सुर्खेत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ, भने देशभरका ७७ वटै जिल्लामा रहेका १ हजार ९ सय ६६ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु गरिने छ ।

यस वर्षको परीक्षामा प्राविधिक धारतर्फ १६ हजार ३ सय १२ तथा आंशिक (पार्सियल)तर्फ २ सय ६४ विद्यार्थी सहभागी रहेका छन् । परीक्षा व्यवस्थापनलाई विगतभन्दा थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित राष्ट्रिय परीक्षा बोर्डले विभिन्न नयाँ व्यवस्था लागू गरेको छ । विशेषगरी नतिजा प्रकाशनमा हुने ढिलाइ अन्त्य गर्ने लक्ष्यसहित यसपटक परीक्षा प्रणालीमा सुधार गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाका अनुसार परीक्षा सकिएको तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण सुरु गरिनेछ । “यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको छ, जसले नतिजा प्रकाशन प्रक्रियालाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने उनले बताए ।
विगतका वर्षहरूमा उत्तरपुस्तिका संकलन गरी जिल्ला तथा प्रदेशस्तरमा पठाएर परीक्षण गर्ने प्रणालीका कारण नतिजा सार्वजनिक हुन ढिलाइ हुने गरेको थियो । तर यस वर्ष सो प्रक्रिया छोट्याउँदै स्थानीय स्तरमै मूल्यांकन सुरु गर्ने योजना अघि बढाइएको छ । यसले समय बचत गर्नुका साथै व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा मन्त्रालयले गरेकोे छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पनि समयमै नतिजा सार्वजनिक गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन् । सोही निर्देशनअनुसार राष्ट्रिय परीक्षा बोर्डले एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने लक्ष्यसहित कार्यतालिका तयार पारेको छ । परीक्षण सम्पन्न भएपछि शिक्षा विकास तथा समन्वय इकाइमार्फत प्राप्ताङ्क संकलन गरी बोर्डमा पठाइनेछ । त्यसपछि इन्ट्री, रूजु तथा प्रमाणीकरण प्रक्रिया पूरा गरी वैशाख मसान्तसम्म नतिजा सार्वजनिक गरिने जनाइएको छ ।
यसैबीच, कर्णाली प्रदेशका प्रदेशका १० जिल्लाबाट यस वर्ष ३८ हजार ३ सय ७९ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । परीक्षा सञ्चालनका लागि प्रदेशभर १ सय ६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तथा परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालका अनुसार कर्णालीमा नियमिततर्फ ३२ हजार २ सय ५५ र ग्रेड वृद्धितर्फ ६ हजार १ सय २४ विद्यार्थी परीक्षा दिइरहेका छन् । यो संख्या गत वर्षको तुलनामा ४ सय ६१ ले बढी रहेको उनले जानकारी दिए ।
जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी विद्यार्थी सुर्खेतमा रहेका छन् । सुर्खेतका ३४ परीक्षा केन्द्रबाट कुल ९ हजार ७ सय ७९ विद्यार्थी परीक्षा दिने छन्, जसमा ७ हजार २ सय ९४ नियमित र २ हजार ४ सय ८५ ग्रेडवृद्धितर्फका छन् । सबैभन्दा कम विद्यार्थी डोल्पामा रहेका छन्, जहाँ ४ परीक्षा केन्द्रबाट ६ सय ७४ विद्यार्थी मात्र सहभागी भएका छन् ।
अन्य जिल्लाहरूमा दैलेखबाट ६ हजार २ सय ५३, जाजरकोटबाट ४ हजार ८ सय १३, सल्यानबाट ४ हजार १ सय ४२, रुकुमपश्चिमबाट ३ हजार ९ सय २२ र कालीकोटबाट ३ हजार ७ सय १७ विद्यार्थी परीक्षा दिइरहेका छन् । त्यस्तै जुम्लाबाट २ हजार २ सय ५५, मुगुबाट १ हजार ५ सय २४ र हुम्लाबाट १ हजार ३ सय विद्यार्थी सहभागी भएका छन् ।
अघिल्ला वर्षहरूको तथ्याङ्क हेर्दा कर्णालीमा विद्यार्थी संख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । गत वर्ष ३७ हजार ९ सय ११ विद्यार्थी सहभागी भएका थिए, भने २०७९ मा ३८ हजार ९ सय ७० र त्यसअघि ३५ हजार ८ सय ८ विद्यार्थीले परीक्षा दिएका थिए ।
यस वर्ष पनि विद्यार्थी संख्या बढेसँगै परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र मर्यादित बनाउन सम्बन्धित निकायहरूले तयारीलाई तीव्र बनाएका छन् ।
प्रदेशभर शान्तिपूर्ण, मर्यादित र निष्पक्ष वातावरणमा परीक्षा सञ्चालन गर्ने लक्ष्यका साथ सुरक्षा व्यवस्था, अनुगमन तथा समन्वयलाई सुदृढ गरिएको छ ।
शिक्षा विकास निर्देशनालय परीक्षा अवधिभर कुनै पनि किसिमका अनियमितता हुन नदिन कडा निगरानी राख्ने जनाएको छ । यसपटकको सुधारिएको प्रणालीले नतिजा प्रकाशनमा मात्र होइन, समग्र परीक्षा व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।








