कुनै समय सञ्चारको मेरुदण्ड मानिएको हुलाक सेवा प्रविधिको तीव्र विकाससँगै पछिल्ला वर्षहरूमा ओझेलमा पर्दै गएको यथार्थ हो । डिजिटल युगले सञ्चारका स्वरूपलाई आमूल परिवर्तन गरिरहँदा परम्परागत सेवाहरूको सान्दर्भिकतामाथि नै प्रश्न उठिरहेको थियो । तर, यतिबेला हुलाक सेवाले पुनः जागृत हुने संकेत देखिएको छ । यसको प्रमुख आधार बनेको छ प्रविधिमैत्री रूपान्तरण गरी सेवा दिने कार्य । हुलाक विभागले पछिल्लो समय अपनाएको सुधारमुखी दृष्टिकोण पनि प्रशंसनीय छ । ‘स्मार्ट हुलाक’ अवधारणाअनुसार डिजिटल ट्र्याकिङ, द्रुत डेलिभरी र सेवाग्राहीमैत्री प्रणालीको विकासले सेवाको गुणस्तर मात्र बढाएको छैन, नागरिकको विश्वास पनि पुनः स्थापित गर्न थालेको छ । यो परिवर्तनले फेरी हुलाक सेवा सही दिशाउन्मुख छ । इच्छाशक्ति भए परम्परागत संस्थाहरू पनि आधुनिक प्रतिस्पर्धामा उभिन सक्छन् । सामान्यदेखि अत्यावश्यक सामग्रीसम्म सुरक्षित रूपमा गन्तव्यमा पु¥याउने हुलाकीहरूको समर्पणले हुलाक सेवाप्रति नागरिकको भरोसा अझै बलियो बनाइरहेको छ । नयाँ प्रविधिको प्रयोगसँगै परम्परागत सेवाको संयोजनले हुलाकलाई आजको समयमा पनि अपरिहार्य सेवा बनाइरहेको छ ।

विशेषगरी कर्णाली जस्ता दुर्गम क्षेत्रमा हुलाक सेवा अझै पनि अत्यावश्यक माध्यमका रूपमा कायम छ । यातायात र डिजिटल पहुँच सीमित रहेका भूगोलमा हुलाकीहरूको भूमिका केवल सेवा प्रदायकको होइन, भरोसाको दूतको रूपमा रहँदै आएको छ । यस्तो अवस्थामा प्रविधिको समायोजनले सेवा थप प्रभावकारी, छिटो र पारदर्शी बनाउने अपेक्षा स्वाभाविक छ । तर, चुनौतीहरू अझै बाँकी छन्। निजी क्षेत्रका कुरियर सेवाहरू तीव्र गतिमा विस्तार भइरहेका बेला सरकारी हुलाकले प्रतिस्पर्धात्मक क्षमता विकास गर्नैपर्छ । यसको लागि केवल प्रविधि प्रयोग पर्याप्त हुँदैन । व्यवस्थापन सुधार, जनशक्ति दक्षता, सेवा विविधीकरण र लगानी विस्तार पनि उत्तिकै आवश्यक छन् । हुलाक सेवामा पछिल्लो समय ट्र्याकिङ प्रणाली, द्रुत सेवा तथा हवाई माध्यमको प्रयोग बढेसँगै सेवा अझ सुरक्षित र प्रभावकारी पनि बन्दै गएको छ । यसले सेवाग्राहीको विश्वाससमेत बढाएको छ । हुलाकीहरू भौगोलिक कठिनाइ, मौसमको प्रतिकूलता र यातायातको अभावका बाबजुद पनि नागरिकका अत्यावश्यक कागजात, चिठीपत्र तथा पार्सल समयमै पु¥याउन खटिएका छन् । हुलाक सेवाबाट पठाइने रजिष्ट्रि चिठी तथा पार्सलहरू अभिलेख राखेर सुरक्षित रूपमा ढुवानी गरिने भएकाले सरकारी कागजात, शैक्षिक प्रमाणपत्र, बैंकसम्बन्धी कागजपत्र लगायत महत्वपूर्ण सामग्री पठाउन यो सेवा अझ विश्वसनीय मानिएको हो ।
सरकारले हुलाक सेवामा लगानी वृद्धि गर्ने संकेत दिएको छ, जुन सकारात्मक पक्ष हो । तर, योजना कार्यान्वयनमा रूपान्तरण हुन सकेन भने यस्ता घोषणाहरू केवल औपचारिकतामा सीमित हुने जोखिम रहन्छ । स्थानीय तहदेखि केन्द्रसम्म समन्वय, स्पष्ट नीति निर्माण र उत्तरदायित्व सुनिश्चित नगरी दीर्घकालीन सुधार सम्भव हुँदैन । ‘स्मार्ट हुलाक’ अवधारणाअनुसार न्यूनतम मापदण्ड तयार भइसकेको छ, उक्त मापदण्ड कार्यान्वयनको घोषणा गोरखा जिल्ला बाटसुरु गरिएको हो । यस्तै हुलाक निर्देशनालय सुर्खेतले वि.सं. २०७९ असोजदेखि हवाइमार्फत द्रुत सेवा सञ्चालनमा ल्याएको जनाएको छ । अर्कोतर्फ, हुलाक सेवाको व्यवसायिक सम्भावना अझै ठूलो छ । पार्सल सेवा, फिलाटेलिक सेवा, सरकारी एजेन्सी सेवाहरू तथा डिजिटल सेवाको विस्तारमार्फत हुलाकलाई आत्मनिर्भर र आम्दानीमुखी संस्थामा रूपान्तरण गर्न सकिन्छ । यसका लागि नवप्रवर्तनशील सोच र सार्वजनिक–निजी सहकार्य अनिवार्य छ । हुलाक सेवा केवल चिठीपत्र बोक्ने माध्यम मात्र होइन, यो राज्य र नागरिकबीचको एक भरोसायोग्य माध्ययम पनि हो । यस सेवालाई समयानुकूल बनाउँदै लैजानु आजको आवश्यकता हो । त्यसैले प्रविधिमैत्री सेवा विस्तार, प्रभावकारी व्यवस्थापन र समन्यात्मक प्रयासमार्फत हुलाकलाई पुनः सशक्त बनाउन अब ढिलाइ गरिनु हुँदैन ।








