२०८३ जेठ १२ , मंगलबार

लामो राजनीतिक रस्साकस्सीपछि ‘कखेप’को सदस्य सचिव नियुक्त



सुर्खेत । कर्णाली खेलकुद विकास परिषद् ‘कखेप’को लामो समयदेखि रिक्त रहेको सदस्य सचिव पदमा अन्ततः नियुक्ति भएको छ । कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वीरेन्द्रनगर नगरपालिका–७ निवासी रवीन्द्र चन्द ठकुरीलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०८१ साल पुस महिनादेखि रिक्त रहेको उक्त पद पूर्व सदस्य सचिव विश्वामित्र सञ्यालको कार्यकाल सकिएपछि खाली भएको थियो । त्यसयता करिब डेढ वर्षसम्म विभिन्न राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

कर्णाली प्रदेश सरकारकै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबण्डा नमिल्दा नियुक्ति लामो समयसम्म अन्योलमा परेको थियो । पछिल्लो समय दुई दलबीच सहमति जुटेपछि सदस्य सचिव नियुक्तिको बाटो खुलेको हो ।
नवनियुक्त सदस्य सचिव ठकुरीले पदभार ग्रहण गरेसँगै परिषद्को कामकारबाहीले गति लिने अपेक्षा गरिएको छ । खेलकुद क्षेत्रको विकास, पूर्वाधार विस्तार तथा खेलाडी उत्पादनमा परिषद्को भूमिका महत्वपूर्ण रहने भएकाले अबका दिनमा ठोस कार्यक्रम ल्याउने चुनौती उनको सामु रहेको छ ।

यस नियुक्तिसँगै कर्णाली प्रदेशको खेलकुद क्षेत्रले नयाँ नेतृत्व पाएको छ, भने लामो समयदेखि अन्योलमा रहेको प्रशासनिक संरचनाले समेत पूर्णता पाएको हो । त्यसैगरी, परिषद्को उपाध्यक्ष पदमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ५, सुर्खेतका प्रमोद हमाललाई नियुक्त गरिएको छ । भने विभागीय सामाजिक विकास मन्त्री परिषदको अध्यक्ष बन्ने व्यवस्था छ ।

बैठकले परिषद्को सदस्यहरुमा पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

परिषद्को सदस्य सचिव नियुक्ति लामो समयसम्म रोकिँदा सरोकारवाला निकायहरूले यसलाई फरकफरक तरिकाले व्याख्या गरेका थिए । अधिकांश सरोकारवालाहरूले राजनीतिक असहमतिका कारण खेलकुद क्षेत्र प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

खेलकुदकर्मी तथा प्रशिक्षकहरूले परिषद्को नेतृत्व खाली हुँदा नीति निर्माण, कार्यक्रम सञ्चालन र बजेट कार्यान्वयनमा ढिलाइ भएको बताएका थिए । उनीहरूका अनुसार राजनीतिक भागबण्डा नमिल्दा खेलाडी र खेलकुद संस्थाहरू प्रत्यक्ष रूपमा मारमा परेका थिए । केही खेलकुद संघहरूले भने नियुक्ति प्रक्रियालाई छिटो टुंग्याउन सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, खेलकुद क्षेत्रमा काम गर्ने स्थानीय सरोकारवाला र विश्लेषकहरूले खेलकुद जस्तो क्षेत्रलाई राजनीतिक विवादभन्दा माथि राखेर निर्णय गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूको भनाइमा, लामो समयसम्म नेतृत्व खाली रहँदा परिषद्को योजनाबद्ध काम प्रभावित भएको थियो । भने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि प्रदेशस्तरका विभिन्न प्रतियोगिता तथा विकास कार्यक्रमहरूमा समेत असर परेको थियो ।

अर्कोतर्फ, सरकार पक्षका नेताहरूले भने राजनीतिक सहमति आवश्यक पर्ने पद भएकाले प्रक्रिया केही समय लम्बिएको बताएका थिए । उनीहरूका अनुसार दलहरूबीच सहमति जुटेपछि नियुक्ति सम्भव भएको र अब परिषद्को कामकारबाही व्यवस्थित रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ । राजनीतिक असहमति सरोकारवाला निकायहरूका लागि चिन्ताको विषय बनेको थियो, भने अब नयाँ नियुक्तिसँगै खेलकुद क्षेत्रले गति लिने अपेक्षा गरिएको छ ।

को हुन्, सदस्य सचिव चन्द ?

