२०८३ वैशाख १८ , शुक्रबार

बेतन कर्णाली आयोजना निर्माणको संघारमा, लगानी र पीपीए टुंग्याउने मुख्य चुनौती



सुर्खेत । कर्णाली प्रदेशको बहुप्रतिक्षित बेतन कर्णाली जलविद्युत आयोजना अब निर्माणको संघारमा पुगेको छ। सुर्खेत र अछाम जिल्लाको सीमामा निर्माण हुने यस आयोजनाका अध्ययन, डिजाइन तथा अधिकांश पूर्वतयारीका काम पूरा भइसकेका छन्। आयोजना विकासकर्ता बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले अब विद्युत खरिद सम्झौता, मुआब्जा वितरण र लगानी सुनिश्चितताका बाँकी प्रक्रिया टुंग्याउने चरणमा काम अघि बढाएको जनाएको छ ।

आयोजना प्रमुख कृष्ण आचार्यका अनुसार आयोजनाले २०८२ असारमै उत्पादन अनुमति पत्र प्राप्त गरिसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्न ऊर्जा मन्त्रालयमार्फत सम्बन्धित निकायमा फाइल पठाइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि मुआब्जा वितरण सुरु गरिने तयारी छ ।

आयोजना निर्माणबाट सुर्खेत र अछामका करिब १८ रोपनी जमिन प्रभावित हुने अनुमान गरिएको छ। सो क्षेत्रका रुख कटानका लागि अनुमति प्रक्रिया अघि बढाइएको छ। साथै, आयोजनास्थलसम्म पहुँच सहज बनाउन सडक निर्माणलाई तीव्रता दिइएको छ । अछामतर्फ १८ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने सुर्खेततर्फ १४ किलोमिटरमध्ये १० किलोमिटर सडक तयार भइसकेको छ । बाँकी खण्डको स्तरोन्नति र विस्तार छिट्टै गरिनेछ । कर्णाली नदीमा पक्की पुल र बेलिब्रिज निर्माण गर्ने योजना पनि अगाडि बढाइएको छ ।

४ सय ३१ मेगावाट क्षमताको यो आयोजना कर्णाली प्रदेशकै महत्वपूर्ण ऊर्जा परियोजनामध्ये एक हो। आयोजनाको कुल लागत करिब ८८ अर्ब रुपैयाँ अनुमान गरिएको छ । हालसम्म कर्मचारी सञ्चय कोषमार्फत करिब ७ अर्ब रुपैयाँ मात्र लगानी सुनिश्चित भएको छ भने बाँकी रकम जुटाउन विभिन्न वाणिज्य बैंक, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य वित्तीय संस्थासँग छलफल जारी रहेको छ । पीपीए सम्पन्न भएपछि लगानी जुटाउन थप सहज हुने विश्वास गरिएको छ ।

प्राविधिक रूपमा आयोजना निकै जटिल र महत्वाकांक्षी मानिएको छ। कर्णाली नदीमा करिब १ सय ४० मिटर अग्लो बाँध निर्माण गरी जलाशयमा पानी संकलन गरिनेछ । सो जलाशयमा करिब १ करोड २५ लाख घनमिटर पानी भण्डारण गर्न सकिनेछ। संकलित पानी ६।६ किलोमिटर लामो सुरुङमार्फत विद्युतगृहसम्म र्पुयाइनेछ र ३ सय ४५ मिटर लामो पेनस्टक पाइपबाट टर्बाइनमा खसालेर विद्युत उत्पादन गरिनेछ । बाँधस्थल सुर्खेतको चौकुने गाउँपालिका–६ र अछामको ढकारी गाउँपालिका–६ को सीमामा पर्नेछ भने मुख्य संरचना अछामतर्फ निर्माण गरिनेछ। बाँध निर्माणपछि करिब २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्ने अनुमान गरिएको छ ।

आयोजनाको अध्ययन सन् २०१७ अक्टोबरदेखि सुरु भएको थियो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको इन्जिनियरिङ कम्पनी लिमिटेडले प्रारम्भिक अध्ययनदेखि डिजाइनसम्मको काम सम्पन्न गरेको हो । अहिले पहुँच मार्ग, प्रसारण लाइन विस्तार तथा अन्य पूर्वाधार विकासका काम पनि सँगसँगै अघि बढिरहेका छन्। । कैलालीको सुगरखाल क्षेत्रबाट करिब ३० किलोमिटर दूरीमा ३३ केभी प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ ।

यसैबीच, सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले आयोजनाको प्रगतिबारे चासो व्यक्त गरेका छन उनले आयोजना प्रमुखसँग छलफल गरी कामको अवस्थाबारे जानकारी लिँदै पीपीए स्वीकृति र लगानी सुनिश्चिततापछि आयोजना निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन साथै, आवश्यक समन्वयका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्ने बताएका छन ।

समग्रमा, बेतन कर्णाली जलविद्युत आयोजना अहिले निर्माणपूर्व तयारीको अन्तिम चरणमा पुगेको छ । तर पीपीए, लगानी सुनिश्चितता र मुआब्जा वितरण जस्ता महत्वपूर्ण प्रक्रिया समयमै टुंगिएमा मात्र आयोजना निर्धारित समयमै निर्माणतर्फ अघि बढ्न सक्नेछ । कर्णाली प्रदेशको ऊर्जा उत्पादन वृद्धि र आर्थिक विकासमा ठूलो योगदान दिने अपेक्षा गरिएको यो आयोजना सफल कार्यान्वयनतर्फ लैजानु नै अहिलेको प्रमुख चुनौती बनेको छ ।

प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार