२०८३ वैशाख २२ , मंगलबार
राजमार्ग सुरक्षा गस्ती तीव्र, ट्राफिक सचेतनाबाट ३२ हजार बढी लाभान्वित,

ट्राफिक कारबाहीबाट एक महिनामै १३ लाख बढी राजस्व संकलन



सुर्खेत । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतले फागुन महिनामा सवारी साधनमाथि गरिएको ट्राफिक कारबाहीबाट उल्लेखनीय राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार सो अवधिमा कुल एक हजार ४३१ वटा सवारी साधनमाथि कारबाही गरिएको थियो ।

जसबाट १३ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.का अनुसार फागुन महिनाभर ट्राफिक प्रहरीले ७८ हजार ८३९ वटा सवारी साधनको चेकजाँच गरेको थियो । उक्त अवधिमा बन्द, चक्काजाम, आन्दोलन वा हड्तालजस्ता कुनै गतिविधि नभएको उनले बताए ।

सवारी दुर्घटनातर्फ भने ९३ वटा दुर्घटना भएको तथ्यांक सार्वजनिक गरिएको छ । ती दुर्घटनामा १३१ वटा सवारी साधन संलग्न रहेका थिए । दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ, जसमा सात जना पुरुष र एक जना महिला रहेको सूचना अधिकारी बि.सी ले बताए ।

यस्तै, दुर्घटनामा १६० जना घाइते भएका छन् । घाइतेमध्ये ९३ पुरुष, ४७ महिला, १० बालक र १० बालिका रहेका छन् । तीमध्ये ६४ जनाको अवस्था गम्भीर र ९६ जना सामान्य घाइते भएका थिए । सबै दुर्घटनामा ट्राफिक प्रहरीले सक्रिय रूपमा उद्धार कार्य गर्दै ९३ वटै घटनामा उद्धार गरेको कार्यालयले जनाएको छ ।

यसैबीच, कार्यालयले सवारी दुर्घटनाका प्रमुख कारणसमेत सार्वजनिक गरेको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको देखिएको छ, जसको संख्या ६८ रहेको छ । तीमध्ये तीव्र गति, मापसे, चालकको असक्षमता तथा गलत स्थानमा पार्किङजस्ता कारण प्रमुख रहेका छन् ।

त्यस्तै, सवारी साधनकै कारण ११ वटा दुर्घटना भएका छन्, जसमा मुख्यतया ब्रेक फेल हुने समस्या देखिएको छ । सडक प्रयोगकर्ताको कारणबाट कुनै दुर्घटना नभएको तथ्यांकमा उल्लेख छ भने यात्रु स्वयंको ध्यान नदिँदा एक वटा दुर्घटना भएको छ ।

सडकको अवस्थाका कारण चार वटा दुर्घटना भएका छन्, जसमा उकालो, धुलो तथा सडक निर्माणको प्रभाव देखिएको छ । मौसमका कारण कुनै दुर्घटना नभएको उल्लेख गरिएको छ, भने जनावरका कारण एक वटा दुर्घटना भएको छ, जहाँ बादरले बाटो काट्दा दुर्घटना भएको जनाइएको छ । प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न, सावधानी अपनाउन र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

सुरक्षा गस्तीसँगै सचेतना तीव्र

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतले राजमार्ग सुरक्षा गस्तीलाई तीव्र बनाएको छ । भने ट्राफिक व्यवस्थापन तथा सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ ।

कार्यालयका अनुसार फागुन महिनामा राजमार्ग सुरक्षा गस्ती अन्तर्गत रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोर लगायतका मुख्य राजमार्ग तथा भित्री सडक खण्डहरूमा नियमित गस्ती सञ्चालन गरिएको थियो ।

कार्यालय तथा मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूको नेतृत्वमा ती क्षेत्रमा निगरानी बढाइएको छ । यसै अवधिमा समुदाय तथा विद्यालय केन्द्रित विभिन्न ट्राफिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । तथ्यांक अनुसार विद्यालय तथा कलेजमा ट्राफिक सचेतना कक्षा ५७ पटक सञ्चालन गर्दा पाँच हजार १३ जना लाभान्वित भएका छन् ।

नयाँ चालकलाई लक्षित गर्दै २८ पटक कक्षा सञ्चालन गरिँदा एक हजार ४५६ जना सहभागी भएका थिए । त्यसैगरी, व्यवसायी तथा चालक परिचालकहरूका लागि २४ पटक कार्यक्रम सञ्चालन गरी एक हजार १२८ जनालाई सचेतना प्रदान गरिएको छ ।

स्थानीय टोल समुदायका सर्वसाधारणलाई लक्षित गरी ३८५ पटक कार्यक्रम सञ्चालन हुँदा २२ हजार ३३६ जना लाभान्वित भएका छन् । भने यात्रु तथा पैदलयात्रीहरूका लागि सुरक्षित यात्रा तथा बाटो काट्ने सम्बन्धी ३५ वटा कार्यक्रममार्फत दुई हजार ६३ जनालाई जानकारी प्रदान गरिएको छ ।

यसरी, कुल ५२९ पटक सञ्चालन गरिएका कार्यक्रमबाट ३२ हजार ५६ जना लाभान्वित भएका हुन् । यता, प्रहरी कार्यालयको हेल्पलाइन तथा ड्युटी अधिकृतमार्फत प्राप्त गुनासाहरूलाई समेत सम्बोधन गरिएको छ ।

साथै, कारबाहीमा परेका कागजात, दुर्घटना सिफारिस, छलफल तथा मिलापत्रलगायत सेवाग्राहीहरूको कुल संख्या दुई हजार १३४ जना रहेको कार्यालयले जनाएको छ । प्रहरीले ट्राफिक नियमको पालना, सुरक्षित यात्रा र सचेत व्यवहार अपनाउन सबैमा आग्रह गर्दै राजमार्ग सुरक्षा गस्तीलाई आगामी दिनमा अझ सुदृढ बनाउने जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार