२०८३ भदौ ८ , सोमबार
फ्रन्ट पेज

भूकम्पपछि पहिरोले थपेको पीडा



सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङकी कली कामी अहिले विद्यालय नजिक बनेको सेल्टरमा आश्रय लिईरहेकी छन् । वृद्धाअवस्थाकी कलीको अस्थायी टहरा थियो । साउन ३० गतेको अविरल वर्षापछि गाउँमा गएको पहिरोले उनको अस्थायी टहरा बगायो । उनीसहित एक नातिनी र एक नातीले ज्यान जोगाए । घरमा भएका गाई, कुखुरा, बाख्रा र सम्पत्ति पहिरोमै बिलिन भयो ।

भूकम्पले जोखिम बनेको घर पुनर्निमाण गर्न नपाउँदै अस्थायी रुपमा बसोबास गर्न बनेको टहरा नै पहिरोले भत्काईदिएपछि विपदबाट ‘आफूले जति पीडा कसैले भोग्नु नपरोस्’ भन्ने उनी कामना गर्छिन् । “दुई बर्षअघिको चिसोमा भुइँचालोले दुख दियो, अहिलेको बर्खामा पहिरोले घरबारविहीन बनायो,” कलीले भनिन्, “मेरो जस्तो पीडा भोग्न कसैले नपरोस्, भुइँचालोले भत्किएको घर बनाउन सकिएको थिएन । त्यहीमाथि पहिरोले साँघुरो टहरा पनि बगाईदियो ।”

रिसाङकै कुमारी विकको परिवार चार जना छोराछोरीसहित सकारी तथा दातृ निकायले बनाईदिएको तत्कालिन सेल्टरमा बसिरहेका छन् । २०८० को भूकम्पले चर्किएको घर पनि यो बर्षको पहिराले बगाईदिएपछि उनीहरुसँग सेल्टरमा बस्नुको उपाय रहेन । “घरमा भएको केही पनि बाँकी रहेन, भाग्यले परिवारको ज्यान बच्यो,” कुमारीले भनिन्, “अहिले यहाँ त लुगा पनि अरुले दिएको लगाउनुपरेको छ, के गर्ने र कसो गर्ने भन्ने उपाय नै छैन ।”

सपना वलीको परिवारमा १० जना सदस्य छन् । पहिराले बसोबास गरिरहेको घर र जग्गा बगाईदियो । अहिले अस्थायी रुपमा व्यवस्थापन गरिएको त्रिपालमुनि उनको परिवार बसेको छ । सम्पत्ति र घर पहिरोमा पुरिएपछि उनको परिवार पनि तत्काल राज्य र दातृ निकायको सहायतामा दिन काटिरहेका छन् ।

सोही गाउँका लालबहादुर थापाको परिवार पनि सेल्टरमै बसेको छ । उनको घरमा क्षति पुगेको त छैन, तर पूर्णरुपमा जोखिममा छ । घर वरपर र माथीको भाग चिराचिरा भएको छ । कतिबेला फेरि जमिन बग्छ र घर पुर्छ भन्ने चिन्ता छ । “अहिलेसम्म यसरी कहिल्यै जमिन भासिएको थिएन, मेरो मात्र होइन वरिपरिका सबै घर जोखिममा छन्,” उनी भन्छन्, “ज्यान जोगाउन सरकारले अस्थायी रुपमा व्यवस्था गरेको ठाउँमा आएका छौं, हामीलाई तत्कालै सुरक्षित ठाउँमा स्थायी रुपमा व्यवस्थापन गरिदिएको भए हुन्थ्यो ।”

२०८० कात्तिकमा आएको भूकम्पले निम्त्याएको समस्या समाधान हुन नपाउँदै प्रभावितहरु फेरि पहिरोबाट पीडित बनेका छन् । भूकम्पले चर्किएर जोखिम बनेका घरहरु पनि अब फेरि पहिरोले बगाउने जोखिम बढेको छ । गएको साउन ३० गते अविरल बर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ गाउँ र स्याला गाउँका अधिकांश वासिन्ता प्रभावित बनेका छन् । रिसाङमा पहिरोमा परि चार जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन् ।

पहिरोले घरबारविहीन बनेका र जोखिममा रहेका परिवारलाई विद्यालय र अन्य अस्थायी संरचनामा राखिएको छ । भेरी नगरपालिका–२ स्यालामा रहेका विजया प्राथमिक विद्यालय र रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयमा उनीहरुलाई राखिएको हो । अस्थायी सेल्टरमा बस्नुपर्दा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा सुत्केरी आमालाई बढी जोखिम देखिएको छ ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार पीडितपरिवारलाई तत्कालका लागि खाना, लत्ताकपडा, स्वास्थ्य किट्स लगायतका राहत सामग्री वितरण भईरहेको छ । जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणालीमार्फत राहत वितरण भईरहेको उनले बताए । राहतका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गरिरहेका छन् ।
नगरपालिकाका अनुसार दुई वटा पहिरोबाट १६८ घरधुरीका ८९३ जना प्रभावित भएका छन् ।

प्रभावित नागरिकका लागि विभिन्न स्थानमा चार वटा अस्थायी शिविर सञ्चालन गरिएको छ । ती शिविरमा १०८ जना बालबालिका, ६ जना सुत्केरी र पाँच जना गर्भवती रहेका छन् । पहिरोले घर तथा अस्थायी आवासमा ठूलो क्षति पुगेको नगरप्रमुख घर्तीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि निर्माण गरिएका १३ वटा अस्थायी टहरामा पहिरोले क्षति पुगेको छ । १२ वटा टहरामा आंशिक क्षति पुगेको छ । पहिरोबाट ३१ वटा गोठमा क्षति पु¥याएको छ भने ३१ वटा पशुचौपाया मरेका छन् ।

स्वास्थ्य समस्याबाट झन पीडित

जाजरकोटमा पहिरोका कारण विस्थापित भएर अस्थायी सेल्टरमा बसिरहेकाहरुमा स्वास्थ्य समस्या देखिन थालेको छ । दुषित खानेपानीका कारण उनीहरु स्वास्थ्य समस्याबाट झन पीडित बनेका छन् । उनीहरुमा रुघाखोकी र ज्वरोका लक्षण देखिएका छन् । एउटै स्थानमा धेरै संख्यामा बसेको मानिसहरुको खानेपानीको स्रोत दुषित हुँदा स्वास्थ्य समस्या देखिएको चेकजाँचमा सहभागी स्वास्थ्यकर्मीहरुको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्थायी शिविरमा बसिरहेका विस्थापितहरुमा पछिल्ला दिनमा स्वास्थ्य समस्या देखिन थालेको हो । पहिरोका कारणसुरक्षित स्थानमा सारिएका नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर परीक्षण तथा उपचार सुरु गरिएको उनले बताए । उनका अनुसार सम्बन्धित भेरी नगरपालिका, कर्णाली प्रदेश अस्पताल, विकास साझेदार संस्था लगायत निकायबाट स्वास्थ्यकर्मीहरुले नियमित जाँच गरिरहेका छन् ।

विपदबाट विस्थापितहरुमा स्थास्थ्य समस्या देखिँदा ५० शय्याको जिल्ला अस्पतालमा भने पर्याप्त चिकित्सक छैनन् । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सकको अभाव भएपछि तत्काल चिकित्सकको व्यवस्था कर्णाली प्रदेश सरकारसमक्ष आग्रह गरिएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनका अनुसार चिकित्सक अभावका कारण अस्पतालको सेवा प्रवाहमा समस्या गहिरिँदै गएको छ ।

अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गए पनि जनशक्ति पर्याप्त नहुँदा नियमित सेवा सञ्चालनमै कठिनाइ भइरहेको उनले बताए । “पहिरोका कारण घाइते तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढेको छ,” उनले भने, “ज्वरो, रुघाखोकी, चोटपटक तथा अन्य स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढे पनि सीमित जनशक्तिका कारण प्रभावकारी उपचार सेवा दिन स्वास्थ्यकर्मीलाई कठिन छ ।”

पुग्यो भूगर्भविदसहितको टोली

पहिरो प्रभावित क्षेत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली पुगेको छ । उनीहरु बुधबार भेरी नगरपालिका–२ रिसाङस्थित पहिरो प्रभावित क्षेत्रमा पुगेको हो । पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण तथा प्रभावित नागरिकको अवस्था बुझ्न प्राधिकरणको टोली बुधबार प्रभावित क्षेत्रमा पुगेको हो । प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा पनि टोलीसँग प्रभावित क्षेत्रमा पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्राधिकरणका उपसचिव सुरेश सुनार, भूगर्भविद डा. प्रकाश पोखरेल, लेखराज भट्ट, शाखा अधिकृत निरन्जनप्रकाश निरौला, इञ्जिनियर जगदिश विष्ट, मेटेरियोलोजिष्ट राजन लामिछानेसहित ८ जनाको टोली उक्त क्षेत्रमा पुगेर स्थलगत अध्ययन तथा निरीक्षण गरिरहेका छन् ।

प्रतिनिधि सभा सदस्य बुढासहित प्राधिकरणको टोलीले रिसाङ गाउँमा पुगेर पहिरोबाट प्रभावित नागरिकसँग भेटघाट गर्दै उनीहरुको तत्कालीन आवश्यकता तथा जोखिमको अवस्थाबारे जानकारी लिएको छ । टोलीले भेरी नगरपालिकाका वडा नं १, २, ३ र ४ का विभिन्न पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नेछ । टोलीले प्रारम्भिक अध्ययनपछि दुई दिनभित्र प्रतिवेदन दिने तयारी गरेको छ ।

प्रतिनिधिसभा सदस्य बुढाले पहिरो प्रभावित नागरिकको तत्कालीन सुरक्षा र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले भूगर्भ विज्ञको अध्ययनपछि मात्रै बस्ती स्थानान्तरण वा पुनःस्थापनाबारे निर्णय गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार