सुर्खेत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा समानुपातिकभन्दा प्रत्यक्षतर्फ बढी मत बदर भएका छन् । सार्वजनिक तथ्यांक अनुसार प्रत्यक्षतर्फ कुल २६ हजार ६१८ मत बदर हुदाँ समानुपातिकतर्फ २२ हजार ८३३ मत बदर भएका छन् । प्रदेशभर प्रत्यक्षतर्फ ५ लाख ६८ हजार २११ मत खसेकोमध्ये ५ लाख ४१ हजार ५९३ सदर हुँदा २६ हजार ६१८ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । यो कुल खसेको मतको करिब ४.६८ प्रतिशत बदर मत हो ।

कार्यालयका अनुसार समानुपातिकतर्फ भने ५ लाख ७७ हजार ६०१ मत खसेको थियो । जसमा ५ लाख ५४ हजार ७६८ सदर हुदाँ २२ हजार ८३३ मत बदर भएका छन्, जुन करिब ३.९५ प्रतिशत हो । यसले कर्णालीमा समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनमा मत बदर हुने दर बढी रहेको देखाउँछ ।जिल्लागत अवस्थालाई हेर्दा सुर्खेत क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ६८ हजार ७१० मत खसेको थियो । जसमा ६६ हजार २२७ सदर हुदाँ दुई हजार ४८३ बदर भएका छन् । भने समानुपातिकतर्फ ६९ हजार २८९ मत खसेकोमा एक हजार ९८२ मत बदर भएका छन् ।
सुर्खेत क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ ७२ हजार १२५ मत खसेकोमा तीन हजार ३५९ बदर भएका छन्, भने समानुपातिकतर्फ ७३ हजार ११३ मतमध्ये दुई हजार ६७१ मत बदर भएका छन् । यस्तै, दैलेख क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ३९ हजार ९०७ मत खसेकोमा दुई हजार ६१ बदर भएका छन् । भने समानुपातिकतर्फ ४० हजार ३६३ मतमध्ये १ हजार ५६५ बदर भएका छन् । दैलेख क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ ३९ हजार ८७३ मत खसेकोमा तीन हजार ३६० बदर भएका छन्, जुन करिब ८.४२ प्रतिशत हो । समानुपातिकतर्फ ४० हजार ७५५ मतमध्ये दुई हजार ८९५ मत बदर भएका छन् ।
जाजरकोट जिल्लामा प्रत्यक्षतर्फ ६१ हजार १२४ मत खसेकोमा तीन हजार ४५६ बदर भएका छन् । समानुपातिकतर्फ ६१ हजार ७२९ मत खसेकोमा तीन हजार ६१८ मत बदर भएको तथ्यांकमा उल्लेख छ ।
सार्वजनिक तथ्यांक अनुसार सल्यान जिल्लामा प्रत्यक्षतर्फ ८३ हजार १६७ मत खसेकोमा तीन हजार ४५८ बदर भएका छन् । भने समानुपातिकतर्फ ८३ हजार ८२५ मतमध्ये तीन हजार ३५ बदर भएका छन् ।
त्यस्तै, रुकुम पश्चिममा प्रत्यक्षतर्फ ६२ हजार ५३९ मत खसेको थियो ।
जसमा तीन हजार १६ बदर भएका छन् । भने समानुपातिकतर्फ ६३ हजार १५२ मत खसेकोमध्ये दुई हजार ३२५ मत बदर भएका छन् । कालिकोटमा प्रत्यक्षतर्फ ४१ हजार ३५० मत खसेकोमा एक हजार ९७३ बदर भएका छन् । समानुपातिकतर्फ ४२ हजार २३७ मतमध्ये एक हजार ८७० मत बदर भएका छन् । त्यस्तै, जुम्लामा प्रत्यक्षतर्फ ४० हजार ८७८ मत खसेकोमा एक हजार ७०५ बदर भएका छन् । समानुपातिकतर्फ ४१ हजार ४५१ म्त खसेकोमध्ये एक हजार ३३२ बदर भएका छन् ।
