सुर्खेत । झारफुक तथा हेराई मनाई गर्ने बहानामा महिलामाथि अमानवीय व्यवहार तथा कुटपिट गरेको आरोप लागेका सुर्खेतका समीर थापा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई भने अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।
आफूलाई ‘पाथिभरा माता’का रूपमा चिनाउँदै आएका थापाले झारफुक गर्ने क्रममा महिलामाथि दुर्व्यवहार तथा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २४ वर्षीय थापालाई प्रहरीले साउन १३ गते नियन्त्रणमा लिएको थियो ।
घटनामा थापासहित भिडियो खिच्ने व्यक्तिविरुद्ध समेत बोक्सी आरोपसम्बन्धी कसुरमा जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता भएको थियो। थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई पुर्पक्षका लागि थुनामा राख्ने र भिडियो खिच्ने व्यक्तिलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
कानुनले झारफुक, धामी झाँक्री वा अन्य धार्मिक तथा परम्परागत अभ्यासका नाममा कसैमाथि अमानवीय, अपमानजनक वा हिंसात्मक व्यवहार गर्न निषेध गरेको छ। मुलुकी अपराध संहिता, २०७४ मा समेत यस्तो कार्यलाई कसुरका रूपमा परिभाषित गरी सजायको व्यवस्था गरिएको छ।
विशेषगरी झाँक्री वा झारफुकका नाममा व्यक्तिमाथि अमानवीय वा अपमानजनक व्यवहार गरेको प्रमाणित भएमा कानुनअनुसार कैद तथा जरिवाना हुन सक्ने व्यवस्था छ। त्यस्तै, कुटपिट, गालीगलौज वा अभद्र व्यवहार गरेको अवस्थामा सम्बन्धित कसुरअनुसार थप कानुनी कारबाही हुन सक्ने प्रावधान छ।
अदालतको पछिल्लो आदेशसँगै घटनामा संलग्न मुख्य आरोपित थापा पुर्पक्षका लागि कारागार चलान भएका छन् भने घटनाको भिडियो खिच्ने व्यक्तिले धरौटीमा बाहिर बसेर मुद्दाको सामना गर्ने भएका छन्।








