२०८२ चैत १२ , बिहीबार
इनिशा केस सरकारी वकिलमा

मुख्य अभियुक्तविरुद्ध जन्मकैद माग



समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • सुर्खेतमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।
  • मुख्य अभियुक्त एक किशोरविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जन्मकैद माग गरिएको छ भने अन्य तीन किशोरमाथि पनि ज्यानसम्बन्धी कसुर सिफारिस गरिएको छ।
  • डीएनएलगायत प्राविधिक रिपोर्ट आउन बाँकी रहे पनि उपलब्ध प्रमाणका आधारमा मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।

सुर्खेत । १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार बुधबार अनुसन्धान पूरा गरी प्रतिवेदन पेश गरिएको हो । प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्तका रूपमा घटनास्थलबाटै पक्राउ परेका एक किशोरविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जन्मकैदसम्मको मागदाबी गरिएको छ । अन्य तीन किशोरविरुद्ध भने ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन माग गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा केही महत्त्वपूर्ण प्राविधिक प्रतिवेदनहरू—जस्तै डीएनए, मोबाइल फरेन्सिक र टक्सिकोलोजी,अझै प्राप्त नभए पनि प्रहरीले उपलब्ध प्रमाण र बयानका आधारमा प्रतिवेदन बुझाएको हो । एसपी शाहीका अनुसार तीमध्ये केही परीक्षण नेपालमा सम्भव नभएकाले नमुना विदेश पठाइएको छ र रिपोर्ट आउन बाँकी छ । “रिपोर्ट आएपछि मृत्युको कारण अझ स्पष्ट हुने अपेक्षा गरिएको छ,” उनले भने ।

फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्केकी इनिशा वीरेन्द्रनगर–१ नजिकैको सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन । प्रारम्भिक पोस्टमार्टम रिपोर्टले जबरजस्ती करणीपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको संकेत गरेको थियो । घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी दुवैले छुट्टाछुट्टै अनुसन्धान प्रतिवेदन तयार पारेका छन् । यद्यपि परिवारले भने अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै अझै शव बुझ्न मानेको छैन । घटना भएको २० दिन बितिसक्दा पनि शव प्रदेश अस्पताल सुर्खेतमै राखिएको छ ।

प्रहरीका अनुसार मुख्य अभियुक्तबाहेक अन्य तीन किशोर घटनापछि बोलाइएका साथीहरू भएको प्रारम्भिक निष्कर्ष छ । उनीहरूले समयमै उपचारमा सहयोग नगरेको आरोपमा उनीहरूमाथि पनि ज्यानसम्बन्धी कसुर लगाउन सिफारिस गरिएको हो । सबै आरोपित १८ वर्षभन्दा कम उमेरका भएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

यस घटनाले देशभर चासो र आक्रोश सिर्जना गरेको थियो । विभिन्न स्थानमा निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शनसमेत भएका थिए । जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहादुर महतले प्रहरीबाट प्राप्त प्रतिवेदन अध्ययन भइरहेको जानकारी दिएका छन् । उनका अनुसार प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र अदालतमा मुद्दा दर्ता हुने र त्यसपछि अभियोगसम्बन्धी विवरण सार्वजनिक गरिनेछ । साथै आवश्यक ठहरे प्रतिवेदन फिर्ता पठाउने व्यवस्था पनि रहेको उनले बताए ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार