सुर्खेत । वीरेन्द्रनगरमा सोमबार साँझ नेकपा एमालेको मसाल जुलुसका क्रममा भएको झडपमा एक प्रहरी निरीक्षक घाइते भएका छन् । प्रदर्शनका क्रममा भीडबाट भएको आक्रमणमा प्रहरी निरीक्षक राजन भट्टराईको अगाडिको दाँत भाँचिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमाले कार्यकर्ताले वीरेन्द्रनगर–६ स्थित हटिया चोकबाट मसाल जुलुस निकालेका थिए । जुलुस वीरेन्द्र चोक पुगेर पुनः पार्टी कार्यालयतर्फ फर्किने क्रममा स्थिति तनावग्रस्त बनेको हो ।
सुरक्षा व्यवस्थापनमा खटिएका प्रहरी निरीक्षक भट्टराईमाथि प्रदर्शनकारीमध्ये एक जनाले अचानक मुक्का प्रहार गरेको प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए । घटनापछि आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा भीड तितरबितर भएको र सोही क्रममा भाग्ने क्रममा एक प्रदर्शनकारी लडेर सामान्य घाइते भएको पनि उनले बताए ।
घाइते प्रहरी निरीक्षक र प्रदर्शनकारी दुवै उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। प्रहरीमाथि हातपात गर्ने व्यक्तिको पहिचान गरी खोजी कार्य तीव्र पारिएको जनाइएको छ। यता, एमाले कार्यकर्ताहरूले भने प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








