० प्रतिशत अर्थात ५० लाख ५३ हजार २४४ मत प्राप्त गरेको छ । भने कांग्रेसले १६.२५ प्रतिशत अर्थात १७ लाख १४ हजार ६१८ मत प्राप्त गरेको छ । एमालेले १३.५६ प्रतिशत अर्थात १४ लाख ३० हजार ६३२ मत प्राप्त गरेको छ । भने नेकपाले ७.४० प्रतिशत अर्थात सात लाख ८० हजार ३१० मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

यस्तै, श्रम संस्कृति पार्टीले ३.५० प्रतिशत अर्थात तीन लाख ६९ हजार ४६२ र राप्रपाले ३.१० प्रतिशत अर्थात तीन लाख २७ हजार ८७ मत प्राप्त गरेको छ । २७५ सदस्य प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पाउन १८४ सिट ल्याउनुपर्छ । अहिलेसम्मको अवस्थामा हेर्दा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ सिट पाउने देखिन्छ । त्यो आधारमा हेर्दा रास्वपा दुई तिहाई नजिक पुगेपनि पुग्न सकस परेको छ ।
प्रतिनिधिसभामा दुई तिहाइ मतको विशेष महत्व छ । संवैधानिक पदाधिकारीहरू विरुद्धको महाभियोगको प्रस्ताव र कारबाही, संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाइ बहुमतले निर्णय गर्छ । तर त्यसका लागि प्रतिनिधिसभाको दुई तिहाइले मात्रै पुग्दैन, राष्ट्रिय सभाको पनि दुई तिहाइ बहुमत आवश्यक पर्छ । निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरण अनुसार यसपालि ५८ प्रतिशत मात्रै मत खसेको हो । कुल मतदाता एक करोड ८९ लाख ३ हजार ६७८ छन् । त्यसमध्ये एक करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो । यो भनेको ५८ प्रतिशत हो ।

तर आयोगका सूचना अधिकारी सुमन घिमिरे हरेक निर्वाचनको ट्रेन्ड हेर्ने हो भने ६० प्रतिशतको हाराहारीमै मत खसेको उल्लेख गदै यसपालि पनि करिब ६० भन्न मिल्ने बताउँछन् । आयोगको तथ्यांक हेर्ने हो भने २०७९ सालमा ६१ प्रतिशत मत खसेको थियो । त्यसअघि २०७४ सालमा ६८ प्रतिशत र २०७० मा भएको संविधान सभा निर्वाचनमा ७८ प्रतिशत मत खसेको थियो । त्यसअघि संविधान सभा निर्वाचनमा २०६४ सालमा ६१ प्रतिशत, त्यसअघि २०५६ सालमा ६५ प्रतिशत, २०५१ सालमा भएको मध्यावधिमा ६१ प्रतिशत र २०४८ सालमा ६५ प्रतिशत मत खसेको देखिन्छ । यो निर्वाचनमा मतदान कम हुनुको कारणबारे निर्वाचन आयोगले समीक्षा गर्ने सूचना अधिकारी घिमिरेले बताए ।

कसरी हुन्छ सिट बाँडफाँट ?

सबैभन्दा पहिले सबै दलले प्राप्त गरेको मतलाई जोडेर कुल सदर मत निकालिन्छ । त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मत कुल सदर मतको कति प्रतिशत छ भनेर निकालिन्छ । हालसम्म गणना भएकोमध्ये दलहरुले पाएको परिणामलाई नै अन्तिम मान्ने हो भने ६ वटा दलले ती प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेको देखिन्छ । सातौँ नम्बरमा रहेको जसपा र त्यसभन्दा थोरै मत प्राप्त गर्ने दलको त्योभन्दा कम प्रतिशत हुन आउँछ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले कुल सदर मतको तीन प्रतिशतभन्दा कम मत ल्याउनेलाई समानुपातिक सिट बाँडफाँट नगर्नेगरी थ्रेसहोल्ड निर्धारण गरेको छ । यस अनुसार ती दललाई प्राप्त सदर मत सिट बाँडफाँट प्रक्रियामा समावेश हुँदैन । अब प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले व्यवस्था गरे अनुसार ’परिणाम विभाजक सूत्र’ प्रयोग गरेर प्रत्येक दलले प्राप्त गरेको सिट बाँडफाँट गरिन्छ । पहिलो चरणमा सम्बन्धित दलले पाएको मतलाई भाजकले भाग गरेर पहिलो चरणको सिट संख्या निर्धारण गरिन्छ । हालसम्म रास्वपाले पाएको मत अनुसार पहिलो चरणमा रास्वपाले ५७ सिट प्राप्त गर्ने देखिन्छ ।

त्यसैगरी, कांग्रेसले पाएका मत अनुसार १९ सिट, एमालेले १६ सिट, नेकपाले ८ सिट, श्रम संस्कृति पार्टीले चार र राप्रपाको तीन सिट प्राप्त गर्ने देखिन्छ । अब दलहरूले पहिलो चरणमा प्राप्त गरेको सिट जोड्दा १०७ सिट हुन आउँछ । ११० मध्ये बाँकी तीन सिटलाई जुन दलको धेरै मत बाँकी रहेको छ त्यसमा मध्ये पहिलो क्रमबाट एक/एक सिट बाँडफाँट गर्दै जाने व्यवस्था छ ।

बाँकी तीन सिटमध्ये नेकपा, राप्रपा र रास्वपालाई १/१ सिट थपिने अनुमान छ । यसरी थपिएमा समानुपातिकतर्फ रास्वपाले ५८ सिट, कांग्रेसले १९ सिट, एमालेको १६ सिट, नेकपाले ९ सिट तथा श्रम संस्कृति र राप्रपाको ४÷४ सिट प्राप्त गर्ने देखिन्छ । यो परिणाम प्राप्त मतको आधारमा हो । अन्तिमसम्मको मतगणनाले यसमा केही फरक पार्नसक्ने सम्भावना हुनसक्छ । प्रतिनिधिसभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिटमा रास्वपासँग एक सिट अपुरो हुने देखिन्छ । स्वतन्त्र उम्मेदवार महाविर पुनलाई मिलाउने हो भने प्रतिनिधिसभामा रास्वपाको दुई तिहाइ बहुमत हुने देखिन्छ । त्यसो त, पुनलाई रास्वपाले अघोषित रूपमा निर्वाचनमा समर्थन गरेको थियो ।

यी हुन्, थ्रेसहोल्न नकटाउने दल

निर्वाचनमा सहभागि ६७ राजनैतिक दलहरुमध्ये ३ प्रतिशतको थ्रेसहोल्ड नकटाउने दलहरुमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी र गान्धीवादी पार्टी नेपाल रहेका छन्  । ्यस्तो निर्वाचन आयोगका अनुसार राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल जनता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाली जनता दल, बहुजन शक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, मधेशी जनअधिकार फोरम, मधेश, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीले पनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेनन् ।

त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालका लागि नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, मितेरी पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, पिपुल फष्र्ट पार्टी, नेपाली जनश्रमदान संस्कृति पार्टी, राष्ट्रिय उर्जाशील पार्टी, नेपाल, संयुक्त नागरिक पार्टी र जय मातृभूमि पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड नकटाएको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार