२०८३ वैशाख २२ , मंगलबार

हुलाक सेवाप्रति जनविश्वास बढ्दै, नयाँ प्रविधिसँगै हुलाक सेवामा सुधार



सुर्खेत । कुनै समय सञ्चारको मुख्य आधारका रूपमा रहेको हुलाक सेवा पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै ओझेलमा परेको थियो । तर अहिले भने हुलाक विभागले नयाँ प्रविधि अपनाउँदै सेवाग्राहीको आवश्यकता अनुसार सेवा विस्तार गरेपछि हुलाकप्रति नागरिकको विश्वास पुनः बढ्न थालेको छ । हुलाक निर्देशनालय वीरेन्द्रनगर सुर्खेतका अनुसार परम्परागत सेवा मात्र होइन, आधुनिक र द्रुत सेवाको विकासले हुलाकलाई पुनः विश्वसनीय र उपयोगी बनाएको छ ।

सेवाग्राहीमैत्री सुधारका कारण ग्रामीण तथा शहरी दुवै क्षेत्रमा हुलाक सेवाको प्रयोग बढ्दो क्रममा रहेको हुलाक विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताइन् । वीरेन्द्रनगरमा सम्पन्न हुलाक सेवाको व्यवसाय प्रवद्र्धनसम्बन्धी कार्यक्रम २०८२ को सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन् ।

हुलाक निर्देशनालय वीरेन्द्रनगरद्वारा आयोजित तथा हुलाक सेवा विभागको समन्वयमा सम्पन्न कार्यक्रममा हुलाक क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो । सो अवसरमा महानिर्देशक पंगेनीले प्रविधिमैत्री सेवा विस्तारमार्फत हुलाकलाई प्रतिस्पर्धी बनाउन आवश्यकता रहेको बताइन् ।

‘‘स्मार्ट हुलाक’ अवधारणाअनुसार न्यूनतम मापदण्ड तयार भइसकेको छ, उक्त मापदण्ड कार्यान्वयनको घोषणा गोरखा जिल्ला बाटसुरु गरिएको हो’ उनले भनिन्, ‘यसले हुलाक सेवामा डिजिटल ट्र्याकिङ, छिटो डेलिभरी र सेवाग्राहीमैत्री प्रणाली विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।’

उनका अनुसार हुलाक विभागले विभिन्न प्रकारका सेवा प्रदान गर्दै आएको छ, जसले सर्वसाधारणदेखि व्यवसायिक क्षेत्रसम्मलाई सहजता प्रदान गरेको छ । कार्यक्रमका सहभागीहरूले हुलाक सेवाको परम्परागत भूमिकालाई कायम राख्दै आधुनिक प्रविधिसँग समायोजन गर्नु आजको आवश्यकता भएको निष्कर्ष निकालेका छन् । स्मार्ट हुलाक अवधारणा, डिजिटल ट्र्याकिङ, द्रुत सेवा विस्तार र व्यवसायिक सोचको विकासमार्फत हुलाकलाई पुनः सशक्त र आत्मनिर्भर बनाउनेतर्फ सबै पक्षले सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

हाल हुलाकका सेवाअन्तर्गत साधारण पत्र, बुकपोस्ट, समाचारपत्र, हवाइपत्र तथा साना पाकेटहरू पठाउन सकिन्छ । २० ग्रामसम्मको पत्रका लागि न्यून शुल्क राखिएको छ भने थप तौलअनुसार शुल्क वृद्धि हुन्छ । यस्तै, महत्त्वपूर्ण कागजात सुरक्षित रूपमा पठाउन रजिष्ट्रि सेवा प्रभावकारी मानिएको छ । यस सेवामार्फत पठाइएका पत्रहरूको अभिलेख राखिने तथा ट्र्याकिङ प्रणालीमार्फत अवस्थाबारे जानकारी लिन सकिन्छ ।

हुलाक निर्देशनालयका अनुसार पार्सल तथा पुलिन्दा सेवा पनि थप प्रभावकारी बनेको छ । जसमा दुई केजीदेखि २० केजीसम्मका सामान पठाउन मिल्छ । यो सेवा व्यवसायिक तथा व्यक्तिगत दुवै प्रयोजनका लागि उपयोगी मानिएको हुलाक निर्देशक गोविन्द प्रसाद पाण्डेले बताए । सेवाग्राहीले पार्सलको अवस्थाबारे जानकारी पाउन सक्ने व्यवस्था समेत गरिएको उनको भनाइ छ ।

‘हुलाक टिकटको नियमित बिक्रीसँगै सङ्कलनकर्ताका लागि विशेष फिलाटेलिक सेवा पनि उपलब्ध छ’ उनले भने, ‘द्रुत हुलाक सेवाअन्तर्गत छिटो, सुरक्षित र भरपर्दो रूपमा चिठीपत्र, कागजात तथा पार्सल पठाउन यो सेवा प्रयोग गर्नहोस् । सामान दर्ता भएको दुई दिनभित्र प्राथमिकताका साथ वितरण गरिने व्यवस्था छ ।’

हुलाक निर्देशनालय सुर्खेतले वि.सं. २०७९ असोजदेखि हवाइमार्फत द्रुत सेवा सञ्चालनमा ल्याएको जनाएको छ । यस्तै, एजेन्सी सेवाहरूमा हुलाक कार्यालयहरूले प्रत्यायोजित अधिकारअन्तर्गत विभिन्न सरकारी सेवाहरू पनि प्रदान गर्दै आएका छन् । जसमा सूचनाको हकसम्बन्धी अनुगमन, एफएम रेडियो तथा केबल नवीकरण, सञ्चारकर्मी परिचयपत्र नवीकरण, पत्रपत्रिका दर्ता तथा प्रमाणिकरण र लोककल्याणकारी विज्ञापन सम्बन्धी भुक्तानी र अनुगमन कार्य रहेका छन् ।

व्यवसाय प्रवद्र्धनमा जोड

कर्णाली प्रदेशका सरोकारवाला निकायहरूले हुलाक सेवाको व्यवसायिक प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै यसको आधुनिकीकरण र विस्तारमा जोड दिएका छन् । हुलाक सेवाको व्यवसाय प्रवद्र्धनसम्बन्धी कार्यक्रम २०८२ मा सहभागी वक्ताहरूले प्रविधिमैत्री सेवा विस्तारमार्फत हुलाकलाई प्रतिस्पर्धी बनाउने आवश्यकता औँल्याएका हुन् ।

हुलाक निर्देशनालय वीरेन्द्रनगरद्वारा आयोजित कार्यक्रममा हुलाक निर्देशक पाण्डेले नेपालमा हुलाक सेवाको व्यवसायिक सम्भावना अझै उच्च रहेको उल्लेख गर्दै सेवा विविधीकरण र डिजिटल प्रणालीको प्रयोग बढाउनुपर्ने बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा हुलाक अझै पनि भरपर्दो सञ्चार माध्यमका रूपमा रहेको छ ।

त्यसैगरी सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले हुलाक सेवाको व्यवसायिक प्रवद्र्धनका लागि सरकारी तथा निजी सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले स्थानीय तहदेखि केन्द्रसम्म समन्वय गरेर सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण होमागाईंले लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्दै स्थानीय मिडियालाई सशक्त बनाउन यस्ता विज्ञापनको न्यायोचित वितरण आवश्यक रहेको बताए ।

संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतले हुलाक सेवाको प्रभावकारिता बढाउन सरकारले लगानी वृद्धि गर्ने तयारी गरिरहेको जानकारी दिइन ्। उनले डिजिटल पूर्वाधार विस्तार, जनशक्ति विकास र सेवा विस्तारमा विशेष ध्यान दिइने उल्लेख गरिन् ।

त्यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले हुलाक सेवालाई प्रविधिसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताए । उनले कर्णाली प्रदेशमा विज्ञापन वितरणसम्बन्धी स्पष्ट नीति निर्माण गरिने जानकारी पनि दिए ।

सेवाप्रति बढ्दो विश्वास

सामान्यदेखि अत्यावश्यक सामग्रीसम्म सुरक्षित रूपमा गन्तव्यमा पु¥याउने हुलाकीहरूको समर्पणले हुलाक सेवाप्रति नागरिकको भरोसा अझै बलियो बनाइरहेको छ । नयाँ प्रविधिको प्रयोगसँगै परम्परागत सेवाको संयोजनले हुलाकलाई आजको समयमा पनि अपरिहार्य सेवा बनाइरहेको छ ।

आधुनिक प्रविधिको विकाससँगै विभिन्न कुरियर सेवाहरू विस्तार भइरहेका बेला परम्परागत हुलाक सेवा भने अझै पनि सुरक्षित र भरपर्दो माध्यमका रूपमा स्थापित रहँदै आएको छ । विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा हुलाकीहरूले जोखिम मोलेर पनि सामान र चिठीपत्र सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउँदै आएका छन् ।

हुलाक निर्देशनालय वीरेन्द्रनगरका अनुसार हुलाक सेवामा पछिल्लो समय ट्र्याकिङ प्रणाली, द्रुत सेवा तथा हवाई माध्यमको प्रयोग बढेसँगै सेवा अझ सुरक्षित र प्रभावकारी बन्दै गएको छ । यसले सेवाग्राहीको विश्वाससमेत बढाएको बताइएको छ ।

हुलाकीहरू भौगोलिक कठिनाइ, मौसमको प्रतिकूलता र यातायातको अभावका बाबजुद पनि नागरिकका अत्यावश्यक कागजात, चिठीपत्र तथा पार्सल समयमै पु¥याउन खटिएका हुन्छन् । विशेषगरी कर्णाली जस्ता दुर्गम क्षेत्रमा हुलाकीको भूमिका अझ महत्वपूर्ण मानिन्छ ।

हुलाक सेवाबाट पठाइने रजिष्ट्रि चिठी तथा पार्सलहरू अभिलेख राखेर सुरक्षित रूपमा ढुवानी गरिने भएकाले सरकारी कागजात, शैक्षिक प्रमाणपत्र, बैंकसम्बन्धी कागजपत्र लगायत महत्वपूर्ण सामग्री पठाउन यो सेवा अझ विश्वसनीय मानिएको हो ।

 

प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार