२०८३ भदौ ९ , मंगलबार

चन्द्रा सिंह मृत्यु प्रकरण : नायब सुब्बा बीसीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश



सुर्खेत । एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा मृत भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको मृत्यु प्रकरणमा जोडिएका नायब सुब्बा कविलाल बीसीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले आत्महत्या दुरुत्साहन मुद्दामा बीसीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतका सूचना अधिकारी उज्ज्वल रावलले बीसीलाई थुनामा पठाउने आदेश भएको जानकारी दिए। प्रहरीले बीसीविरुद्ध साउन ८ गते जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दायर गरेको थियो।

जाजरकोटको भेरी नगरपालिका–१ घर भएकी सिंह विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा नायब प्राविधिक सहायक पदमा कार्यरत थिइन्। उनी वीरेन्द्रनगर नगरपालिका–७, इत्रामस्थित कार्यालयको आवास गृहको शौचालयमा बेहोस अवस्थामा भेटिएकी थिइन्।

बेहोस अवस्थामा भेटिएकी सिंहलाई तत्काल उद्धार गरी देउती अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनालाई अस्वाभाविक मानेर मृतकका श्रीमान् महेश बस्नेतले नायब सुब्बा बीसीविरुद्ध किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दायर गरेको थियो। अदालतको आदेशसँगै बीसी अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामा रहने भएका छन्।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार