२०८३ वैशाख १८ , शुक्रबार

समानुपातिक सांसदको टुंगोपछि आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने



सुर्खेत । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सिट पाएका सबै राजनीतिक दलहरूले उम्मेदवारको नाम निर्वाचन आयोगमा पेश गरेका छन् । दलहरले नाम बुझाएसँगै आयोगले समानुपातिक सांसदको टुंगो लगाएर राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समानुपातिकतर्फ सिट पाएका ६ वटै राजनीतिक दलहरूले आफूले पाएको सिट संख्या अनुसार बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट नाम छनोट गरी आइतबार आयोगमा पेस गरेका हुन् । निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फ सिट बाँडफाँट गर्दै तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी पठाउन पत्राचार गरेको थियो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउने ६ वटा दल—राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ सिट प्राप्त गरेका थिए ।

आयोगका अनुसार यस निर्वाचनमा समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाल कम्युनिस्ट पार्टीले नौ सिट, श्रम संस्कृति पार्टीले चार सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् । दलहरूले पाएको सिटअनुसार आयोगले पत्राचार गरेपछि सबै दलले निर्धारित समयमै उम्मेदवारको नाम बुझाएका हुन् ।

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार प्राप्त नामहरू रुजु गर्ने काम सुरु भइसकेको छ । उनले दलहरूले पठाएका नाम बन्दसूचीमा रहेको समावेशी क्लस्टर अनुसार मिले नमिलेको जाँच भइरहेको जानकारी दिए । यसका लागि ६ वटै दलले नाम पठाइसकेको उल्लेख गर्दै आएका नामहरूको रुजु गरी क्लस्टर मिले नमिलेको यकिन गरेर बाँकी प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

दलहरूले पठाएका नाम समावेशी क्लस्टर अनुसार मिलेको अवस्थामा आयोगले समानुपातिक सांसदको अन्तिम टुंगो लगाएर राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको हो । सहप्रवक्ता जिसीका अनुसार यदि क्लस्टर नमिलेको पाइएमा सम्बन्धित दललाई पुनः पत्राचार गरेर सच्याउन भनिनेछ । भने आयोग सबै प्रक्रिया छिटो टुंग्याउने पक्षमा छ ।

कुन दलले कसलाई छाने सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसद बन्ने चार जनाको नाम टुङ्गो लगाएको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुङ्गो लगाएको हो । समानुपातिक बन्दसूचीमा रहेका चार जनालाई प्रतिनिधिसभा सदस्य पदमा निर्णय सहित सिफारिस गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा र सरस्वती लामा (जनजाति महिला) धादिङ रहेका छन् ।

बैठकले विषम परिस्थीतिमा पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने र ज्ञानेन्द्र शाहीलाई विजयी गराउने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै शाहीलाई बधाई दिने निर्णय समेत गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीबाट सांसद बन्ने चार जनाको नाम टुंगो लगाएको छ । आइतबार समानुपातिक सांसदहरुको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाइसकिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए ।

उनका अनुसार आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बु,खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला, दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुरको नाम आयोगमा पठाइएको हो ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदका लागि नौ जनाको नाम टुंगो लगाएको छ ।

नेकपाका अनुसार खसआर्यतर्फ प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगता समूहबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलित समूहबाट पार्वती बिक र गणेश विश्वकर्मा, तथा थारु समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।
नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूचीको अनुमोदन गरेका हुन् ।

ता, नेकपा एमालेले पनि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको सांसदको नाम टुंगो लगाएको थियो । एमाले नेता निरज आचार्यसहितका नेताहरूले आज निर्वाचन आयोगमा पुगे ती नामसहितको सूची बुझाएका हुन् ।

निर्वाचन आयोगले आजसम्मका डेट लाइन दिएर दलहरूलाई समानुपातिक सूची बुझाउन भनेको थियो । जसमा जनजाति महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ, पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य सिफारिस भएका छन् ।

खस आर्य महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) र पुरुषतर्फ गुरु प्रसाद बराल, पुष्पराज कंडेल, थारुतर्फ कृपाराम राना (पुरुष), दलित महिलातर्फ विष्णुमाया वी.के. र नीता घतानी सिफारिस भएका छन् । भने मधेसी महिलामा रिङ्ला यादव, यशोधा कुमारी यादव, पुरुषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिम महिलातर्फ साजिदा सिद्दीकी सिरफारिस भएका हुन् ।

रास्वपा र कांग्रेसले पनि टुंग्याए समानुपातिक सांसद

रास्वपाले समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीले विभिन्न क्लस्टरअनुसार उम्मेदवार चयन गर्दा केही चर्चित नामहरू सूचीबाट बाहिरिएका छन् भने नयाँ अनुहारहरू समेटिएका छन्। खस आर्यतर्फ १६ महिला र एक पुरुषको सिफारिस गरिएको छ। पुरुषतर्फ पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ मात्र सिफारिसमा परेका छन्। तर दोस्रो र तेस्रो नम्बरमा रहेका सुदीप ढकाल र प्रमोद न्यौपाने सूचीमा अटाउन सकेनन्।

त्यस्तै आदिवासी जनजातितर्फ १३ महिला र तीन पुरुष, मधेसीतर्फ ६ महिला र तीन पुरुष, दलिततर्फ सात महिला र एक पुरुष सिफारिस भएका छन्। थारु समुदायबाट दुई महिला र दुई पुरुष तथा मुस्लिम समुदायबाट तीन महिला सिफारिस गरिएको रास्वपाले जनाएको छ।

यता नेपाली कांग्रेसले पनि समानुपातिकतर्फ प्राप्त २० सिटका लागि सांसदहरूको नाम टुंग्याएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ महिला र पाँच पुरुषको नाम अन्तिम गरेको जानकारी प्रवक्ता देवराज चालिसे ले दिएका छन्।

कांग्रेसले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम क्लस्टरअनुसार प्रतिनिधित्व सुनिश्चित गर्ने गरी नाम छनोट गरेको जनाएको छ। प्रस्तावित नामहरू निर्वाचन आयोगबाट क्लस्टरअनुसार रूजु भएपछि अन्तिम रूपमा कायम हुने बताइएको छ। दुवै दलले सार्वजनिक गरेका सूचीमा महिलाको उल्लेख्य प्रतिनिधित्व देखिएको छ, जसले संसदमा लैंगिक समावेशितालाई बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार