सुर्खेत । कर्णाली कोरिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोलामा निर्माणाधीन पक्की पुल आठ वर्षपछि सम्पन्न भएको छ । सिमकोट र नाम्खा गाउँपालिकाको सिमानामा रहेको उक्त पुल निर्माण सम्पन्न भएसँगै अहिले सवारी साधन सञ्चालनमा आएका छन् । हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार पटक–पटक म्याद थप र निर्देशनपछि निर्माण कम्पनीले अन्ततः पुलको काम पूरा गरेको हो ।

पुल नबन्दा यसअघि सो स्थानमा काठे पुल प्रयोग गरेर सवारी आवतजावत हुँदै आएको थियो । २०७४ साउन ६ गते सपना धुलिखेल जेभीसँग निर्माण सम्झौता गरिएको उक्त पुल २०७६ साउन १५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयमा काम नसकिएपछि चार पटकसम्म म्याद थप गरेर निर्माण कार्य अगाडि बढाइएको थियो ।
२५ मिटर लम्बाइ र १० मिटर चौडाइ (फुटपाथसहित) रहेको पुल निर्माणका लागि कुल ११ करोड २९ लाख २ हजार रुपैयाँ खर्च भएको छ । निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण सडक सञ्जाल अभाव रहेको निर्माण कम्पनीका सबइन्जिनियर धनराज शाहीले बताएका छन् ।
उनका अनुसार चीनको ताक्लाकोटबाट खच्चडमार्फत निर्माण सामग्री ढुवानी गर्नुपर्दा काम प्रभावित भएको थियो । हाल हुम्ला सडक सञ्जालसँग जोडिएपछि आवश्यक सामग्री ढुवानी सहज भएको र त्यसपछि निर्माण कार्यले तीव्रता पाएको हो । पुल सञ्चालनमा आएपछि सिमकोट–हिल्सा तथा लिमी–लाप्चा सडकखण्डमा यातायात सेवा सञ्चालन गर्न थप सहज भएको जनाइएको छ ।