मुगुमा प्रत्यक्षतर्फ २२ हजार ७१ मत खसेकोमा ८४६ बदर भएका छन् । भने समानुपातिकतर्फ २२ हजार ३१८ मतमध्ये ७०६ मत बदर भएका छन् । डोल्पामा प्रत्यक्षतर्फ १६ हजार १९ मत खसेकोमा ५१३ बदर भएका छन् । समानुपातिकतर्फ १६ हजार ५४४ मतमध्ये ४४१ बदर भएका छन् ।
यता, हुम्लामा प्रत्यक्षतर्फ २० हजार ४४८ मत खसेकोमा ३८८ बदर भएका छन् । समानुपातिकतर्फ २२ हजार ८२५ मतमध्ये ३९३ मत बदर भएका छन् । समग्र तथ्यांकले कर्णाली प्रदेशमा मतदाता सहभागिता उल्लेख्य भए पनि प्रत्यक्षतर्फ मतपत्र बदर हुने दर तुलनात्मक रूपमा बढी रहेको देखाएको छ । निर्वाचनसम्बन्धी सचेतना र मत हाल्ने तरिकाबारे जानकारी अभावले बदर मत बढेको हुनसक्ने विश्लेषण गरिएको छ ।
बदर मत किन बढे ?
कर्णाली प्रदेशमा निर्वाचनका क्रममा बदर मतको संख्या अनपेक्षाकृत बढी देखिएको छ । विशेषगरी प्रत्यक्षतर्फ समानुपातिकको तुलनामा बदर मत बढी हुनुका पछाडि विभिन्न कारणहरू रहेको जिल्ला स्थित निर्वाचन कार्यालयले जनाएका छन् । निर्वाचन कार्यालयहरुका अनुसार मतदाता शिक्षा कार्यक्रम लागु गरिए पनि मतदातामा मत हाल्ने तरिकाबारे पर्याप्त जानकारी नहुनु नै बदर मत बढ्नुको मुख्य कारण मानिएको छ । कतिपय मतदाताले मतपत्रमा सही तरिकाले छाप नलगाउँदा वा एकभन्दा बढी चिन्हमा छाप लगाउँदा पनि मत बदर भएको हो ।
निर्वाचनसम्बन्धी जानकार सरोकारवालाका अनुसार विशेषगरी ग्रामीण क्षेत्रमा मतदान प्रक्रिया सम्बन्धी जानकारी कम हुँदा यस्तो समस्या बढी देखिएको बताइन्छ । तर यस पटकको निर्वाचनमा दुर्गम भन्दा सुगम मानिएका सुर्खेत, रुकुमपश्चिम, दैलेख लगाएतका जिल्लामै बढि मत बदर भएको पाइएको छ ।
त्यसैगरी, प्रत्यक्षतर्फ धेरै उम्मेदवार र चुनाव चिन्ह हुनु पनि बदर मत बढ्नुको अर्को कारण मानिएको छ । मतपत्रमा धेरै चिन्ह हुँदा मतदाताले गल्ती गर्ने सम्भावना बढ्ने गरेको निर्वाचन पर्यवेक्षकहरूको भनाइ छ । मतदान केन्द्रमा पुगेपछि हतारमा मत हाल्ने, मतपत्र मोड्ने तरिका नमिल्नु, वा मतपत्रमा अनावश्यक चिन्ह लगाइनु जस्ता कारणले पनि मत बदर हुने गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईले बताए ।
उनका अनुसार कतिपय अवस्थामा मतदाताले दुई ठाउँमा छाप लगाउँदा वा छाप बाकस बाहिर लाग्दा पनि मत बदर भएका छन् । आगामी निर्वाचनमा सरोकारवालाले मत बदरको संख्या घटाउन मतदान अघि लामो समय व्यापक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंलिएको उनले बताए । मतदातालाई सही तरिकाले मतदान गर्ने तरिका बुझाउन सके बदर मत घटाउन सकिने उनको भनाइ छ ।







