प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै आगामी संसद्को नयाँ राजनीतिक समीकरण स्पष्ट हुन थालेको छ । मत परिणामले देशको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन आएको संकेत गरेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा ठूलो शक्ति बनेर उदाएको छ, भने परम्परागत दलहरूको शक्ति उल्लेख्य रूपमा घटेको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा करिब ५७ सिट प्राप्त गर्ने देखिएपछि उसले प्रतिनिधिसभामा कुल १८२ सिट पु¥याउने निश्चित जस्तै भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ । यस हिसाबले रास्वपा दुई तिहाइ बहुमतबाट मात्र दुई सिट टाढा रहने देखिन्छ । निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग फर्मुला’ अनुसार अहिले प्राप्त मतका आधारमा गरिएको गणनाले यस्तो संकेत गरेको हो ।

समानुपातिकतर्फ कुल एक करोड सात लाखभन्दा बढी सदर मतमध्ये रास्वपाले मात्र करिब ५१ लाख मत प्राप्त गरेको छ, जुन कुल मतको करिब साढे ४७ प्रतिशतभन्दा बढी हो । यो परिणामले मतदाताको ठूलो हिस्सा परिवर्तनको पक्षमा उभिएको सन्देश दिएको छ । तर यति ठूलो जनसमर्थन प्राप्त गर्नु र त्यसलाई व्यवहारमा रूपान्तरण गर्नु फरक विषय हुन् । अन्य दलहरूको अवस्था भने यसपटक निकै कमजोर देखिएको छ । दोस्रो ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट पाउने अनुमान छ, भने प्रत्यक्षतर्फ १८ सिट जितेको छ । यसरी प्रतिनिधिसभामा कांग्रेसको कुल ३८ सिट हुने देखिन्छ, जुन अघिल्लो प्रतिनिधिसभाको ८९ सिटको तुलनामा निकै कम हो । नेकपा (एमाले) को अवस्था पनि उस्तै कमजोर बनेको छ । एमालेले समानुपातिकबाट १६ सिट र प्रत्यक्षबाट नौ सिट जित्दै कुल २५ सिटमा सीमित हुने देखिन्छ । अघिल्लो प्रतिनिधिसभामा ७९ सिट रहेको एमाले यसपटक झण्डै तेब्बरले घटेको अवस्थामा पुगेको छ । नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकबाट नौ सिट र प्रत्यक्षबाट आठ सिट जित्दै कुल १७ सिट पाउने देखिएको छ । यस्तै, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ चार–चार सिट प्राप्त गर्ने देखिन्छ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीको कुल सात सिट हुनेछ भने राप्रपाको कुल पाँच सिट हुने अनुमान छ । यसपटकको निर्वाचनले केही नयाँ राजनीतिक शक्ति पनि जन्माएको छ । चार महिना अघि मात्र गठन भएको श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको मान्यता पाउने गरी मत प्राप्त गर्नु आफैँमा रोचक राजनीतिक घटना हो । त्यसैगरी, केही स्थापित दल भने यसपटक संसदबाट बाहिरिनुपर्ने अवस्थामा पुगेका छन् । जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले न प्रत्यक्षतर्फ सिट जित्न सके, न त समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड नै पार गर्न सके ।
यसरी हेर्दा आगामी प्रतिनिधिसभामा ६ वटा दलले मात्रै समानुपातिक प्रणालीबाट सिट पाउने छन् । तीमध्ये पाँच दल पुरानै हुन् भने श्रम संस्कृति पार्टी नयाँ दलका रूपमा उदाएको छ । तर निर्वाचन परिणामले दिएको सबैभन्दा ठूलो सन्देश भनेको जनताको अपेक्षा हो । मतदाताले परिवर्तन चाहेको संकेत दिएका छन् । उनीहरूले राजनीतिक दलहरूलाई अवसर दिएका छन्, तर त्यो अवसर सधैँका लागि होइन । अब चुनाव जितेका दलहरूका लागि वास्तविक परीक्षा सुरु भएको छ । जनताले दिएको विश्वासलाई सुशासन, पारदर्शिता, विकास र जनजीवनसँग जोडिएका ठोस काममार्फत प्रमाणित गर्न सके मात्र लोकतन्त्रप्रति जनविश्वास बलियो बन्नेछ । अन्यथा चुनावी उत्साह केही समयमै निराशामा बदलिन पनि सक्छ । त्यसैले अहिले सबैभन्दा ठूलो चुनौती भनेको चुनाव जित्नु होइन, जनताको भरोसा जोगाउँदै परिणाममुखी काम गरेर देखाउनु हो । लोकतन्त्रको सार पनि अन्ततः त्यही हो ।








