२०८३ जेठ १२ , मंगलबार

जिन एक्स्पर्ट ल्याब स्थापना



हुम्ला । हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पहिलो पटक ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना गरिएको छ। सात वर्षको प्रयासपछि राष्ट्रिय क्षयरोग केन्द्रले उक्त अत्याधुनिक ल्याब जिल्ला अस्पताललाई उपलब्ध गराएको हो ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीका अनुसार लामो समयदेखिको प्रयासपछि यस वर्ष उक्त ल्याब स्थापना गर्न सफल भएको हो । ल्याब स्थापना भएसँगै क्षयरोग पहिचानका लागि खकार परीक्षण सेवा अस्पतालमै सुरु गरिएको उनले बताए । ल्याब सञ्चालन सुरु भइसकेपछि हालसम्म ११ जनाको परीक्षण गर्दा एक जनामा क्षयरोग पुष्टि भएको तिवारीले जानकारी दिए ।

ल्याब सञ्चालनका लागि एक जना स्वास्थ्यकर्मीलाई १५ दिने तालिमका लागि पठाइएको थियो । तालिमपछि ती कर्मचारीले अहिले ल्याब सञ्चालन गरिरहेका छन् । यसअघि हुम्लामा यस्तो सुविधा नभएकाले क्षयरोगको आशंका भएका बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था थियो ।

परीक्षणका लागि मात्र हवाई भाडा लगायत खर्च गर्दा बिरामीले ५० हजार रुपैयाँभन्दा बढी खर्च व्यहोर्नुपर्ने गरेको थियो । अस्पतालमै ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना भएपछि अब हुम्लाका बिरामीले जिल्लामै सहज र निःशुल्क रूपमा परीक्षण तथा उपचार सेवा पाउने भएका छन् ।

अस्पतालका अनुसार परीक्षणका लागि तापक्रम मिलाएर करिब आधा घण्टादेखि एक घण्टासम्म समय लाग्छ । विश्वमै प्रयोग भइरहेको यो अत्याधुनिक ल्याबको मूल्य मात्र करिब ५२ लाख रुपैयाँ रहेको अस्पतालले जनाएको छ ।

केही समयअघि जिल्ला अस्पतालमा बायोकेमिस्ट्री ल्याब पनि स्थापना गरिएको थियो । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यले अस्पतालमा आधुनिक उपकरण जडान गर्ने क्रम जारी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार