सुर्खेत । सुर्खेत जिल्लामा एलपी ग्याँस तथा पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले विशेष निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायको अध्यक्षतामा बसेको सरोकारवालाहरूको समन्वय बैठकले ग्याँस वितरणलाई व्यवस्थित बनाउन विभिन्न निर्णयहरू गरेको हो ।

बैठकमा नेपाल आयल निगम, एलपी ग्याँस विक्रेता, उद्योगी व्यवसायी, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उपभोक्ता मञ्च, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । बैठकले हाल जिल्लामा रहेको ग्याँस र पेट्रोलियम पदार्थको मौज्दातको समीक्षा गर्दै वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन जोड दिएको छ ।
निर्णयअनुसार अब ग्याँस विक्रेताहरूले आफूले प्राप्त गरेको र वितरण गरेको परिमाणको दैनिक अभिलेख राख्नुपर्नेछ । साथै, उक्त विवरण प्रत्येक दिन जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, आम उपभोक्तालाई अनावश्यक रूपमा ग्याँस सञ्चिति नगर्न आग्रह गरिएको छ । यसका लागि नेपाल आयल निगम र सञ्चार माध्यममार्फत सचेतनामूलक सूचना प्रवाह गरिने बताइएको छ ।
बैठकले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्ति र भाडामा बस्ने विद्यार्थीलाई ग्याँस वितरणमा प्राथमिकता दिन विक्रेताहरूलाई निर्देशन दिएको छ । उनीहरूलाई न्यूनतम आवश्यक परिमाणमा सहज रूपमा ग्याँस उपलब्ध गराउन विशेष ध्यान दिन भनिएको छ ।
यस्तै, उद्योगबाट वितरण भएको ग्याँस विक्रेताले सही रूपमा बिक्री वितरण गरे–नगरेको, अनावश्यक सञ्चिति तथा मूल्यवृद्धि भएको–नभएको विषयमा नियमित अनुगमन गरिने निर्णय पनि गरिएको छ । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उपभोक्ता मञ्च लगायतका निकायले सूक्ष्म अनुगमन गरी त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई गराउनेछन् ।
प्रशासनले उपभोक्ताको हितलाई ध्यानमा राख्दै बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन र सहज आपूर्ति कायम राख्न सबै पक्षलाई जिम्मेवार ढंगले काम गर्न आग्रह गरेको छ । नेपाल आयल निगमले गरेको निर्णय सबै ग्याँस विक्रेतहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी उपाध्यायले निर्देशन दिए । उनका अनुसार ग्याँस वितरण, यसको मूल्य तथा तौल सम्बन्धमा कुनै गुनासा र समस्या भए जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा जानकारी गराउन सम्बद्ध सबै उपभोक्ताहरुमा अनुरोध गरिएको छ ।
अफवाह नफैलाउन आग्रह
ग्याँस र पेट्रोलियम पदार्थ बिक्रि सम्बन्धि अफवाह नफैलाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिर राज शाहीले आग्रह गरेका छन् । उनका अनुसार नेपाल प्रहरिले सामाजिक सञ्जालमा आउने नकारात्मक, अफवाह फैलाउने सूचनाहरु हटाउन लगाउने र आवश्यक कानूनी कारवाही समेत गर्नेछ । यसबारे निगरानी थालिएको छ ।
पेट्रोलियम पदार्थ खुला बिक्रीमा निषेध
सुर्खेतमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र दुरुपयोग नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप कडाइका उपायहरू लागू गर्ने निर्णय गरेको छ । सरोकारवालासहितको समन्वय बैठकले खुला रूपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार अब कुनै पनि व्यवसायीले खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री गर्न पाउने छैनन् । यसले अवैध कारोबार नियन्त्रण गर्नुका साथै सुरक्षाजन्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी, पेट्रोलियम पदार्थको खरिद–बिक्री गर्ने सबै व्यवसायीले अनिवार्य रूपमा बिल–बिजक जारी गरेर मात्र आपूर्ति गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रशासनले बिलविहीन कारोबारलाई कडाइका साथ नियन्त्रण गर्ने जनाएको छ ।
बैठकले राष्ट्रिय गौरवका तथा विकास निर्माण आयोजनाहरू—जस्तै सडक, सिँचाइ, खानेपानी, विद्युत तथा कृषि क्षेत्रका अत्यावश्यक कार्यका लागि आवश्यक इन्धन सम्बन्धित कार्यालयको सिफारिसमा उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय पनि गरेको छ । यस्ता इन्धनको दुरुपयोग नहोस् भन्ने सुनिश्चित गर्न नेपाल आयल निगम मार्फत आपूर्ति गरिनेछ, भने सम्बन्धित विक्रेताले यसको अभिलेख अनिवार्य रूपमा निगमलाई उपलब्ध गराउनुपर्नेछ ।
यसैबीच, नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय को भण्डारण क्षमता वृद्धि गर्ने कार्यलाई तीव्रता दिने निर्णय गरिएको छ । हाल सुर्खेतमा पर्याप्त भण्डारण सुविधा नहुँदा नेपालगञ्जस्थित डिपोमा रहेको इन्धनमध्ये निश्चित प्रतिशत सुर्खेतका लागि सुनिश्चित गर्न आवश्यक पहल अघि बढाइने जनाइएको छ ।
इन्धन आपूर्तिमा देखिने दबाब कम गर्न प्रशासनले आम उपभोक्तालाई विद्युतीय चुल्हो प्रयोगतर्फ आकर्षित हुन पनि आग्रह गरेको छ । यसले एलपी ग्याँसमा निर्भरता घटाउँदै दीर्घकालीन रूपमा ऊर्जा व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ । प्रशासनले यी निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अनुगमनलाई थप सुदृढ बनाउने जनाएको छ ।
अफवाह फैलाए कारवाही
जिल्लामा एलपी ग्याँस तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनका क्रममा विभिन्न किसिमका अफवाह फैलिन थालेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले त्यस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) सुधिर राज शाहीले ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव सम्बन्धी भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिनु चिन्ताजनक रहेको बताए । यस्ता अफवाहले बजारमा अनावश्यक त्रास सिर्जना गर्नुका साथै उपभोक्तामा कृत्रिम अभावको मनोविज्ञान बढाउने भएकाले त्यसतर्फ सचेत रहन उनले आग्रह गरे ।
उनका अनुसार नेपाल प्रहरीले सामाजिक सञ्जालमा फैलाइने नकारात्मक तथा भ्रामक सूचनामाथि निगरानी सुरु गरिसकेको छ । यसमा अफवाह फैलाउने, भ्रम सिर्जना गर्ने र उपभोक्तालाई भड्काउने सामग्रीहरू हटाउन लगाइनेछ । आवश्यक परे कानुनी कारबाही पनि गरिने एसपी शाहीले चेतावनी दिए ।
प्रहरीले नागरिकलाई आधिकारिक निकायबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न र अफवाह फैलाउने कार्यमा संलग्न नहुन अपिल गरेको हो । साथै, शंकास्पद गतिविधि वा भ्रामक सूचना देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ । प्रशासन र सुरक्षाकर्मीहरूले समन्वयात्मक रूपमा काम गर्दै ग्याँस तथा पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।








