सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको सामूहिक बलात्कारपछि विभत्स रूपमा हत्या गरिएको आफन्तको दाबी छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै पीडित परिवारले राज्यसँग न्यायको माग गरेका छन् । बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरी इनिसा विकको घटनालाई करिब एक हप्ता पुग्न लाग्दा पनि अनुसन्धानको ठोस नतिजा सार्वजनिक नभएको भन्दै पीडित परिवार, आफन्त तथा अधिकारकर्मीहरू आन्दोलित भएका हुन् । घटनाप्रति कर्णाली प्रदेशसँगै देशभरका अधिकारवादी संघसंस्थाहरूले पनि गम्भीर चासो व्यक्त गरेका छन् ।

बुधबार सुर्खेत र काठमाडौंमा जुलुस निकाल्दै उनीहरूले गम्भीर र निष्पक्ष अनुसन्धानको माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । उक्त घटनालाई अत्यन्त दुःखद, अमानवीय र निन्दनीय भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन उनीहरूले जोड दिएका छन् । यसैबीच, दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध दलित अधिकारकर्मी तथा युवाहरूले राजधानी काठमाडौंमा खबरदारीसहित प्रदर्शन गरेका छन् । देशभर दलित समुदायमाथि हुने हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै उनीहरूले पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका हु्न् ।
बुधबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले मृतक इनिसाको आत्माको शान्तिका लागि दीप प्रज्वलनसमेत गरेका थिए । प्रदर्शनका क्रममा ‘महिला हिंसा अन्त्य गर’, ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘सरकार बदलियो, समाज बदलिएन’, ‘महिला शोषणविरुद्ध एक हौं’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो । भने सुर्खेतमा समेत चर्को विरोध जुलुस निकालिएको थियो ।
प्रदर्शनमा सहभागी अभियान्ता अनिता नेपालीले सडक आन्दोलनमा सँगै रहेका नेताहरू अहिले संसद् र सरकारमा पुगेको उल्लेख गर्दै दलित समुदायमाथि हुने हिंसा र विभेद अन्त्यका लागि गम्भीर भएर काम गर्नुपर्ने बताइन् । यता प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । तर हालसम्म घटनाको पूर्ण विवरण सार्वजनिक नभएकाले पीडित परिवार र अधिकारकर्मीहरूले शीघ्र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
प्रहरीले घटनास्थलबाटै हत्यामा संलग्न भएको आरोपमा एक किशोरलाई पक्राउ गरेको थियो । भने पछि थप तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । तर यति गम्भीर घटनामा समेत अनुसन्धान कार्य सुस्त देखिएको पीडित पक्षको आरोप छ ।
प्रशासनको ध्यानाकर्षण
सामूहिक बलात्कारपछि किशोरी इनिसाको विभत्स हत्या गरिएको दाबी गर्दै पीडित परिवार र आफन्तजन आन्दोलनमा उत्रिएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । पीडित परिवारले निष्पक्ष छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा निवेदन समेत बुझाएका छन् । इनिसाका दाजु नाता पर्ने टंक विकले घटनाले परिवारलाई अपूरणीय क्षति पुगेको बताउँदै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।
क्रूर घटनालाई राजनीतिकरण नगरी पीडितलाई न्याय दिन सबै निकाय जिम्मेवार बन्नुपर्ने उनको तर्क छ । पीडित पक्षको मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले घटनाबारे अनुसन्धान जारी रहेको र निष्पक्ष रूपमा सत्यतथ्य सार्वजनिक गरिने बताए । घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको भन्दै दोषी कुनै पनि हालतमा नछुट्ने उनको भनाइ छ ।
इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँ पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् ।
थप अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु भएको देखाए पनि थप अनुसन्धान भइरहेको बताए । सामूहिक बलात्कार भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
उनका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका चारै जना १८ वर्षमुनिका नाबालक रहेका छन् । फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिइएकोे छ ।
डीएसपी बुढथापाले पोस्टमार्टम रिपोर्ट अझै नआएको जानकारी दिँदै रिपोर्ट आएपछि घटनाबारे स्पष्ट निष्कर्षमा पुग्न सहयोग पुग्ने बताए । प्रहरीका अनुसार २३ गते पक्राउ परेका १६ वर्षीय युवकले बयानका क्रममा इनिसासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अन्य तीन जना साथीलाई बोलाएको बताएका छन् । तर मृतकको परिवारले भने सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी जाहेरी दिएका छन् ।
पीडामा परिवार
पारिवारीक स्रोतका अनुसार फागुन २३ गते, शनिबार बिहान ६ बजे इनिसा ‘ट्युसन पढ्न जान्छु भनेर घरबाट निस्किएको जनाइएको छ । इनिसाकी आमा तिला विकले सो दिन शनिबार परेकाले घरबाट नस्किन अनुरोध गरेकी थिइन् । तर इनिसाले छिट्टै आउने भन्दै घरबाट निक्किएकी थिइन् ।
इनिसा वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् । बिहान ८ बजे फर्किसक्ने भनेर घरबाट निस्किएकी छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन् । तर फोन स्वीच अफ थियो । त्यसपछि स्कुल र शिक्षकको पनि फोन उठेन । केही समयपछि बिरानो नम्बरबाट फोन आउपछि आफु ६ वर्षको छोरा च्यापेर हतारिँदै शहीद पार्क पुगेको तिलाको भनाइ छ ।
‘म त्यहाँ पुग्दा इनिसाको शरीर रक्ताम्मे थियो । कपाल लुछिएको, घाँस मडारिएको थियो । एकातिर जुत्ता, अर्कोतिर मोजा थियो’ उनले भनिन्, ’खोल्सातिर सुतेकी इनिसाको शरीरमा कपडा पनि थिएन । शरीर कालो ज्याकेटले छोपेको थियो । त्यो देखेपनि म त्यहीँ बेहास भएछु ।‘
यता, इनिसाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि रोजगारीका लागि दुबईमा छन् । पछिल्लो ६ वर्ष यता दुबईको सेनामा कार्यरत उनी छुट्टिमा घर आएर एक महिना अगाडि मात्रै दुबई गएका थिए । इनिसाका दाजु नाता पर्ने टंक विकले छोरीको मृत्युको खबरले विक्षिप्त बुवा इन्द्रबहादुर पुनः घर फर्किने प्रयासमा रहेपनि मध्यपूर्व क्षेत्रमा जारी लडाइँले दुबईको एयरपोर्ट बन्द हुदाँ उतै अलपत्र परेको बताए । उनका अनुसार घरमा इनिसाकी आमा विक्षिप्त छिन् । भने दुबई एअरपोर्टमा अलपत्र बुवा इन्द्रबहादुर कहिले नेपाल आउने टुंगो छैन ।