परिषद्को सदस्य सचिवमा नियुक्त भएका रवीन्द्र चन्द ठकुरी नेपाली खेलकुद व्यवस्थापन, फुटबल प्रशासन र बजारीकरण क्षेत्रका एक अनुभवी र बहुआयामिक व्यक्तित्व हुन् । कर्णाली प्रदेशको दैलेख, चौराठामा जन्मिएका ठकुरी हाल सुर्खेतको वीरेन्द्रनगर–७ का स्थायी बासिन्दा हुन् ।

‎‎उनले त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पसबाट व्यवसाय प्रशासनमा स्नातक र डन बास्को कलेजबाट मार्केटिङ तथा ब्रान्डिङ विषयमा स्नातकोत्तर सम्पन्न गरेका छन् । खेलकुदको प्राविधिक पक्षमा पनि विशेष दख्खल राख्ने ठकुरीले एएफसी ‘बी’ र ‘सी’ लाइसेन्स कोचिङ कोर्स पूरा गर्नुका साथै खेलकुद व्यवस्थापन सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरूमा सक्रिय सहभागिता जनाएका छन् ।

‎हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति सदस्यका रूपमा कार्यरत ठकुरीले संघभित्र प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन् । उनले एन्फाको ’कमर्सियल राइट्स, ब्रोडकास्टिङ तथा डिजिटल राइट्स समिति’को संयोजक र ’दीर्घकालीन रणनीतिक योजना तथा कार्यक्रम संशोधन समिति’को सदस्यका रूपमा आफ्नो व्यावसायिक कुशलता प्रदर्शन गरिसकेका छन् ।

‎‎उनको अब्बल नेतृत्व क्षमता कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ मा मार्केटिङ समितिको संयोजक र सन् २०२२ को साफ महिला च्याम्पियनसिपमा भेन्यु म्यानेजरको रूपमा सफल प्रमाणित भइसकेको छ । यसबाहेक, उनले महिला ओलम्पिक छनोट, साफ यू–२० च्याम्पियनसिप, एएफसी च्यालेन्ज लिग र फिफा विश्वकप छनोट जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्थानीय आयोजक समितिको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।

‎ठकुरी आरसी ३२ फुटबल एकेडेमी (रारा रेन्जर्स) का संस्थापक अध्यक्ष पनि हुन् । यो क्लब कर्णाली प्रदेश र समग्र पश्चिम नेपालकै पहिलो क्लब हो, जसले एन्फाको राष्ट्रिय फुटबल पिरामिड अन्तर्गत ’बी’ डिभिजनको यात्रा तय गरेर ऐतिहासिक सफलता हासिल गरेको छ । सन् २०१५ देखि उनी विभिन्न खेलकुद इभेन्टहरूमा परामर्शदाताको रूपमा समेत सक्रिय रहँदै आएका छन् ।

‎प्रशासकीय भूमिकामा आउनुअघि चन्द एक सफल खेलाडी समेत थिए । उनले क्रिकेटमा यू–१५, यू–१९ र सिनियर टोलीबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका छन् भने छैटौं राष्ट्रिय खेलकुदमा फुटबल खेलाडीका रूपमा सहभागी थिए । प्रशिक्षकको रूपमा उनले शंकरदेव क्याम्पसको फुटबल र क्रिकेट टोलीलाई प्रशिक्षण दिई उत्कृष्ट नतिजा दिलाउन सफल भएका थिए ।

‎‎नेपाली, अंग्रेजी र हिन्दी भाषामा विशेष पकड राख्ने ठकुरी आफ्नो कार्यकुशलता, स्पष्ट भिजन र समर्पणका कारण नेपाली खेलकुदलाई थप व्यावसायिक र उचाइमा पु¥याउन निरन्तर क्रियाशील रहने दावी गर्छन् ।

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार