सुर्खेत । सिंहदरबारमा सीता वादीले मन्त्रीको शपथ लिइरहँदा सुर्खेतको झुप्राखोलामा भने अर्कै दृश्य थियो । टेलिभिजन स्क्रिनमा छोरीलाई देखिरहेकी पार्वती वादीका आँखामा आँसु टिलपिलाएका थिए, खुसीका पनि, सम्झनाका पनि,
टहरोबाट सुब्बाकुना सम्म पुगेर छोरीको शपथ हेर्न आएकी पार्वतीका लागि त्यो क्षण कुनै साधारण थिएन । स्क्रिनमा मन्त्री बनेकी छोरी देखिए पनि उनको मन भने वर्षौंअघिको झुप्राखोलामै दौडिरहेको थियो । जहाँ सानी सिता माटोमा खेल्थिन्, जहाँ गरिबी दिनदिनैसँगै हुर्कन्थ्यो, जहाँ सपनाहरू पनि कहिलेकाहीँ अधुरा नै लाग्थे ।

त्यही खोलाको किनारमा गिटी कुट्दै, बालुवा छान्दै पार्वती र उनका श्रीमान् गोपाल वादीले छोरीलाई अक्षर चिन्न सिकाए । स्कुल पठाए, पेट काटेर पढाए । आमा, म ठूलो मान्छे बन्छु, हाम्रो गरिबी हटाउँछु,” सानी सिताले भनेका ती शब्दहरू शुक्रबार पार्वतीको मनमा झन् गहिरो गरी बजिरहेका थिए ।
जीवन भने सजिलो थिएन । भूमिहीन परिवार, झुप्राको बास, दैनिक ज्यालादारी, यिनैबीचबाट बाटो खोज्दै सिता अघि बढिन् । गाउँकै विद्यालयदेखि छात्रवृत्ति, अनि उच्च शिक्षासम्मको यात्रा उनले आफ्नै संघर्षले तय गरिन् ।
आज उनी मन्त्री भएकी छन् । तर झुप्राखोलामा केही बदलिएको छैन । आमाबुवाको जीवन उस्तै छ । अझै पनि गिटी कुटिन्छ, बालुवा छानिन्छ, भोलिको चिन्ता उस्तै छ ।
“छोरी मन्त्री भइन् भनेर काम छाड्ने हैन, हामीले त यही गरेर खानुपर्छ,” पार्वतीको सरल भनाइ छ । छोरीको सफलताले भने घरको मात्रै होइन, बस्तीको मनोबल उठाएको छ । वादी समुदाय, जसले वर्षौंदेखि अभाव र उपेक्षा झेलेको छ, अहिले पहिलोपटक आफ्नै घरबाट मन्त्री पाएको छ ।
सीता अब केवल एउटा परिवारकी छोरी मात्र होइनन् । उनी सिंगो समुदायको आशा बनेकी छन् । शिक्षा नपाएका बालबालिका, स्वास्थ्य सेवा नपुगेका गाउँहरू, बसोबासको समस्या झेलिरहेका परिवार, सबैका आँखाहरू अहिले उनैतिर लागेका छन् । पार्वतीको अपेक्षा पनि त्यही हो । “हामीलाई लालपूर्जा देओस्, नत्र बस्न मिल्ने ठाउँ देओस्,” उनी भन्छिन् । यो माग केवल एउटा आमाको होइन, सिंगो बस्तीको आवाज हो ।
झुप्राखोलाको धूलोबाट सिंहदरबारसम्म पुगेकी सीताको यात्रा कुनै चमत्कार होइन, यो संघर्ष, धैर्य र सपनाको कथा हो । सायद आज पार्वतीलाई राजनीति, पद वा हैसियतको अर्थ थाहा छैन । तर उनलाई यत्ति थाहा छ । उनकी छोरी सिता आज त्यहाँ पुगेकी छिन्, जहाँबाट धेरैको जीवन बदल्न सकिन्छ ।








